कलामार्फत जलवायु संकटविरुद्ध जुट्न सन्देश

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको बौद्धस्थित ‘तारागाँउ नेक्सट’मा ‘एट द टिपिङ पोइन्ट’ प्रदर्शनी विश्व वातावरण दिवसको अवसरमा सुरु भयो।
  • प्रदर्शनीमा १२ जना कलाकारहरूले जलवायु परिवर्तन र पर्यावरणीय संकटमाथि विभिन्न माध्यमबाट दृष्टिकोण प्रस्तुत गरे।
  • प्रदर्शनीले पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गर्न र वातावरणीय चेतना जागरूकता फैलाउन उद्देश्य राखेको छ।

काठमाडौं । बौद्धस्थित कला प्रदर्शन थलो ‘तारागाँउ नेक्सट’मा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्ट : आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ ।

frontline

शुक्रबारदेखि सर्वसाधारणको लागि प्रदर्शनी खुला भएको छ । कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको भनिएको यो प्रदर्शनी सगरमाथा नेक्सटले आयोजना गरेको हो ।

सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित प्रदर्शनीको प्रसिद्ध भारतीय कला इतिहासकार अर्शिया लोखान्डवालाले संयोजन गरेकी छन् । जलवायु असरको विश्वव्यापी पारिस्थितीलाई ध्यानमा राख्दै प्रदर्शनी आयोजना गरिएको उनले जानकारी दिइन् ।

प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रण गरिएको छ । तीन महिनासम्म चल्ने प्रदर्शनीमा सर्जकले विभिन्न माध्यमबाट कला अभिव्यक्त गर्नेछन् ।

कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिए । शरिरमा रातो माटो पोतेर भूमिसँग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गर्छ । उनको प्रदर्शनी उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ ।

विश्वले औसतभन्दा झण्डै दोब्बर अंकको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

१२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारले प्रदर्शनीमा सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमालीसिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउनेछ भने उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा व्यक्त गरेको छ ।

उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ दिने प्रयास गरेको छ ।

मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा मूर्तिकला प्रस्तुत गरेका छन् । नेपाली कलाकार संयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत प्रतिविम्वित गराउने जमर्को गरेको छ ।

अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भूपरिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरिरहेका छन् ।

प्रदर्शनीकी अर्की सहभागी मोनिका उर्सिना जेगरले ‘लिक्विड टाइम’मार्फत पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ भने जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियाले कीराको जनसंख्यामा आइरहेको गिरावटलाई डिजिटल रुपमा देखाइएको छ ।

क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्वीर र चलचित्र प्रस्तुत गरिरहेका छन् ।

सौर्गङ्गा दर्शनधारीको नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोड्ने काम गर्छ भने रोबर्टिना शेबजानिकले ‘द एटलान्टिक टेल्स् एण्ड’को सोनिकमार्फत वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् ।

मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जना विशेष प्रस्तुतिका रुपमा समावेश भएका छन् । प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेर पेश गर्ने काम गरेको छ ।

कला प्रदर्शनी

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here