ओलीजीसँग सहकार्य हुन्न, संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे जनमत संग्रहमा जाऔं’

 झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको छ । यो समूहलाई तीन बुँदे सहमति गराएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसाको राजनीति सकिएको बताएका छन् ।

हतियार र राजनीतिक विषयबारे सहमति पत्र स्पष्ट छैन । यो समूहले उठाएका एजेण्डा यथावत् छन् वा छैनन् ? पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, ‘संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको विषयमा प्रगतिशील संयुक्त सरकारमार्फत जनमत संग्रह हुनुपर्ने हाम्रो माग छ ।’

frontline

यो माग पूरा गराउन अब पार्टीले विभिन्न दलसँग छलफल गर्ने, जनतामा जाने उनले बताए । अनलाइनखबरका लागि गौरव पोखरेलले लिएको विश्वकर्माको अन्तरवार्ताः

नेपालमा हिंसाको राजनीतिको औचित्य सकिएको हो ?

जनता जहिल्यै इमान्दार, न्यायको पक्षधर र श्रमशिल हुन्छन् । उनीहरु समानता र सम्मानित जीवन जिउन चाहन्छन् । विगतका सामन्ती शासक भन्नुस् वा अहिलेका साम्राज्यवादी, पुँजीवादी लुटेरा शासकहरु भन्नुस्, जनताको आन्दोलन र विद्रोहलाई तपाईंले अघि भनेझैं हिंसा भन्ने गर्दछन् । हाम्रो पार्टी यो आरोपलाई खारेज गर्दछ ।

दलाल पुँजीपती र साम्राज्यवादीहरुले विश्वको श्रमजीवि जनताको न्यायपूर्ण आन्दोलनलाई यसरी वकवास् र बदनाम गर्ने दुस्साहस नगरुन् भन्ने मेरो चुनौति पनि छ । हामी केही मान्छे, दलाल तत्वले भनेजस्तो हिंसाको राजनीतिमा कहिल्यै थिएनौं ।

हिंसाको राजनीतिमा त यो राज्य थियो, बन्दुकको बलमा जनताको आवाज दबाएर शासन गरिरहेको थियो । त्यसका खिलाफमा हामीले न्यायको आवाज उठायौं, आन्दोलन गर्‍यौं । त्यो आन्दोलन र संघर्षको स्वरुप कहिले काँही सशस्त्र भयो । कहिले वार्ताको टेबुलमा भयो ।

श्रृंखलाबद्ध बम विष्फोटन, शिक्षकको हत्या राजनीतिको हिंस्रक बाटो होइन ?

मान्छे मर्नु दुखद् कुरा हो । जनताको र जनताको पार्टीको मान्छे मार्ने विचार, नीति थियो कि थिएन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जनताको पार्टीले जनता मार्ने नीति कहिल्यै लिँदैन । क्रान्तिकालमा, क्रान्तिको सशस्त्र स्वरुप भएको वेला त्यस्ता घट्ना भइहालेछन् भने पनि ती भवितव्य घटना हुन्छन् ।

जो राज्य सत्ता, बन्दुक, सेना, कानुन लिएर बसिरहेको हुन्छ, हिंसा उसले गरिरहेको हुन्छ । आतंक मच्चाउने प्रवृत्ति राज्यको हुन्छ, जनताको हुँदैन ।

तपाईंहरुको मुद्दा यथावत् नै छ ?

यो धेरै महत्वपूर्ण प्रश्न हो । हामीले सम्झौता गरिसकेपछि राष्ट्रिय राजनीतिमा समाजमा उठेका प्रश्न र बहस हो यो । यो वार्ता र सहमति ऐतिहासिक, अतुलनीय र भव्य छ ।

२०६२/०६३ को आन्दोलनसम्म आउँदा नेपाली जनताले एउटा ठूलो मुक्तिको अपेक्षा गरेका थिए । जनताले आफ्नो राजनीतिक, आर्थिक, संस्कृतिक लगायत सम्पूर्ण अधिकार र राष्ट्रको स्वाधिनता स्थापित भएको हेर्न चाहन्थे । राजतन्त्रको अन्त्य त भयो, तर जनताको शासन आएन । त्यहीवेला हामीले षडयन्त्र भयो, प्रतिक्रान्ति भयो भन्यौं ।

कथित दोस्रो संविधानसभाको नाटक गरिँदा हामीले त्यसलाई अस्वीकार गर्यौं र सडकमा आयौं । त्यतिवेला प्रतिक्रान्तिलाई क्रान्तिको डेन्टिङ–पेन्टिङ गर्ने अवसरवादी, धोकेवाज नेताहरु जो थियो, उनीहरुले गरेको वकवास अहिलेसम्म आइपुग्दा आम नेपाली जनतामा प्रष्ट भएको छ । त्यो मुकुण्डो उत्रिएको छ ।

अहिले देश सबभन्दा संकटमा छ । राष्ट्रियता विगतमा भन्दा खतरामा छ । नेपाली जनताको एकपछि अर्को अधिकार खोसिँदैछन् । त्यसैले अरु कुरा सहायक हुन्, राज्य सत्ता र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व नहुनु प्रधान समस्या हो । हाम्रो मुद्दा भनेको अहिलेको दलाल पुँजीपती वर्गको सत्ता बदल्नु हो । त्यहाँ श्रमजीवि, उत्पीडित जनताको सत्ता बनाउनुपर्छ ।

अहिले दलाल संसदीय व्यवस्था छ । रातारात भुइँफुट्टा करोडपति, अर्बपति भएका छन् । जनताको स्थिति झन् खस्किएको छ । त्यसो हुनाले यो व्यवस्था नेपाली जनताको प्रतिनिधित्व गर्ने व्यवस्था भएन । जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ ।

अर्को कुरा यो संविधान जनतालाई वेवकुफ बनाउन लागू हुने भयो । हामीले जनताको मौलिक हक हुनपर्यो भन्यौं, तर यो तीन वर्षमा मौलिक हकको ‘म’ पनि लागु गर्नतिर गएको छैन । त्यसकारण यो संविधान पनि जनविरोधी भयो । त्यसैले व्यवस्था बदल्ने हाम्रो राजनीतिक एजेण्डा कायमै छ ।

नेपाली कांग्रेसका प्रवक्तासहितले सम्झौतामा हतियारको कुरा आएन भनेर प्रश्न उठाएका छन् । आम जनतामा पनि प्रतिबन्ध हटाउन मात्र तीन बुँदे सहमति हो कि भन्ने परेको छ । कार्यकर्ता रिहा गराउने रणनीति मात्र त होइन ?

विश्वप्रकाश शर्माजीको स्टाटस मैले पढिनँ, तर सुनेँ । उहाँले सहमतिको स्वागत पनि गर्नु भएको छ । उहाँले नकारात्मक कोणबाट उठाउनु भयो भन्ने त हैन, तर यो देशमा युद्ध चलेको थियो भने सेना, हतियारको कुरा आउँछ । युद्ध चलेको थिएन भने हतियारको कुरा सान्दर्भिक हुँदैन ।

तपाईंहरुले तीन कम्पनी सैन्य दस्ता बनाएको भनेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदलाई भन्नु भएको थियो नि ?

कुन सन्दर्भमा भन्नुभयो होला, तर औपचारिक वार्ताको टेबुलमा हामीलाई भन्नु भएन । त्यसो हुनाले बाहिर भनेको कुरालाई धेरै नखोजौं जस्तो लाग्छ । राज्यसँग हतियार र सेना छ, युद्ध नभएको हुनाले पार्टीसँग हतियार हुने कुरा भएन । कुरा यति हो ।संसदीय राजनीतिमा भएका कम्युनिष्ट पार्टीहरुले पनि विगतको समीक्षा गर्नुपर्ला । विगतका त्रुटि समीक्षा गरेर जनताको लाइनमा जाने स्थिति बनेपछि सहकार्य हुन्छ

प्रहरीले हतियार बरामद गरेको भन्ने कुरा चाहिँ के हो ?

कपिलवस्तु र दाङबीच धानखोला भन्ने ठाउँमा सातवटा एसएमजी र कतिवटा हतियार ‘क्याप्चर’ गरियो भनेर अफवाह फैलाए । त्यो हाम्रोबिरुद्ध षडयन्त्र थियो, हतियार हाम्रो थिएन । पछि त्यही प्रमाणित भयो ।

…भनेपछि ती हतियार प्रहरीकै थिए ?

अब त्यो षडयन्त्रमुलक भयो, अहिले म यत्ति भनुँ ।

राष्ट्र र जनताको हितको कुरा विरोधी तत्वहरुलाई मन परेको छैन । नेपालको राष्ट्रियतामाथि पटक–पटक अन्यायपूर्ण दखल गरेका विदेशी तत्वहरुलाई हाम्रो राजनीतिक अभियान र आन्दोलन मन परेको छैन । उनीहरु यो सहमति भाँड्ने षड्यन्त्रमा छन् ।

कतिपयले सरकार र तपाईंहरुको सहमतिलाई ‘सरप्राइज’ भनेका छन् नि ?

अलिकति हो, तर सबै होइन । हाम्रो मुद्दामा टक्कर परेको बेला सरकारले हामीलाई प्रतिबन्ध लगायो । त्यसवेला हाम्रो लागि संघर्ष मुख्य कुरा थियो । केही समय राजनीतिक संघर्ष पनि चल्यो ।

प्रत्यक्ष–परोक्ष संवाद पनि भइरहेका थिए । सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा बनाएको तीन सदस्यीय टोलीले पनि केही कोशिश गर्‍यो । बीचमा प्रधानमन्त्री कार्यालयबाट पनि कोशिशहरु भए । अहिलेको निष्कर्षमा पुग्दा यसबारे जनता सुसूचित थिएनन् । त्यसो हुदा अलिकति ‘सरप्राइज’ जस्तो भयो ।

पहिले कुरा नमिल्ने, अहिले एक्कासी सहमति हुने । नाटकीय भएन र ?

एक डेढ वर्ष अघि मुख्य विषय संघर्ष भएकाले कुरा अलि मिलेन । अहिले वार्ताको टेबुल मुख्य भएर सहमति भयो ।

जब हामी नेपाली जनतालाई मुख्य आधार मानेर, शक्तिको स्रोत ठानेर राजनीतिक निर्णय लिन्छौं, त्यो वेला दलाल तत्वहरु त्यसलाई पूरा हुन नदिने खेल खेल्छन् । उनीहरुका लागि चाहीँ यो नाटकीय नै भयो ।

वार्ता, सम्झौतामा तपाईंहरुले के–के पाउनु भयो ? के–के गुमाउनु भयो ?

यो सहमतिमा दुवैतर्फले धेरै गुमाएका छैनौं । हामीले केहि गुमायौं भने विगतका संघर्षमा भएका बलिदान गुमायौं । हाम्रा १२ जना साथीले सहादत प्राप्त गर्नु भएको छ । थुप्रै साथी जेलनेलमा थिए । संघर्षका वेला जनतालाई थुप्रै दुःख कठिनाइ भयो । आफूलाई पनि दुःख कठिनाइ भए । ती हाम्रा त्याग–तपश्याका कुरा भए, हाम्रो निम्ति प्रतिकुलका कुरा पनि भए ।

हामीसँग लडाइँ गर्दा राज्यमा पनि ठूलो धक्का, हल्लीखल्ली र अफ्ठ्यारो परेको थियो । यी विगतका जटिलताका कुरा भए ।वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह र प्रगतिशील संयुक्त सरकार हाम्रो माग हो

हामीले के प्राप्त गरेका छौं भने देशका सबै राजनीतिक पार्टीहरु नेपाली जनताका सबै वर्गसँग परामर्श गरेर निकाश दिने नयाँ वातावरण बनाएका छौं । विगतमा यो वातावरण थिएन । हामी सडकबाट लडिरहेका थियौं, राज्य माथिबाट हामीसँग लडिरहेको थियो । हामीले त्यो स्थिति हटायौं ।

तपाईंका महासचिव चन्दले शुक्रबारको सम्बोधनमा ‘घाम र जुनको भेट भयो’ भन्नुभयो । ओली समूहसँग एकता गर्ने, सरकारमा पनि जाने सम्भावना छ ?

यो कुरा बाहिर धेरै चलेको रहेछ । सकारात्मक रुपमा यो कुरा चलाउने जनतालाई त म धन्यवादै दिन्छु, तर अफवाह फैलाउनेप्रति आपत्ति छ ।

हामीले अगाडि सारेका मुद्दाहरु जो थिए, ती विषयको समाधान टेबुलबाट भयो । यो कुरा कुनै पार्टी नभई जसको नेतृत्वमा सरकार छ, उसैसँग हुन्थ्यो । अहिले ओलीजी भएकाले उहाँसँगै भयो । इतिहासको आवश्यकताको संयोग जस्तो पनि भयो ।

अब हाम्रो एजेण्डाबारे ओलीजीको पार्टीसँग पनि कुरा गर्छौं । प्रचण्ड–नेपालजीको पार्टीसँग पनि गर्छौं । देउवाजी, महन्थजी, बाबुरामजी लगायतको पार्टीसँग पनि कुरा गर्छौं । सही निकास निकाल्न कार्यक्रम पेश गर्छौं ।

अहिलेको समाधानको रुपमा हामीले वैज्ञानिक समाजवाद अघि सारेका छौं । यस सन्दर्भमा जनमत संग्रहमा जाउँ र जनताले के फैसला गर्छन्, मानौं भनेर हामी कार्यक्रम पेश गर्नेवाला छौं ।

जनतामा एजेण्डा लैजान अहिलेको राज्य संरचनाले हुँदैन । त्यसलाई मिल्ने संयन्त्र बनाउनुपर्छ । त्यसका लागि प्रगतिशील संयुक्त सरकार चाहिन्छ । त्यसो हुँदा वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह र प्रगतिशील संयुक्त सरकार हाम्रो माग हो ।

तपाईंहरु राजनीतिक रुपमा प्रचण्ड–बाबुराम र शेरबहादुर देउवामध्ये कोसँग नजिक हो ?

राजनीतिक रुपमा अब सबै राजनीतिक पार्टी भयौं । राजनीतिक पार्टी हुनुले एकअर्काप्रतिको ‘रेस्पोन्स’ राम्रो हुने भइहाल्यो । तर, निकटता र टाढाको कुरा गर्ने हो भने जसले राष्ट्रको स्वाधिनता, जनताको सामाजिक, आर्थिक र राजनीतिक अधिकार र वैज्ञानिक समाजवादी व्यवस्था सुनिश्चित गर्छ, त्योसँग हाम्रो लाइन मिल्छ । यसरी हेर्दा संसदवादीसँग त कुरा नमिल्ने भयो हाम्रो ।

अर्को के छ भने कम्युनिष्टहरुले पनि विगतमा गरेको त्रुटि सच्याउनुपर्नेछ । संसदीय राजनीतिमा भएका कम्युनिष्ट पार्टीहरुले पनि विगतको समीक्षा गर्नुपर्ला । विगतका त्रुटि समीक्षा गरेर जनताको लाइनमा जाने स्थिति बनेपछि सहकार्य हुन्छ ।

जहाँसम्म कांग्रेससँगको कुरा छ, उसले भन्ने गरेको लोकतन्त्र के हो ? राष्ट्रघात गर्ने, राष्ट्रघातीहरुलाई छुट दिने, हेरिबस्ने लोकतन्त्र भनेको हो कि होइन ? यो होइन भने लोकतन्त्रको परिभाषामा पनि विकास गर्नुपर्‍यो । छलफल गर्न हामी चाहन्छौं । हामी वास्तविक लोकतन्त्रवादी हौं, त्यसैले छलफल र सहकार्य गरौं भन्छौं ।

हामी कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण र एकीकरणका निम्ति, नेपालको समग्र प्रगतिशिल लोकतन्त्रवादी आन्दोलन र कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई एकताबद्ध गर्नका निम्ति नयाँ पहल लिन्छौं ।

तपाईंहरुको शान्तिपूर्ण कार्यदिशा के हुन्छ ?

पहिलो चरणमा सरकारसँग वार्ता भयो । अब हामीले उठाएका मुद्दाबारे कुरा गर्छौं । देशको संकट र निकासबारे सबै राजनीतिक पार्टीसँग पनि कुरा गर्छौं । त्यसरी छलफल गर्दै एउटा ठाउँमा पुर्‍याउँछौं ।

पार्टीहरुबीचमा समाधानको नीतिबारे, सिद्धान्तबारे विवाद हुन्छ नै । त्यो कुरामा फैसला गर्न हामी जनतालाई अपिल गर्नेछौं । जनताको बीचमा जाने वातावरण बनेपछि निकास निस्कन्छ ।

अब चाहीँ निकास शान्तिपूर्ण हुन्छ होइन ?

पूर्णरुपमा शान्तिपूर्ण हुन्छ । दोहोरो कुरा कम्युनिष्टहरुले गर्दैनन् । रुसी क्रान्तिको क्रममा लेनिनले दुई जिब्रे भन्नुहुन्थ्यो । नेपालको सन्दर्भमा चार जिब्रे फटाहाहरु छन् । तर, हाम्रो पार्टी बाहिर एउटा भन्ने, भित्र अर्को कुरा गर्दैन । हामी इमान्दारीपूर्वक प्रतिबद्धतातर्फ जान्छौं र देशलाई निकास दिन्छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here