कोभिडको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग
५ कार्तिक, ब्राजिलिया : ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई कारबाहीको माग गरिएको छ। कोभिड महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरिएको हो।
सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै सो सुझाव दिएको हो। करिब ६ महिना लामो समयपछि तयार पारिएको करिब १२ सय पेज लामो रिपोर्टमा राष्ट्रपतिमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।
राष्ट्रपति बोल्सोनारो कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा असफल रहेको भन्दै उनीमाथि ६ लाख ब्राजिलियन नागरिक मारेको आरोप सिनेट रिपोर्टले लगाएको छ।
सिनेटको प्रारम्भिक प्रतिवेदनले राष्ट्रपतिमाथि आदिवासीको हत्या र सामूहिक नरसंहारविरुद्ध कारबाही गर्न सुझाव दिएको थियो। यद्यपि, नयाँ रिपोर्टमा मानवीय संकट, नक्कली प्रमाणपत्र र भ्रष्टाचारजस्ता अपराध गरेको आरोपमा कारबाही गर्नुपर्ने उल्लेख छ। यद्यपि, राष्ट्रपति बोल्सोनारोले भने सो आरोप र मागप्रति कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रिया दिनुहोस्