ओली जनवरी ९ मा भारत जाँदै !
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका हुन् । चीन भ्रमण सिध्याएर स्वदेश फर्के लगत्तै झापा पुगेका ओलीले आफू चाडै भारत भ्रमणमा जान लागेको बताएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको तयारी थालेको स्रोतले बताएको छ । प्रधानमन्त्रीको सचिवालय र पराष्ट्र मन्त्रालय एक साथ सक्रिय भएपछि ओलीको भ्रमण मिलाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छिन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना रहेको छ । नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।
प्रधानमन्त्री ओली चीन जानु अघि नै भारतले भ्रमणको तयारी थाल्न प्रधानमन्त्रीको सचिवालयलाई प्रस्ताव गरेको थियो । सोही अनुसार प्रधानमन्त्रीको सचिवालयले परराष्ट्र मन्त्री र मन्त्रलायलाई यसको जिम्मेवारी दिएको थियो ।
चीन भ्रमणबाट प्रधानमन्त्री फर्केपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अहिले दिल्ली पुगेका छन् ।
यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री चीन भन्दा पहिले भारत भ्रमणमा जान्थे । तर उताबाट निमन्त्रणा नआएको कारण उनी चीन गएका थिए । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।
परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट फर्केको पर्सिपल्ट अर्थात् मंसिर २२ गते नेदरल्याण्ड उडेकी थिइन् । उनी त्यतैबाट भारत पुगेर प्रधानमन्त्रीको भ्रमणको मिति तय गरि फर्कने बताइएको छ ।
भारतले यसपटक ओली प्रधानमन्त्री भएको चार महिना वित्दा पनि वास्ता गरेको थिएन । चीन भ्रमण पुगेर बीआरआइ परियोजना कार्यान्वय सहमति पत्रमा हस्ताक्षर भएपछि भने भारत झस्किएको थियो । बीआरआई नेपालमा कार्यान्वयन हुँदा भारत र अमेरिका दुबै त्रसित हुने मुख्य कारण भू–रणनीतिक र आर्थिक प्रतिस्पर्धा हो ।
नेपालमा चीनको पूर्वाधार र रणनीतिक उपस्थितिले भारत दबाबमा पर्छ भने चीन–नेपाल सम्बन्धले भारतको परम्परागत व्यापारिक प्रभाव र सुरक्षा रणनीतिमा चुनौती दिन सक्छ ।
बिआरआई नेपालमा कार्यान्वयन हुँदा यसले दक्षिण एसियाका अन्य देशहरुमा पनि प्रभाव विस्तार गर्न मद्दत पुग्छ, जसले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिलाई दक्षिण एसियामा कमजोर बनाउन सक्छ । त्यसैले पनि भारत र अमेरिका नेपालमा आफ्नो प्रभाव गुम्ने त्रासमा छन् ।
बिआरआईको कार्यान्वयनले नेपालमा पूर्वाधार निर्माण र व्यापारिक मार्गहरू विस्तार गर्न मद्दत पुग्न सक्छ भने डेड सयभन्दा बढी राष्ट्रसँग जोडिई सकेको बिआरआईका कारण नेपालका लागि पर्यटन र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु पनि खुल्न सक्नेछन् ।
तर नेपालले बिआरआईलाई कार्यान्वयनको चरणमा लगेपछि सोचेअनुरुप भएन भने चाँही नेपाल अप्ठ्यारोमा पर्न सक्छ । बिआरआई चीनको रणनीतिक कार्यक्रम भएकोले पनि छिमेकी भारत झस्केको हो । भारतको नेपालप्रतिको प्रमुख चिन्ता सुरक्षा भएकोले पनि नेपाल चीनसँग टाढै बसोस् भन्ने चाहन्छ । तर, चीन बिआरआईमार्फत नेपाल र भारतमा आफ्नो व्यापार बढाउन चाहन्छ ।
प्रतिक्रिया दिनुहोस्