कीर्तिपुरको मेयरसहित २२ पद कब्जा गर्ने एमाले रणनीति, कांग्रेससँग मुख्य प्रतिस्पर्धा
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू उक्त निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने आन्तरिक रणनीतिमा जुटेका छन् ।
निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सोही समयसीमालाई मध्यनजर गर्दै नेकपा एमालेले प्रदेश र जिल्ला कमिटीहरूमार्फत चुनावी रणनीतिसहित उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको जनाएको छ । नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
उपनिर्वाचन हुने ४४ वटा पदमा सिङ्गल उम्मेदवारी दिने जनाएको एमालेले चुनाव हुने स्थानमध्ये ५० प्रतिशत स्थानमा विजयी हुनेगरी रणनीति बनाइरहेको एमाले नेताहरूको भनाइ छ ।
‘उपनिर्वाचन हुने ४४ पदमध्ये ५० प्रतिशत पदमा एमालेले जित्नेगरी रणनीति बनाउँदै छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो टार्गेट अनुसार कीर्तिपुरको मेयरबाट एमालेले खाता खोल्छ ।’ २०७९ को स्थानीय उपनिर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो ।
उनले २०७९ मा भएको निर्वाचनमा एमाले एकातिर र अरू दल गठबन्धन बनाएर अर्कोतिर हुँदा पनि उल्लेख्य मत प्राप्त गरेको भन्दै यो पटक प्रमुख दलहरू सिङ्गल सिङ्गल लड्ने भएकाले एमालेलाई चुनाव जित्न सहज हुने बताए ।
‘अहिले शक्तिका हिसाबमा काँग्रेस, एमाले, माओवादी र रास्वपासहित चार दलका चार उम्मेदवार हुने निश्चित जस्तै छ । यस्तो अवस्थामा हामीलाई चुनाव जित्न खासै अप्ठेरो हुँदैन’, गौतमले भने, ‘तर पहिलो प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ ।’
मंसिर १६ मा कोशी प्रदेशका ९, मधेस प्रदेशका ७, बागमती प्रदेशका ७, गण्डकी प्रदेशका १, लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ८ र सुदूरपश्चिमका ६ गरी स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ, जसका लागि २५ वटा राजनीतिक दल दर्ता भैसकेका छन् ।
गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका मेयर १, उपमेयर १ गरी १० सहित ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि यस्तो छ तयारी, आयोगले मागेको जति बजेट निकासा भएन
जसमध्ये मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ । यसबाहेक ३४ स्थानको वडाध्यक्षमा उपनिर्वाचन हुने आयोगले जनाएको छ । मंसिरमा उपनिर्वाचन हुने ४४ पदमध्ये यसअघि एमालेले ७ वटा वडाध्यक्ष जितेका स्थानमात्र रिक्त छन् ।
‘मंसिर १६ मा उपचुनाव हुने सबै पदमा उम्मेदवार छनोट मातहत कमिटीले नै गर्छन् । त्यसका लागि पार्टीले कात्तिक २२ गतेभित्र रिक्त स्थानका वडाध्यक्ष, पालिका अध्यक्ष,उपाध्यक्ष र मेयर उपमेयरका उम्मेदवार मातहत कमिटीको सिफारिसका आधारमा छनोट हुन्छन्’, एमाले प्रचार विभाग प्रमुख गौतमले भने, ‘महानगरको वडाध्यक्षसहित मेयर उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार प्रदेश कमिटीले तोक्छ ।’
पालिकाका वडाध्यक्षका उम्मेदवार छनोटको जिम्मा जिल्ला कमिटीलाई दिएको एमालेले उम्मेदवार छनोट भएपछि निर्वाचन हुने वडा र पालिकाहरूमा स्थानीय पार्टी कमिटीलाई चुनाव जित्नेगरी परिचालन गर्ने रणनीति बनाउने भएको छ ।
‘उपचुनावसँग सम्बन्धित भूमिकाका लागि कार्यायोजनासहित नेता कार्यकर्ता परिचालन गर्न कात्तिक २४ गते बस्ने सचिवालय बैठकले नीतिगत निर्णय गर्छ’, गौतमले भने,‘सोही नीतिअनुसार एमाले चुनावमा होमिन्छ ।’
कुन कुन पदमा निर्वाचन ?
कोशी प्रदेशमा एक गाउँपालिका प्रमुख, एक जिल्ला समन्वय समिति प्रमुखसहित सात वडा अध्यक्ष गरी नौ पदका लागि निर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका प्रमुख, ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखमा उपनिर्वाचन हुँदा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिकाका वडा नम्बर ९ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ । त्यसैगरी ताप्लेजुङको गिरीजंगा गाउँपालिका वडा नम्बर ३,झापाको कन्काई नगरपालिका वडा नम्बर ६,तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडानम्बर ६को वडाध्यक्षमा निर्वाचन हुँदैछ ।
मधेसका ७ वडाध्यक्षमा उपनिर्वाचन
मधेस प्रदेशका सात वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।सप्तरी, धनुषा,महोत्तरी,र रौतहट गरी चार जिल्लाका सात वडाध्यक्ष पदमध्ये सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४,धनुषाको धनुषा नगरपालिका वडा नम्बर १,महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटका इशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका ८ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
बागमतीमा नगरप्रमुखसहित ७ पदमा निर्वाचन
बागमती प्रदेशमा काठमाडौँको कीर्तिपुर नगरप्रमुखसहित सात पदमा निर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिकामा प्रमुखसहित वडा नम्बर १,४ र १८ वडामा निर्वाचन हुदैछ भने दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन हुँदैछ । यसबाहेक नुवाकोटको ककनी २ र मकवानपुरको हेटौडा उपमहानगरको १२ नम्बर वडामा निर्वाचन हुँदैछ । एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उठाउँदै छ । एमाले कीर्तिपुर नगर कमिटीको बैठकले डा. मानन्धरलाई सर्वसम्मत उम्मेदवार निर्णय गरेको हो । अनेरास्ववियूको काठमाडौँ सचिव हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म भएका नेता डा. मानन्धर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ १० बाट उम्मेदवारसमेत बनेका थिए ।
लुम्बिनीमा ६ पदमा प्रतिस्पर्धा
लुम्बिनी प्रदेशका ५ जिल्लाका ६ पदमा हुने निर्वाचनमध्ये गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष,रोल्पाको रुमटीगढी गाउँपालिका वडा नम्बर ४,बर्दियाको ठाकुरवावा नगरपालिका वडा नम्बर ४,रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचन हुँदैछ । त्यसैगरी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्