चीनमा अचानक मौसम बिग्रिएपछि दौडमा सहभागी कम्तीमा २१ धावकको मृत्यु
पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रस-कन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको थियो।
सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो।
खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शवहरू फेला पारे।अलपत्र परेका धेरै धावक जाडोमा कठ्याङ्ग्रिएोक बताइएको छ।
राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उद्धारमा १,२०० जनाभन्दा बढी मानिस परिचालित थिए।सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। तीमध्ये आठ जनालाई चोट लागेको छ।
मौसम बिग्रिएपछि धेरै धावकले बाटो बिराएको बताइएको छ।उद्धारकार्यमा थर्मल इमेजिङ ड्रोन र रेडार डिटेक्टरहरू प्रयोग गरिएको थियो सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
बाइयिन नगरका प्रमुखका अनुसार घटनाबारे छानबिन गर्न एउटा विशेष समूह गठन गरिएको छ।येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। त्यहाँ ढुङ्गाका मनमोहक स्तम्भहरू छन्।उक्त क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र पनि हो।






प्रतिक्रिया दिनुहोस्