काठेखोलाको नीति तथा कार्यक्रम, डिजिटल र पर्यावरणमैत्री पूर्वाधारमा
बागलुङ / काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभाको १९ औँ अधिवेशनको अवसरमा बुधवार गाउँपालिका अध्यक्ष राजु थापाले “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार’’ भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्ल। वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको सम्भवतः अन्तिम बजेट अधिवेशन भएकाले यस पटक विगतको गम्भीर समीक्षा र परिणाममुखी योजना निर्माणमा विशेष ध्यान दिइएको अध्यक्ष थापाले उल्लेख गरे ।
गाउँपालिकाले कृषि र पशुपालनलाई समृद्धिको मुख्य आधार मान्दै निर्वाहमुखी प्रणालीलाई आधुनिकीकरण गर्ने नीति लिएको छ । कृषकहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणका लागि वडा नं. १ अक्षेते बजारमा निर्माणाधीन ‘काठेखोला संकलन केन्द्र’ लाई आगामी दशैँ–तिहारसम्म सञ्चालनमा ल्याइने जनाइएको छ ।
काठेखोलालाई गाईभैँसीको दूध उत्पादन हबका रूपमा विकास गर्ने लक्ष्यसहित दूध, सुन्तला, मह, आलु, कोदो र फापर जस्ता स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङ गरिने भएको छ । संघीय सरकारको पकेट विस्तार कार्यक्रमअन्तर्गत वडा नं. ४ तंग्राममा मौरीपालन र वडा नं. ८ लेखानीमा तरकारी खेतीलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन क्षेत्रतर्फ गाउँपालिकाले प्रकृति र संस्कृतिको संरक्षण गर्दै पर्यापर्यटन र धार्मिक पर्यटनलाई जोड दिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको प्रसिद्ध बेलढुङ्गा क्षेत्रमा पर्यटन पदमार्ग, साइकल लेन र वनभोज स्थल निर्माण गरिनेछ । गाजाको धुरी, हलहले, शिवधुरी र झुलेनीलाई पर्यापर्यटन तथा विहुँकोटको रामकोटलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गरिने नीति लिइएको छ । यसैगरी वडा नं. ४ तंग्राममा रहेको जिमाक संगीत संग्रहालय र निर्माणाधिन जनजाति संग्रहालयलाई अध्ययन केन्द्रका रूपमा अगाडि बढाइने भएको छ भने वडा नं. ७ रेशको चियाखेतीलाई पर्यापर्यटनसँग जोडिनेछ ।
सामुदायिक विद्यालयमा एआई र ई–हाजिरी, दिवा खाजामा रैथाने उत्पादन, “काठेखोला वासीको इच्छा, गुणस्तरीय, व्यावहारिक र प्रविधिमैत्री शिक्षा’’ नारासहित शैक्षिक प्रणालीमा एआई र मोबाइल एपको प्रयोगसम्बन्धी शिक्षकहरूलाई तालिम दिइने नीति तथा कार्यक्रममा समेटिएको छ । विद्यालयहरूमा परम्परागत ढड्डा हाजिरीलाई विस्थापित गरी ‘ई–हाजिरी’ लागू गरिने भएको छ । विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा जंकफुड पूर्ण रूपमा निषेध गरी स्थानीय उत्पादनमा आधारित पोषणयुक्त ताजा खाजा अनिवार्य गरिने र यसलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमसँग जोडिने अध्यक्ष थापाले बताए ।
लामो समयको कानुनी र प्रक्रियागत झन्झट पार गरी गाउँपालिकाले आफ्नै नाममा जग्गा प्राप्ति गरेसँगै यसै वर्ष प्रशासकीय भवनको शिलान्यास गरी निर्माण सुरु गरिने भएको छ । सेवा प्रवाहलाई थप चुस्त र प्रविधिमैत्री बनाउन गण्डकी प्रदेश सरकारको साझेदारीमा “हाम्रो चाह, डिजिटल सेवा प्रवाह’’ भन्ने नाराका साथ ‘डिजिटल काठेखोला परियोजना’ यसै वर्षदेखि लागू गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । सुशासन र पारदर्शिताका लागि मुख्य बजार क्षेत्रहरू खहरे, अक्षेते, विहुँ पोखरा र भ्युटावर क्षेत्रमा सीसी क्यामेरा जडान गरिनेछ ।
स्वास्थ्य क्षेत्रतर्फ नसर्ने रोगहरूको रोकथाम र विपन्न नागरिकको उपचारका लागि “म स्वस्थ, मेरो गाउँ स्वस्थ’’ अभियानलाई निरन्तरता दिइनेछ । गर्भवती तथा सुत्केरी महिलाका लागि पोषण सामग्री वितरण र निःशुल्क यातायातको व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । सामाजिक समावेशीकरणतर्फ विभिन्न वर्ग, जाति र अल्पसंख्यकको सशक्तीकरणका लागि ‘समावेशी वर्गका लागि सशक्तीकरण अभियान–२०८३’ सञ्चालन गरिनेछ ।
न्यायिक समितितर्फ “न्याय गाउँ–घरमा’ अभियानमार्फत घुम्ती न्यायिक तथा परामर्श शिविर सञ्चालन गरिने र मुद्दाहरूलाई डिजिटल अभिलेख प्रणाली मार्फत व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । गाउँसभामा प्रस्तुत यस नीति तथा कार्यक्रममाथि रचनात्मक सुझावको अपेक्षा गर्दै अध्यक्ष थापाले यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिकमा अपिल गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्