चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो, महिलामा बढी सङ्क्रमण

चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।

frontline

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको छ ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १८ पुरुष र २८ महिला छन् । त्यस्तै, भरतपुर महानगरपालिकामा नौ पुरुष र २३ महिलासहित ३२ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकामा २२, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कार्यालयका अनुसार सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । जिल्लाभित्रका सङ्क्रमित १४२ जनामध्ये ५२ पुरुष र ९० महिला छन् । त्यस्तै, बाहिरी जिल्लाबाट आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन् । हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन ।

के हो स्क्रब टाइफस र कसरी सर्छ ?

स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट सङ्क्रमित मुसामा पाइने सूक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग हो ।

जुम्राभन्दा सूक्ष्म हुने यो किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन । यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ । घाँस वा झाडीमा किर्ना झरेको अवस्थामा मानिसको सम्पर्कमा आउँदा यसको सङ्क्रमण हुन्छ । यद्यपि, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर, मांसपेशी तथा जोर्नी दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखिन्छन् ।

विशेषगरी किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्नु यसको मुख्य पहिचान हो । समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर गरी अङ्ग फेल हुने वा मृत्युसमेत हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भेक्टर कन्ट्रोल निरीक्षक केसीले यो मौसममा स्क्रब टाइफसको जोखिम निरन्तर रहने भएकाले घरवरपरको झाडी सफा राख्न, खेतबारी वा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन र लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here