कर्णालीको कृषि कार्यक्रमका नाममा प्रदेश बाहिरका कर्मचारीको विदेश सयर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले झण्डै एक करोड खर्चेर कर्णाली प्रदेशको ‘कृषि क्षेत्र विकास कार्यक्रम’अन्तर्गत २० कर्मचारीलाई अध्ययन भ्रमणका लागि विदेश लैजाँदैछ । तर टोलीमा एक जना पनि कर्णालीका कर्मचारी छैनन् ।
९ फागुन, सुर्खेत । कृषि विकास कार्यालय जुम्लामा कार्यरत कृषि अधिकृत कमला महत तीन दशकदेखि कर्णाली क्षेत्रमा बसेर काम गरिरहेकी छिन् । तर उनले अहिलेसम्म कृषिसँग सम्बन्धित ज्ञान, सिप र प्रविधि अध्ययन तथा अनुभव आदानप्रदानका लागि हुने वैदेशिक भ्रमणमा जाने अवसर पाएकी छैनन् ।




‘दुर्गममा बसेर सेवा गर्नेको खासै पहुँच र पावर पुग्दैन । कामको मूल्यांकन पनि नहुँदो रहेछ,’ उनी भन्छिन् । मन्त्री, सचिव र उच्च तहका कर्मचारीको नजर नपर्ने हुँदा तल्लो तहका कर्मचारीले वैदेशिक भ्रमणको अवसर पाउन नसकेको उनको गुनासो छ ।
तीन दशकदेखि कर्णालीमै बसेर सेवा गरिरहेका बागवानी विकास केन्द्र जुफाल डोल्पामा कार्यरत कृषि अधिकृत सम्पत्ति बुढा पनि अहिलेसम्म वैदेशिक भ्रमणको अवसर नपाएको बताउँछन् । गत वर्ष कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कतिपयलाई भारत भ्रमणमा पठायो । तर उनी यसमा अटाएनन् ।
‘दुर्गममा बसेर राम्रो काम गरेको कसैले देख्दो रहेनछ,’ बुढाले भने, ‘हाम्रो लागि भनसुन गर्ने र बोल्ने मान्छे कोही छैन । हामी आफ्नो ड्यूटी पूरा गर्छौं, कसैलाई पूजा गर्दैनौं । त्यसैले अवसर पनि पाउँदैनौं ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली प्रदेशको ‘कृषि क्षेत्र विकास कार्यक्रम’अन्तर्गत २० कर्मचारीलाई अध्ययन भ्रमणका लागि विदेश लैजान लागेको छ । संघ सरकार मातहत रहेको कृषि क्षेत्र विकास कार्यक्रमअन्तर्गत २० जनालाई फिलिपिन्स लैजान मन्त्रालयले झण्डै एक करोड खर्च गर्दैछ ।
कृषि क्षेत्र विकास कार्यक्रमबाट फिलिपिन्स भ्रमण गर्ने अवसर आउँदा दुर्गममा बसेर सेवा गरेका कर्मचारीलाई अवसर दिनुको सट्टा मन्त्रालयका कामु सचिव पशुराम रावतले उक्त अवसर आफैंले लिने निर्णय गरे । कामु सचिव रावत यसअघि पनि पटक-पटक यस्ता खालका वैदेशिक भ्रमणमा गइसकेका छन् ।
पहुँच नहुने कर्मचारी भने विदेश भ्रमणको अवसरबाट वञ्चित हुनु परेको २२ वर्षदेखि कर्णाली क्षेत्रमै रहेर कृषि क्षेत्रमा काम गर्दै आएका एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत कृषि अधिकृत प्रयोगबहादुर शाहीको अनुभव छ ।
फागुन ११ देखि १७ सम्म फिलिपिन्समा आयोजना हुने ‘उच्च मूल्य कृषि उपजको मूल्य शृङ्खला विकाससम्बन्धी अध्ययन भ्रमण’का लागि २० जना कर्मचारी मनोनयन भएका छन् ।
कार्यक्रमका संयोजक वासुदेव काफ्लेसहित कार्यक्रममा कार्यरत ९ जना, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कामु सचिव रावत, संघीय कृषि मन्त्रालयमा कार्यरत तीन जना, विभागमा कार्यरत दुई जना, धनकुटा, दोलखाको जिरी, खोटाङ र सङ्खुवासभामा कार्यरत एक-एक जना र एक जना अर्थ मन्त्रालयका कर्मचारीलाई मन्त्रालयले फिलिपिन्स भ्रमणमा पठाउँदैछ ।
कर्णाली प्रदेशमा सञ्चालनमा रहेको कार्यक्रमको पैसाबाट कर्णालीमै कार्यरत कर्मचारीलाई वैदेशिक भ्रमणको अवसर नदिँदा आफूहरु अवसरबाट वञ्चित बनेको उनीहरू बताउँछन् । मन्त्री, सचिव र मन्त्रालयमा पहुँच भएका कर्मचारी दोहोर्याएर-तेहर्याएर पनि विदेश भ्रमणमा गएका छन् ।
पहुँच नहुने कर्मचारी भने विदेश भ्रमणको अवसरबाट वञ्चित हुनु परेको २२ वर्षदेखि कर्णाली क्षेत्रमै रहेर कृषि क्षेत्रमा काम गर्दै आएका एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत कृषि अधिकृत प्रयोगबहादुर शाहीको अनुभव छ । वैदेशिक भ्रमणको लागि अहिलेसम्म कहीँकतै हारगुहार नगरेको उनी बताउँछन् ।
‘पुरस्कार पनि पहुँचकै भरमा दिइन्छ । जो बोल्छ, जसले माथिल्लो तहका कर्मचारीलाई पूजा गर्छ । उनीहरूले मात्रै विभिन्न अवसर पाउँछन् । अरूले अवसर पाउने कुरै भएन,’ उनी भन्छन् ।
सरकारी खर्चमा विदेश घुम्न र डलरमा दैनिक भत्ता पाइने भएकोले कर्मचारीबीच विदेश जान प्रतिस्पर्धा नै चल्ने गल्ने गर्छ । उक्त वैदेशिक भ्रमणका लागि ९५ लाख ६० हजार ६९० रुपैयाँ खर्च गरिने मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले भने अहिलेसम्म कतै अवसर नपाएका कर्मचारीलाई फिलिपिन्स भ्रमणको लागि छनोट गरिएको दाबी गरे । ‘मन्त्रालयले विदेशै नगएका कर्मचारीलाई ब्यालेन्स गरेर भ्रमणमा पठाउने गरेको छ । कसैलाई काखा, कसैलाई पाखा गरेको छैन,’ उनले भने, ‘आफू नपर्दा कसैलाई त्यस्तो लाग्न सक्छ ।’
बजेट अनुसार दिनहरू घटाएर मान्छेहरू थप्दा भ्रमणमा जानेहरूको संख्या धेरै हुने गरेको र कहिलेकाहीँ धेरै नै मिहिनेत गर्नेहरू दोहोरिएर पनि जान सक्ने सचिव शर्मा बताउँछन् ।
उच्च मूल्य कृषि उपजहरूको मूल्य श्रृङखला विकाससम्बन्धी अध्ययन र अनुभव आदानप्रदान सम्बन्धी वैदेशिक भ्रमणमै यसअघि करिब २ करोड रुपैयाँ खर्च भएको थियो ।
कार्यक्रमका संयोजक वासुदेव काफ्लेले मन्त्रालयले आफ्नो कोटाबाट वैदेशिक भ्रमणमा जाने कर्मचारी सिफारिस गरेको र यसमा कार्यालयको हात नभएको बताए । कार्यालयले सिफारिस गरेका कतिपय कर्मचारीको नाम काटेर मन्त्रालयले अरूलाई सिफारिस गरेको उनको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कामु सचिव परशुराम रावतले संघीय सरकारकै निर्णय भएकाले यसमा आफ्नो कुनै हात नरहेको बताए । उनले भने, ‘कसलाई फिलिपिन्स पठाउने भन्ने निर्णय सरकारकै हो । म पनि सूचीमा परेको रहेछु, यसमा मेरो हात छैन ।’
छैन भ्रमणको उपलब्धि ?
संघीय सरकारले कर्णालीमा कृषि क्षेत्रको विकासका लागि यो कार्यक्रम लागू गरे पनि अपेक्षित सफलता हासिल नभएको कर्मचारीहरू नै गुनासो गर्छन् । यस्तो अवस्थामा, कर्णाली बाहिरका असम्बन्धित कर्मचारीलाई भ्रमणमा पठाएर प्रदेशको बजेट खर्च गर्न लागिएको भन्दै कर्णालीका कर्मचारीहरू असन्तुष्ट बनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक भ्रमण कटौती गर्ने नीति अपनाउने बताएका थिए । तर कृषि मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनलाई बेवास्ता गरेको छ । माघ २१ मा कृषिमन्त्री रामनाथ अधिकारीबाट मन्त्रीस्तरीय निर्णय र माघ २२ मा सचिव गोविन्दप्रसाद शर्माबाट सचिवस्तरीय निर्णय गर्दै २० जनाको मनोनयन गरेको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा छानिएका उच्च मूल्यका कृषि वस्तुहरूको मूल्य श्रृङखला विकासका लागि लागू गरिएको कार्यक्रमले हालसम्म करिब २ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।
सरकारले अनावश्यक घुमघाममा कडाइ गरे पनि कर्मचारीहरू विभिन्न बहानामा वैदेशिक भ्रमणमा जाने क्रम रोकिएको छैन । भ्रमणमा जानको लागि व्यापक सोर्सफोर्स चल्ने गरेको कर्मचारीहरू नै बताउँछन् ।
सरकारको खर्च र ऋणबाट चलेका कार्यक्रमबाट वैदेशिक भ्रमण गर्न पाइँदैन । तर नेपाल सरकारको खर्च र ऋणबाट चलेको कृषि क्षेत्र विकास कार्यक्रमबाट वर्षेनी कर्मचारीहरू वैदेशिक भ्रमणमा गइरहेका छन् ।
कुल लागत करिब ५ अर्ब ५ करोड रहेको कार्यक्रममा नेपाल सरकारको एक अर्ब १७ करोड, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको करिब दुई अर्ब २५ करोड ऋण सहयोग, कोषकै करिब १९ करोड अनुदान रहेको छ । यस्तै हेल्भेटासले ५ करोड २५ लाख, स्थानीय तहहरूले करिब ३५ करोड, लाभग्राहीहरूले ६८ करोड १४ लाख र निजी क्षेत्रले ३५ करोड ६० लाख साझेदारी गर्ने गरी कर्णाली प्रदेशमा लागू गरिएको हो ।
कर्णालीका किसानहरूको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमले सोचेजस्तो उपलब्धि भने हासिल गर्न नसकेको कृषि क्षेत्रका जानकार बताउँछन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा छानिएका उच्च मूल्यका कृषि वस्तुहरूको मूल्य श्रृङखला विकासका लागि लागू गरिएको कार्यक्रमले हालसम्म करिब २ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।
विगत ६ वर्षदेखि कर्णाली क्षेत्रमा सञ्चालन हुँदै आएको कृषि क्षेत्र विकास कार्यक्रम आउँदो असार महिनामा सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्