गणतन्त्रको ‘आइकन’ !

नेपाली कांग्रेसका महामन्त्री गगन थापा हिजोआज कमै सुनिन थालेका छन् । तर यत्तिको बोल्ड अर्को नेता कांग्रेसमा छैन । २०४६ सालपछि जवर्जस्त रुपमा देखापरेका विश्वप्रकाश शर्मा, गुरु घिमिरे, चन्द्र भण्डारी र गगन थापा मध्ये अघिल्ला दुईले नेपाल विद्यार्थी संघको सभापति भएर संगठनलाई हाँके भने पछिल्ला दुई महामन्त्री र यूनियन सभापतिमा सिमित रहन पुगेका थिए । यी चारजना धारिला युवा मध्ये गगन थापा ०६२÷६३को जनआन्दोलनबाट स्थापित गणतन्त्रकै आइकन हुन् । आन्दोलनताका आगोको फिलिंगो झैं चम्किएका थापा निभेर कोइला नै बन्ने हुन् कि भनेर आन्दोलनका सहयात्रीहरु चिन्तित देखिन थालेका छन् ।
गगनमा आफ्नो दृष्टिकोण स्पष्ट छैन ? उ पींध नभएको लोटा जस्तै होइन नि ? सधैं मास सेन्टिमेन्टमा बोल्ने स्टन्टबाजहरु जस्तै हुन् भन्ने आरोप लगाउनेहरुलाई कतै मसला त भएको होइन ? यस्तो बेला धर्मनिरपेक्षतावारे उनको वैचारिक अन्तर्वार्ता प्रसारणमा आएको छ । रातोपाटीको उक्त वार्तामा उनले संविधानमा धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता राख्नुुपर्छ भनेका छन् । उनले थपेका छन्, ‘केही साथीहरु धर्मलाई राजनीतिक औजारको रुप हो भन्ठान्छन् तर जनताको ठूलो पंक्ति धार्मिक छनौट व्यक्तिको अधिकार हो भन्ने ठान्दछ । नेपालमा आस्तिक र नास्तिक को कति छन् भनेर हेर्ने हो भने बहुमतमा आस्तिक नै देखिन्छन् । राज्यको पन्थ हुँदैन, राज्यको धर्म हुँदैन । न्याय गर्नु, विवेक पुर्याउनु, समान व्यवहार गर्नु पो राज्यको धर्म हो ।‘ भर्खरै गगनमा के कति कारणले यस्तो ज्ञान पलाएको हो ? पहिला देश दुनियाँ गर्न गिरिजाप्रसाद कुदिरहन्थे, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई होइन । के गिरिजाप्रसाद जस्तै देशभर घुमेर ‘आउटरिच’ बढाउने क्रममा यिनले यो कुरा सिकेका हुन् ?




गगनलाई कांग्रेसभित्र पनि स्थिर अडान नभएको, अवसरहरुमा खेलिरहने, आफ्ना सहयोगी शुभचिन्तकहरु नचिन्ने अल्लारे काँचो केटो भन्नेहरुको पनि कमी छैन यसो भएर नै हुनुपर्छ, उनलाई कहिले कृष्ण सिटौलाको हनुमान भएर हिंड्ने, कहिले शेखर कोइरालाको प्रवक्ता त कहिले शेरबहादुर देउवाको गोटी बनेको आरोप लागिरहन्छ । खासमा बुढोपुस्ताको कांग्रेस नेतृत्वलाई विस्थापित गर्ने एकल नेता होइनन् र गगन ? यतिखेर त हाकाहाकी कांग्रेसीबृत्तमा गगनलाई सिटौलाले डोर्याएर चक्रपथको चक्रपार गराउन कसोकसो वनस्थलिबाट चावहिलसम्म ल्याइपुर्याएका के थिए, गगनले कित्ता फेरेर शेखरको हात समात्न पुगे । शेखरले पनि केटो टाठै छ भनेर चावहिलबाट कोटेश्वर कटाएर ग्वार्कोसम्म ठेल्दैठेल्दै पुर्याएपछि त्यहाँको जाम देखेर कुरिरहने धैर्यता गगनमा रहेन र उनी बरु रित्तो देउवा कित्तामा पुगे । मेवा छिटो हातपर्ला भनेर शेखरलाई छाडे । शेरबहादुरले आश्वासन दिंदै मपछि तिमी नै भएकोले पहिला मेरो प्रतिनिधिको रुपमा केपी ओली नेतृत्वको सरकारलाई परिपक्व रुपमा अगाडि बढाउन सरकार संचालन गर्ने संयन्त्रमा तिमी बस भनेर यसरी फसाइ दिए कि चक्रपथ परिक्रमा गर्न ग्वार्को पुगेको गगनलाई देउवाले नारायणगोपाल चोकमा ल्याएर ठड्याइदिए । त्यसैले यतिखेर गगन ज्यादै विलखबन्दमा देखिन्छन् । नखाँउ भने दिनभरिको शिकार र खाउ भने कान्छाबाबुको अनुहार झलझली देखिरहेछन् । के सोचे मैले के भयो ऐले गीत गुनगुनाउने अवस्थामा पुग्नु संयोग मात्र होइन । गगनको बोली यतिखेर लकपकाइरहेको त होइन ? उनी सिटौलाबाट त टाढा थिए नै, शेखरबाट पनि पर पुगे । देउवासंग पनि एकाकार हुन सकेका छैनन् । खासमा उनी शेरबहादुरबाट युज भएका हुन् कि मिसयुज ? पत्तो पाउनु अघि नै नारायणहरि नै पो हुने हुन् कि ? आशंका बढेको छ ।
त्यसैले गगन आफैं बसेको सरकार संचालन गर्ने संयन्त्रको न्यूनतम मर्यादा तोडेर बरबराए झैं लाग्छ । न संयन्त्र छोड्ने आँट गर्न सकिरहेका छन् नत संयन्त्रमा बसेर नेतृत्व नै दिन सकेका छन् ! जुनसुकै विषयमा ओजसाथ प्रष्ट बोल्ने प्रखरवक्ता गगन यतिखेर धोत्रो सुनिन थालेका छन् । गगनको गगन गडगडाउन छाडेको छ, भकभके त बन्ने होइनन् ? बरु, अर्का महामन्त्री निर्विघ्न बनेर बोलिरहेका मात्र छैनन्, देखिन र सुनिन पनि थालेका छन् । सगरमाथाको चुचुरो चुम्न आधारशिविरमा क्रियाशील देखिन्छन् । चालु संसद अधिवेशनमा कांग्रेसको तर्फबाट गगनले होइन, विश्वप्रकाशले संबोधन गरे । जवकि नेविसंघका पूर्व अध्यक्ष विश्वप्रकाश कांग्रेस महामन्त्री मध्ये प्रथम होइन, द्वितीय नै मानिन्छन् तर सिनियरिटीका हिसावमा गगनले विश्वलाई आदर गरेर विश्व दाइ नै भन्छन् ! उमेरले पनि विश्व गगनका दाइ नै हुन्, एउटा पचास टेकेको अर्को मध्य पचासको । यी दुबै राजनीतिमा मध्यपुस्ताको प्रतिनिधिपात्र हुन् ।
कांग्रेसका दुई महामन्त्रीहरुबीचको चाखलाग्दो र रोचक कुरा के भने बोल्नमा यी दुई अब्बल छन् । यी दुबै पत्रकारिताबाट खारिएका, आलोचनात्मक चेत भएका मध्यपुस्तालाई प्रतिनिधित्व गर्ने काविल नेता हुन् । गगन एचवीसी एफम्का कार्यक्रम प्रस्तोता थिए भने विश्वप्रकाश घटना र विचारका संस्थापक, गीतकार, गायक र भर्खरैसम्म टिभीको ऐना कार्यक्रम संचालक थिए । गगन कुनै पनि कुरा ओजसाथ भन्नसक्ने उनको उमेर समूहका अब्बल युवा हुन् भने विश्वप्रकाश साहित्यिक जलप लगाएर बोल्न माहिर मानिन्छन् । विश्व गगन जस्तो बोल्न मात्र होइन, लेख्न पनि खप्पीस छन् । गगन खह्रो राजनीतिक धरातल बुझेको अनि विश्वप्रकाश मानवीयता र सामाजिक संबन्धलाई पर्घेल्नसक्ने सामथ्र्यका ब्यक्ति हुन् । विश्वकी आमा शिक्षिका र उनकी फुपु सिस्टर निर्मला मदरटेरेसाकी उत्तराधिकारी हुन् ।
गगनलाई बोल्नका लागि कन्टेन्ट दिने थिंकट्याँकको टेको क्रमश मक्किदै गैरहेको देखिदैछ । उनको प्रस्तुतिमा मौलिकता हराउन र पुराना थोत्रा कुराहरु दोहोरिन थालेका छन् । डा स्वर्णीम वाग्ले, मनिश झा, कृष्ण रिजाल, भीम भूर्तेल लगायत आइएन्जीओमा कुस्त पैसा कमाएका र नलेज पनि भएकाहरु गगनबाट धेरै पर पुगिसकेको जानकारहरु बताउछन् । अहिले उनी गैरविषयका अंग्रेजी बोल्ने विज्ञलाई सर्वज्ञाता ठान्ने भ्रममा छन् । के यही कारण हो, संसदीय व्यवस्थाको प्रथा, त्यसको मर्म विपरितको मार्गमा गगन फसेका हुन् ? होइन भने गठबन्धन सरकार संचालनको संयुक्त संयन्त्रमा बसेर किन अन्टसन्ट बोलिरहेछन् ? उनले त कांग्रेस र एमालेको संसदीय दलको वैठक एकैठाउमा बस्नुपर्छ भनेर आवाज बुलन्द गर्नुपर्ने हो । किनभने वर्तमान सरकार दुई संसदीय दल मिलेर बनेको हो र दुबै संसदीय दलले केपी ओलीलाई प्रधानमन्त्रीमा भोट हालेका हुन् । संसदका नेता भएकाले उनी सरकार प्रमुख बनेका हुन् । गलत फहमी के नहोस् भने, पार्टी र सिद्धान्तमा एमाले र कांग्रेस पार्टीबीच वैचारिक मतभेद छ र हुन्छ तर संसदमा यी दुबै दल एकाकार हुन् । संविधानले पार्टीलाई चिन्दैन । चिन्छ, संसदीय दललाई । पार्टी त संविधान अनुसार निर्वाचन आयोगमा दर्ता हुन्छ र चुनाव लड्न जान्छ । जितेर आउनेलाई संसदीय दलले लेजिटीमाइज गर्छ ।
सरकारको आलोचना गर्ने ठाउ छ, नभएको होइन । सरकार संचालनको संयुक्त संयन्त्र जहाँ गगन विराजमान छन् । गठबन्धनमा रहेका सबै दलको संसदीय दल एउटै हो । माओवादी, राप्रपा र रास्वपाहरु अर्कै कित्ताका हुन् । यो न्यूनतम मर्यादा पनि नबुझेर गगनले पपुलिष्ट हुन जुन एक्रोब्याटिंक्स गरिरहेका छन्, उनी कुनै पनि बेला हड्डी चूर्ण हुनेगरी पछारिने त होइनन् ? वामपन्थीहरुले संसदीय व्यवस्थाका विशेषता नबुझेर झुक्किनु एउटा कुरा हो, तर स्थापनाकालदेखि संसदीय व्यवस्थाको गुरु नेपाली कांग्रेसका महामन्त्रीको यो अज्ञानताले कुनै पनि बेला दूर्घटना नहोला भन्न सकिन्न । फुटेको घरको हविगत कस्तो हुन्छ ? छारष्ट होइन ? छारष्ट भएपछि बिचौलीया, दलाल, माफिया, डन, अपराधी, ठेकेदार, लुटेरा, ठग, नटवरलाल पस्छन् । उनीहरुकै विगविगि र राज हुन्छ । त्यसैले महामन्त्रीजी, गठबन्धन संचालन विधि छारष्ट बनाउनेतिर नलाग्नु होस् । घरफुटे गवार लुटे भन्ने त आहान नै छ ।
प्रतिक्रिया दिनुहोस्