गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने घोषणा
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाएर लैजान आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उनले स्पष्ट पारेका हुन्।
मुख्यमन्त्री पाण्डेले पार्टीभित्र र बाहिरबाट कांग्रेसको आन्तरिक एकता तथा सुदृढ संगठन निर्माणको माग निरन्तर उठिरहेको बताए। पार्टीका सबै तह र पुस्ताका नेता-कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा बाँध्नु आफ्नो प्रमुख प्राथमिकता रहने उनको भनाइ छ।
तीन पटक केन्द्रीय सदस्य र ४५ वर्षभन्दा बढी समय कांग्रेसको निष्ठावान् कार्यकर्ताका रूपमा काम गरेको अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले युवा पुस्तासँगको सहकार्य र युवामैत्री कार्यशैलीलाई राजनीतिक यात्राको मुख्य आधार बनाउने बताए। ‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने।






प्रतिक्रिया दिनुहोस्