कश्यप रोडा उद्योगमा अवैध ढुंगागिटी देखिएपछि बिक्री बन्द

अनुगमन फितलो भएको भन्दै स्थानीयको आक्रोश

समाचार प्रकाशित भएपछि गोरकट्टामा भइरहेको उत्खनन् बन्द गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

१९ जेठ, बुटवल । तिनाउ नदी उत्खनन्‌को ठेक्का पाएका ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सीधै क्रसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योग कारवाहीमा परेको छ ।

frontline

अनलाइनखबरले आइतबार तिनाउ खोलामा मनपरी उत्खनन् भइरहेको र उत्खनन् गरिएको ढुंगागिटी चोरी निकासीबारे समाचार प्रकाशित गरेपछि जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, रुपन्देही प्रहरी प्रमुख लगायतले सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा उत्खनन्‌बाट ल्याइएको ताजा ढुंगागिटी ठूलो परिमाणमा भेटिएपछि अर्को निर्णय नहुँदासम्मका लागि बिक्री वितरण गर्न नपाउने गरी कारवाही गरिएको हो ।

बा ०३००१ ख ०७२५ नम्बरको टिपरले घाटगर्दीमा लैजानुपर्ने नदीजन्य पदार्थ सीधै कश्यप नमूना रोडा उद्योगमा पुर्‍याएको प्रमाण सहितको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । उक्त नम्बर प्लेटको टिप्पर पालिकाले तोकेको घाटगर्दीमा ढुवानी गर्न अनुमति पाएको टिपर हो ।

‘त्यो एउटा टिप्परको प्रमाण क्रेसर उद्योग बाहिर ५ मिनेट मात्रै निरीक्षण गर्दा भेटिएको हो, दिनभर अनुगमन गर्ने हो भने दर्जनौं टिप्परले दैनिक पालिकाले तोकेको ठाउँमा लैजानुपर्ने ढुंगा गिटी सिधै क्रसर उद्योगमा लैजान्छन्’, –स्थानीय प्रत्यक्षदर्शी युवाहरु बताउँछन् । उक्त ठाउँको उत्खनन्‌को ठेक्का व्यवसायी सुमन बस्यालले पाएका छन् । गत वर्ष पनि उनैले ठेक्का पाएका थिए ।

समाचार प्रकाशित भएपछि गोरकट्टामा भइरहेको उत्खनन् बन्द गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा अवैध ढंगले ताजा ढुंगागिटी ठूलो परिमाणमा आएको देखिएकाले बिक्रि वितरण बन्द गराइएको र थप प्राविधिक अनुसन्धान गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए ।

धेरै ठाउँमा ठेक्का लागेकाले सबै ठाउँमा अनुगमन गर्न कठीन भएको घिमिरेले बताए । जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले कतिपय स्थानमा मापदण्ड विपरित खोला उत्खनन् भएको र पालिकाले तोकेको स्थानमा घाटगर्दी गर्नुपर्नेमा क्रसर उद्योगमा ढुंगागिटी पुर्‍याएको पाइएको स्वीकार्दै सोही कारण कश्यप रोडा उद्योगलाई कारवाही गरिएको बताए ।

कतिपय स्थानमा मापदण्ड भन्दा गहिरो गरी उत्खनन् भएको चापागाईंले बताए । आफूले कात्तिक–मंसिरबाटै खोलाको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन पालिकाहरुलाई आग्रह गरेपनि बेवास्ता गरेर सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा प्रभावकारी अनुगमन हुन नसकेको चापागाईं बताए ।

अनुगमन निष्प्रभावी भन्दै स्थानीय आक्रोशित

सोमबार साँझ ७ बज्न लाग्दा अनुगमन टोली बुटवलको मगरघाट पुलमा अनुगमन गर्न आउँदा स्थानीयहरुले आक्रोश पोखेका छन् । ठेकेदारले अनुगमन टोली आउने सूचना पाएर उत्खनन् बन्द गरेका बेला अनुगमन आएको देखाएर झारा टार्ने काम गरेको भन्दै त्यहाँ उपस्थित स्थानीयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग आक्रोश पोखेका हुन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता समेत रहेका स्थानीय श्याम बराइलीसहितको स्थानीयको समूहले नियामक निकायको अनुगमन देखाउने दाँत मात्र भएको भन्दै प्रभावकारी अनुगमन गरी राज्यको प्राकृतिक स्रोत चोरी हुनबाट रोक्न आग्रह गरे ।

‘एउटा ठाउँमा अनुगमन शुरु भएपछि अर्को ठाउँको ठेकेदारले तत्कालै सूचना पाउँछ अनि बद्मासी ढाकछोप गरिहाल्छ अनि अनुगमनको के काम ?’, नेता बराइलीले भने, ‘साँच्चिकै चोरी र मनपरी उत्खनन् रोक्ने हो भने सबै ठाउँमा एकैचोटी अनुगमन टोली पुग्ने गरी व्यवस्था गर्नुपर्‍यो, बल्ल बद्मासी फेला पार्न सकिन्छ ।’

राजनीतिक संरक्षणमा अनुगमन समितिले आँखा चिम्लेर ठेकेदारलाई मनपरी गर्न छुट दिएको उनको आरोप छ । अनुगमन टोलीमा स्वतन्त्र नागरिक, प्रतिपक्षी दलका प्रतिनिधि, विज्ञ समेत सहभागी गराउँदा मात्र अनुगमन निष्पक्ष र विश्वसनीय हुने उनले बताए । खोलामा नियमित र प्रभावकारी अनुगमन हुनुपर्ने उनको माग छ ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाले मापदण्ड पालना गरी उत्खनन् गर्न र तोकिएको ठाउँमा घाटगर्दी गर्न निर्देशन दिई खोलाको ठेक्का लगाएका छन् । तर, ती स्थान आसपासमा सञ्चालित झण्डै एक दर्जन क्रसर उद्योगहरुमा घाटगर्दीमा लैजानुपर्ने ढुंगागिटीको ठूलो हिस्सा जाने गरेको स्थानीय बताउँछन् ।

यो कार्यमा उत्खनन्‌को जिम्मा पाएको ठेकेदार, क्रसर उद्योग सञ्चालक र पालिकाका जनप्रतिनिधिहरुको समेत मिलोमतो रहेको उनीहरुको भनाइ छ । तिलोत्तमा ६ मा पर्ने गोरकट्टा र हरपुर क्षेत्रमा घाटगर्दी गर्ने स्थान नजिकै कश्यप, कालिका, कामना, सिद्धेश्वरी कामना, मुक्तिनाथ, न्यू श्रृष्टि लगायत आधा दर्जन क्रसर उद्योग छन् ।

यसअघि अनुगमन हुँदा तिलोत्तमामा २ वटा, सैनामैनामा ६ वटा गाडी नियन्त्रणमा लिई कारवाही गरिएको समन्वय समिति प्रमुख चापागाईले बताए । मापदण्ड विपरित हुने उत्खनन् र चोरीको सूचना सरोकारवाला निकायलाई दिएर अवैध कार्य रोक्न स्थानीयको सहयोग हुनुपर्ने चापागाईंले अनुरोध गरे ।

कश्यप रोडा उद्योग ढुंगागिटी उत्खनन्‌

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here