गुरुराज घिमिरेको पराजयमा दोष केन्द्रीय नेताको

२१ मंसिर, विराटनगर ।  केन्द्रीय नेताले मत नदिँदा संस्थापनइतर समूहबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिका उम्मेदवार बनेका गुरुराज घिमिरे पराजित भएका छन्।  कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालालाई ‘ब्याक’गरेर घिमिरेलाई उम्मेदवार बनाउन सहयोग गरेका नेताहरु नै मतदान प्रक्रियामा सहभागी भएनन्।

जसका कारण कांग्रेसको राजनीतिमा राम्रै प्रभाव जमाएका युवा नेता घिमिरेको पराजयमा इतर पक्षका केन्द्रीय नेता नै दोषी देखिए।  डा. शेखर कोइरालासमेतका नेताको साथ पाएपछि उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट उनी संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग २ मतको झिनो अन्तरले पराजित भएका हुन्। 

frontline

घिमिरेको पराजयलाई लिएर अहिले संस्थापनइतरमा खैलाबैला मच्चिएको छ। स्वयं घिमिरेले पनि नेताहरुकै कारण आफू पराजित भएको बताए। शेखरसहित संस्थापनइतरका नेताहरु महेश आचार्य, सुजाता कोइराला र बलबहादुर केसी मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ। मतदान स्थलमा पुगे पनि चारै जना नेताले मत भने हालेनन्। 

प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भन्ने भयले उनीहरुले मतदान नगरेको बताइएको छ। तर निर्वाचन समितिले भने मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न समस्या नहुने जनाएको छ। प्रदेशमा चुनाव लडेकाले भने केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको समितिले स्पष्ट पारेको छ।

चार जनाले भोट नहालेको र जम्मा २ मतले घिमिरे पराजित भएपछि इतर समूहका नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ। उनीहरुले संस्थापन पक्षकै ‘सेटिङ’मा घिमिरेलाई पाखा लगाइएको आरोप लगाउँदै छन्। नेता कार्यकर्ताले हारको समीक्षा हुनुपर्ने माग अघि सारेका छन्। मतदान नगर्ने नेताहरु भने पछुताउँदै छन्। 

कांग्रेसको प्रदेश १ सभापतिमा निर्वाचित बनेका थापा कृष्णप्रसाद सिटौलानिकट हुन्। पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ पाएपछि उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए। निर्वाचन समितिले झुक्याएर मत खसाल्नबाट बञ्चित गराइएको गुनासो नेताहरुको छ। प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग पनि उनीहरुले राखेका छन्।

केन्द्रीय सदस्यले प्रदेशमा मतदान गर्न पाइँदैन भनेर निर्वाचन अधिकृतले गलत सूचना दिएका कारण मत हाल्न नगएको उनीहरुको स्पष्टोक्ति छ। मतदानमा सहभागी नभएका नेताहरु घिमिरेलाई जिताउन विराटनगर आएपनि मतको वैधानिकतामा प्रश्न उठ्छ भनेपछि भोट नहालिकन फर्किएको बताउँछन्। 

डा. शेखरले सामाजिक सञ्जालमार्फत गल्ती स्वीकार गरेका छन्। ‘केन्द्रीय नेताले प्रदेशमा मतदान गर्न पाउने–नपाउने विषय सुरुदेखि नै संशय थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानें। मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु । ’ 

प्रतिनिधिको हिसाब किताब गरेर आफूले चुनाव जित्नेमा घिमिरे ढुक्क थिए। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने आत्माविश्वाससहित केन्द्रबाट प्रदेश झरेर उम्मेदवारी दिएका उनले झिनो मतान्तरले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग राखेर प्रदेश र केन्द्रमा निवेदन दिएका छन्। यसमा केन्द्रले निर्णय लिने छ। मन दिएका नेताले नै मत नदिएर झिनो मतान्तरणले पराजित भएपछि घिमिरे अहिले विलखबन्धमा परेका छन्।  

 स्रोतका अनुसार प्रदेशका १४ जिल्लामा संस्थापन पक्षभन्दा संस्थापनइतर पक्षसँग एक सयभन्दा मत बढी थियो। त्यसमा झापाबाट विश्वप्रकाश शर्माको टिमले इतर समूहलाई नै समर्थन गर्‍यो। तर मोरङ र सुनसरीमा भोट काटिएपछि प्रदेशको नेतृत्व गर्नबाट घिमिरे बञ्चित भएको चर्चा छ। कांग्रेसको राजनीतिमा प्रभाव जमाएको कोइराला परिवारका लागि प्रदेश १ गृह प्रदेश पनि हो। यही प्रदेशको प्रभाव र जोडबलका आधारमा डा. शेखरले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उठ्ने तयारी गरेका थिए। तर घिमिरेको पराजयले उनलाई धक्का लाग्ने देखिएको छ । 

प्रदेश १ मा भर्खरै सम्पन्न जिल्ला र प्रदेशको अधिवेशनले कोइराला पक्ष कमजोर रहेको पुष्टि गर्‍यो। कोइराला परिवारको किल्ला मानिएको प्रदेश १ मा कांग्रेसको संस्थापन एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षको दबदबा देखिएको छ। प्रदेशमा सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्षले बाजी मारेको छ। 

प्रदेश सभापतिमा निर्वाचित थापाले ८ सय ४४ मत पाए भने प्रतिस्पर्धी घिमिरेले ८ सय ४२ मत ल्याए। महामन्त्रीमा विजयी भएका उमेश थापा र सह–महामन्त्रीमा निर्वाचित विनोद बस्नेत मात्रै इतर समूहका हुन्। 

डा. शेखरमाथि संस्थापन र संस्थापनइतर पक्षकै नेताले घेराबन्दी गर्दा पनि पार्टीको मोरङ जिल्ला सभापतिमा उनकै समर्थन रहेका डिगबहादुर लिम्बू सानदार मतसहित विजयी भएका थिए।

प्रदेशमा पनि अर्को पक्षका उम्मेदवार कमजोर भएका कारण घिमिरेले जित्ने इतर समूहको आंकलन थियो। केन्द्रीय राजनीतिमा प्रभाव जमाए पनि प्रदेश झरेका स्पष्टवक्ता एवं युवा नेता घिमिरेलाई जिताउनका लागि झापाबाट भने सहयोग भएको बताइन्छ। 

कांग्रेसका नेताकै अनुसार डा. शेखरको गृह जिल्ला मोरङ र सुनसरीले असहयोग गरेकै कारण उनको समर्थन रहेका उम्मेदवार घिमिरे सभापतिमा पराजित भएका हुन्। कांग्रेसका नेता केदार कार्की लगायत घिमिरेलाई सभापति उठाउन हुँदैन भन्ने पक्षमा थिए।

घिमिरेको विपक्षमा रहेका कार्कीसहितका नेताहरु प्रदेश संसदीय दलका नेता राजीवलाई टिकट दिनुपर्छ भन्ने पक्षमा थिए। तर अन्तिम समयमा घिमिरेले टिकट पाए। घिमिरेले टिकट पाएपछि असन्तुष्ट बनेका इतर समूहका नेताले चुनावी अभियानमा सहयोग नगरेको बताइन्छ।

केदार कार्की र राजीव कोइराला लगायतकै असहयोगका कारण इतर समूहको राम्रो प्रभाव हुँदाहुँदै पनि घिमिरेले पराजय बेहोर्नु परेको कांग्रेसका नेताहरु बताउँछन्। 

निष्ठाको राजनीति गरिरहेका विवादरहित नेता राजीवलाई पार्टी प्रदेश सभापतिको टिकट दिनुपर्छ भन्ने जमात कांग्रेसभित्र ठूलो थियो। तर उनलाई ‘ब्याक’ गरेर घिमिरेलाई टिकट दिलाइयो।  

राजीवले टिकट नपाएपछि उनकै रोजाइमा सुनसरीका उमेश थापालाई महामन्त्रीको टिकट दिइयो। निर्वाचनमा थापा विजयी पनि भए। प्रदेश निर्वाचनमा केदार कार्कीले महेश आचार्यनिकट विनोदकुमार बस्नेतलाई समर्थन गरेका थिए।

बस्नेत पनि सह–महामन्त्रीमा विजयी भए। प्रदेश अधिवेशनको उम्मेदवारीलाई लिएर असन्तुष्ट बनेका इतर समूहका नेतासँग निकट रहेकाहरु मात्रै विजयी भएपछि अन्तरघातको शंका गर्ने ठाउँ धेरै रहेको बताइन्छ। 

१४ औँ महाधिवेशनअन्तर्गत भएका जिल्ला अधिवेशनमा सिटौलासहितको संस्थापन पक्षले ८ जिल्लामा विजय हासिल गरेको थियो। १४ जिल्लामध्ये प्रदेश १ का धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुंगा, उदयपुर र झापामा संस्थापन पक्ष विजयी बनेको हो। झापामा भने सिटौला समूहका उम्मेदवार विजयी बने। इतर समूहले मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा सभापति जितेको छ। 
कोइराला पक्षको प्रभाव रहेकै कारण १३ औँ महाधिवेशनमा देउवा समूहले प्रदेश १ मा ३ वटा मात्रै जिल्लामा सभापति जितेको बताइन्छ। यसपटक सिटौलासमेतको साथ पाएपछि ८ वटा जिल्लामा आफ्नो नेतृत्व ल्याउन सक्यो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here