चौधरीका उद्योगमा आगलागी दोहोरिनु संयोग मात्रै हो वा नियोजित

काठमाडौं ।  देशमा धेरै व्यापारिक घरानाका उद्योगहरू छन् ।

ती उद्योगमा बिरलै आगलागीका घटना हुने गरेका छन् ।

frontline

तर, चौधरीका उद्योगमा आगलागीको श्रृङ्खला दोहोरिनु संयोग मात्रै हुन् वा नियोजित हो भन्नेमा शंका उत्पन्न भएको छ ।

विं.सं. २०६९ असोज २८ गते काठमाडौँको सतुंगलमा रहेको सिजी इम्पेक्स, इओएल प्रा.लि. र सिजी इलेक्ट्रोनिक्समा भएको आगलागीको घटना अहिलेसम्म विवादको केन्द्रमा रहेको छ ।

बीमाबाट ठूलो रकम दाबी गर्ने उद्देश्यले सो आगलागी गरिएको भन्दै त्यसबेला विवाद भएको थियो ।

जसका कारण चाैधरी ग्रुपका अरु आगलागीका घटनालाई पनि शंका गर्ने बाटो खुलेको हो ।

त्यसबेला आगलागीबाट ७० करोड १५ लाख रुपैयाँको नोक्सानी भएको दाबी बीमा समक्ष चौधरी ग्रुपले गरेको थियो ।

सोही आधारमा २०७० असोज ८ गते युनाइटेड इन्सोरेन्सले चाैधरी ग्रुपलाई ५९ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

सो रकम भुक्तानी गर्ने युनाइटेड इन्सोरेन्समा चौधरी स्वयमको २६ प्रतिशतभन्दा बढी शेयर छ ।

यसरी आफ्नो बीमा कम्पनीबाट कागजात मिलाएर नेपालको इतिहासमा सबैभन्दा बढी रकम लिन चौधरी सफल भएपछि त्यसबेला अनुसन्धान भएको थियो ।

ठूला बीमा दाबीमा अन्तर्राष्ट्रिय र राष्ट्रिय बीमा समितिबाट अनुगमन गर्नु पर्नेमा नेपाली अनुगमनकर्ताले मात्र अनुगमन गरी प्रतिवेदन तयार पारेपछि ठूलो आलोचना भएको थियो ।

उच्च अदालत पाटनले चौधरी ग्रुपले बीमा दाबीमा कीर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाइ गराएको रकममध्ये २४ करोड रुपैयाँ फिर्ता लिन बीमा समितिलाई निर्देशन दिएको थियो ।

सेयर होल्डरको लगानीमा संस्थापकले रजाइँ गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बीमा समितिलाई छानबिन गर्न आदेश दियो ।

सर्भेयरको प्रतिवेदन नै नआई दाबी भुक्तानी गरेपछि बीमा समितिले युनाइटेड इन्सोरेन्सलाई केही समय कारोबारमा समेत रोक लगाइएको थियो ।

यही विवादका कारण बीमा समितिले एकै घरानाका दुई कम्पनीबीच बीमा गर्न प्रतिबन्ध लगाएको थियो ।

विश्वका अर्बपतिको सूचीमा परेका चौधरी र उनी संलग्न रहेको व्यापार व्यवसायका नाममा विवाद छ

उनी कर छलीमा समेत पटक–पटक विवादमा पर्दै आएका छन् ।

चाैधरीको विवादित पृष्ठभूमिका कारण पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा जेठ १९ गते बुधबार बिहान भएको आगलागी घटनालाई पनि शंकाको घेरामा राखिएको छ ।

उद्योगको बियर र चाउचाउ प्लान्टमा आगलागी भएको चौधरी ग्रुपका प्रेस कोर्डिनेटर मधुसुदन पौडेलले जानकारी दिए ।

उनले उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा बिहान साढे ८ बजे विद्युत सर्ट भई आगलागी भएको बताए ।

आगो ठूलो भएकाले दमकल, सुरक्षाकर्मी र मजदुरको सहायता लिँदासमेत नियन्त्रणमा लिन कठिन भएको थियो ।

उक्त आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कति नोक्सान भयो भन्नेबारे अझै विवरण आइसकेको छैन ।

तर, यस घटनामा पनि पहिलेका आगलागीमा जस्तै बीमाबाट ठूलो रकम असुल गरिएमा अनौठो नमान्दा हुन्छ ।

सिजी ग्रुपमा भएका श्रृङ्खलाबद्ध आगलागीका घटनाले विश्वव्यापी ख्याती पाएका व्यक्तिको कम्पनीले समेत आगलागीबाट बच्ने साधारण उपायमा ध्यान नदिएको हो वा नियोजित हो भन्ने प्रश्न उब्जिएको छ ।

आगलागीबाट बच्न ठूला कम्पनी तथा संस्थाले उपयुक्त स्रोत साधनको विशेष व्यवस्था गरिएको पाइन्छ ।

पछिल्लो समय विकास भएका धेरै प्रविधिहरूको सहयोग लिएर ती कम्पनी तथा संस्थाकाे परिसरभित्र राख् सकिन्छ ।

अहिले साधारण कार्यालय तथा उद्योगमा समेत त्यस्तो उपकरण पर्याप्त मात्रामा राख्ने प्रचलन बढेको अवस्थामा ठूला उद्योग ती प्रविधिबारे जानकार नहुने कुरै भएन ।

पटक–पटक विद्युत सर्टको कारण देखाउने कम्पनीले विद्युत् वाइरिङ बलियो बनाउन सक्थ्यो ।

यसअघि २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै घरबारविहीन भएका भूकम्प पीडितहरूको नाममा चौधरी ग्रुपले सर्वसाधारणबाट समेत रकम संकलन गरेको १ अर्ब ४५ करोड रुपैयाँमध्ये २५ करोड हिनामिना गरेको आरोप लागेको थियो ।

सो समूहका अध्यक्ष चौधरीको योजनामा पीडितको नाममा गुणस्तरहीन सामान्य घर बनाई सो घरमा चौधरी ग्रुपको लोगो झुण्डाउन मात्र रकम हिनामिना गरेको आरोप छ ।

२०७४ सालमा भारतमा उत्पादन भएको दाल नेपाल भित्र्याई बंगलादेशमा निर्यात गरी नेपाली उत्पादन भन्दै ठगी गरेको भेटिएको थियो ।

निर्यात गरेबापत नगद अनुदान लिन त्यस्तो गरेको आरोप लागेको थियो ।

सोही वर्ष उनले उत्पादन गरिरहेको चाउचाउ गुणस्तरहीन रहेको मुद्दा परेको थियो ।

यस्तै, २०७६ पुस २२ गते सुनसरीको दुहबीस्थित सिजीको पशुपति बिस्कुट उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको दाबी चौधरीले गरे तर, कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

विश्व धनाढ्यको सूचीमा रहेका चौधरी र उनी संलग्न रहेको व्यापार व्यवसायका विभिन्न कम्पनीका बारेमा धेरै प्रश्न उठ्ने गरेको छ ।

सिजी कम्पनीको नाममा राज्यको ठूलो रकम घाटामा गएको मुद्दासमेत परेका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट सांसद बनेका चौधरी २०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा भने नेपाली कांग्रेसको कोटामा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्न सफल भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कानूनी समस्या देखाउँदै पछिल्लो पटक सांसद बनाउन नसकिने संकेत गरेलगत्तै पार्टी परिवर्तन गरी कांग्रेसबाट सांसद बनेका थिए ।

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान संकायका प्राध्यापक डा. रीता श्रेष्ठले कानूनी रुपमा सरकार बलियो हुन नसक्दा ठूला, धनी र ठग सोच राख्ने व्यापारीले कीर्ते गरेको बताउँछिन् ।

उनले भनिन्, ‘मैले समस्यामा परेकालाई सहयोग गर्छु भन्दै देखाउने, खर्च धेरै लाग्ने भनि आफैँले राहत कसरी संकलन गर्ने र आफैँ राहतबाट मोटाउने परिपाटीको विकास भइरहेको छ ।

’कसरी अझबढी धनी बन्ने सोचाईले धनाढ्यहरूले नै समाज, सर्वसाधारणसँगै देशलाई झुक्काइरहेको उनको भनाइ छ ।

त्यसो त आगलागी, बाढीपहिरो, महामारीजस्ता विपत् व्यवस्थापनका लागि सरकारले गृह र स्वास्थ्य मन्त्रालयअन्तर्गत बनाइएका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरेको छ ।

ठूला कम्पनीमा निरन्तर आगलागी हुनुका खास कारण के हो त ?

प्राधिकरणका सूचना अधिकारी मालती पन्तले विपत व्यवस्थापन निवारणका लागि जनचेतना दिने दिलाउने काम लागेको बताइन् ।

उनले भनिन्, ‘आगलागी एउटै संस्थामा धेरैपटक किन लाग्यो भन्ने प्रश्नको उत्तर आगलागीको कारणबारे अध्ययनबाट थाहा हुन्छ ।’

ठूला कार्यालय, विद्यालय, सार्वजनिक स्थान, अस्पताल, उद्योगलगायत स्थानमा भएका संस्थामा अग्नी नियन्त्रणसम्बन्धी संयन्त्र चलायमान भए आगलागीको घटना नदोहोरिने उनले बताइन् ।

जुद्ध बारुद यन्त्रका पूर्वप्रमुख बद्रीमान नगरकोटी ठूला उद्योगमा आगो निभाउन आफ्नै फायर ब्रिगेड राख्न सुझाव दिन्छन् ।

विद्युत सर्ट भई आगलागी नहोस् भन्नाका लागि उद्योगले स्मल फायर ओपन, दमकल, अपरेटिङ पर्सन, इलेक्ट्रोनिक इन्जिनियर राख्नाले समस्याबाट मुक्त हुने उनले बताए ।

उनले भने, ‘सामान्य गल्तीकै कारण आफैँले दुर्घटना निम्त्याइरहेका छौँ ।

अधिकांश आगलागीका घटना सामान्य हेलचेक्याइँकै कारणले हुँदै आइरहेका हुन्छन् ।

आगलागीका धेरै जसो घटनाको मुख्य कारण ठूलो देखिँदैन ।

ससाना गल्तीले ठूला जोखिम निम्तिएका छन् ।

त्यसैले, विद्युतीय तथा ग्याँसजन्य उपकरण प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्ने देखिन्छ ।’

नगरकोटीको भनाइले पनि के पुष्टि गर्छ भने विपत जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरणमा थोरै मात्रै ध्यान दिने हो भने पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ ।

तर पटकपटक घटना दोहोरिँदा पनि चौधरी ग्रुपले यसमा ध्यान नदिनुले आशंका पैदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here