गर्मीले नेपालगन्ज, बर्दिया, कपिलवस्तुमा विद्यालय बन्द
अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बाँके, बर्दिया, कपिलवस्तुका विद्यालयमा पठनपाठन रोकिएका छन् । गर्मीका कारण आउजाउ गर्न समस्या भएपछि नेपालगन्जका विद्यालय चार दिनका लागि बन्द भएका छन् ।
गर्मीसँगै तातो हावाले बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले १५–१८ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले गर्मीले बालबालिका बढी प्रभावित भएको निष्कर्ष निकाल्दै नेपालगन्जमा सञ्चालित संस्थागत, सामुदायिक, मदरसा र गुरुकुल चार दिन बन्द गर्ने निर्णय गरेको उनले बताए । गर्मीका कारण बालबालिकामा वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको छ ।
यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाले १८ जेठसम्मका लागि विद्यालय बन्द गरेका छन् । तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेपछि वर्षे बिदामा कटौती हुने गरी तीन दिन विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्याल यबन्द गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए ।
यस्तै, कपिलवस्तु नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गरेको छ । गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या देखिएको बताउँदै नगरपालिकाले विद्यालय बन्द गरेको हो । जिल्लाका अन्य स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताएका छन् । कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले १८ जेठसम्मका लागि विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्