गणतन्त्र दिवस मनाउन आठ बुँदे निर्देशन

सरकारले गणतन्त्र दिवस भव्यतासाथ मनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै पालिकलाई परिपत्र गर्दै जेठ १४ गतेदेखि १६ गतेसम्म विविध कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको हो ।




जसमा सबै स्थानीय तहमा प्रमुखको अध्यक्षतामा गणतन्त्र दिवस कार्यक्रम आयोजक समिति गठन गरी सरसफाई, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनीजस्ता कार्यक्रम सञ्चालन गरेर दिवस मनाउन भनिएको छ ।
यस्तै, काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकामहरुमा आयोजना हुने कार्यक्रम सञ्चालन व्यवस्थाका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सम्बन्धित पालिका प्रमुख सम्मिलित समिति गठन गर्न परिपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयले स्थानीय विद्युतीय तथा छापा सञ्चारमाध्यममा दिवससँग सम्बन्धित सन्देश तथा कार्यक्रम प्रशारण वा प्रकाशन गर्न, स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयहरुको छत, वरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउन र साँझ मण्डला, दरबार स्क्वायरजस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्जवलन गर्न पनि निर्देश गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस सोसाईटी, स्वास्थ्य सेवासम्बद्ध स्थानीय संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम, शिक्षा विकास तथा समन्वय ईकाइसमेतको समन्वयमा फरक क्षमता भएका विद्यार्थीलाई उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण र विभिन्न आन्दोलनका शहिद तथा बेपत्ता व्यक्तिका परिवार र घाइतेहरुलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान कार्यक्रम आयोजना गर्नसमेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्