ओमिक्रोन संक्रमण फैलँदै, सतर्क रहन आग्रह
२२ मंसिर, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलँदै छ। विभिन्न भेरियन्टले थलिएर भर्खरै तंग्रँदै गरेको विश्व समुदाय पुनः त्रसित छन्।
हालसम्म कसैको मृत्यु नभए पनि संक्रमण छिटो फैलँदै छ। अहिले लक्षण पनि सामान्य छन्। तर, यसअघिका कोभिडका तीन भेरियन्टको असरलाई नियाल्दा यसको पनि लक्षण नथपिएला भन्न सकिँदैन।
दक्षिण अफ्रिकाबाट सुरु भएर २३ राष्ट्रमा पुगेको ओमिक्रोनले नेपाललाई पनि छोएको छ। दुई जनामा संक्रमण पुष्टि भएको छ। यो सतर्क रहने समय हो।
लक्षण सामान्य भनेर खेलाँची गरे ठूलो रूपमा मानवीय असर गर्न सक्छ। सतर्कता नै अहिलेको पहिलो आवश्यकता भएकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्छ।
यसअघिको कोरोना लहरको समयमा समेत अमेरिकाले लकडाउनमा चासो दिएको थिएन। यात्रा प्रतिबन्ध पनि अन्य देशले चाँडो गरे।
तर, ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै लकडाउन र अन्तरदेशीय यात्रा प्रतिबन्धमा अमेरिकाले सुरुमा नै चासो दिएको छ।
स्वास्थ्यका क्षेत्रमा मजबुत व्यवस्थापन गरेका देशले पनि लकडाउन गर्दैछन्। यो यसअघिको भेरियन्टले सिकाएको सकारात्मक पाठ हो।
नयाँनयाँ रूपमा भित्रिने भाइरसबाट जोगिन सामाजिक दूरी कायम गर्नु र भीडभाड नियन्त्रण नै उत्तम विकल्प सबैले ठानेका छन्।
यो विषयमा नेपाल पनि समयमा नै सचेत बन्नुपर्छ। सुरुआतमा नै एक व्यक्तिबाट अर्कोमा फैलन रोके ठूलो क्षतिबाट जोगिन सकिन्छ।
विश्व स्वास्थ्य संगठनले लकडाउन र यात्रा प्रतिबन्धले मात्रै भाइरस नियन्त्रण नहुने भएकाले प्रत्येक व्यक्ति सचेत हुनुपर्ने बताएको छ।
अहिले जोखिमका आधारमा मात्रै प्रतिबन्ध लगाउन भनिएको छ। नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको हो। अन्यमा पनि सरेको हुन सक्छ।
भारतमा उच्च गतिमा फैलिएकाले खुल्ला सिमानाका कारण नेपालमा सहजै आउन सक्छ। दैनिक हजारौंको संख्यामा आवतजावत हुने भएकाले सीमा क्षेत्रका नागरिक संक्रमणका हिसाबले उच्च जोखिममा छन्।
हवाईसेवा रोकेर मात्रै हुँदैन, भारतसँग जोडिएको सिमानामा पनि निगरानी र कडाइ गर्न आवश्यक देखिन्छ। भाइरस संक्रमण हुन सक्ने आशंका गर्दै सरकारले सबै सरकारी निकायका अधिकारीलाई अत्यावश्यक काममा बाहेक विदेश जान रोक लगाएको छ।
यो सरकारको सकारात्मक कदम हो। दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन दिए पनि निर्देशन प्रभावकारी बन्न सकेको छैन।
यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्छ। निर्देशन दिएर मात्रै हुँदैन। सबै जिल्लामा कडाइका साथ भएका निर्णय कार्यान्वयन गराउनु पर्छ।
भाइरस नियन्त्रण गर्न योजना बनाउनुपर्ने र नागरिकको जीउधनको रक्षा गर्नुपर्ने दायित्व सरकारको हो। समयमा दायित्व पूरा नगरे संक्रमण फैलिएर ठूलो रूपमा क्षति भोग्नुपर्ने हुन सक्छ।
कोरोना संक्रमणको कारण दुई वर्षसम्म ठप्प विद्यालय भर्खरै खुलेका छन्। जनजीवन सामान्य बन्न लागेका बेला नयाँ संक्रमण फैलनु निराशाको विषय हो।
नयाँ भेरियन्टको आतंकले समग्र नेपालको अर्थतन्त्रका गम्भीर असर पुर्याउन सक्छ। त्यसकारण यसलाई समयमा नै नियन्त्रण गर्ने योजना ल्याउनुपर्छ।
स्वास्थ्य संरचना र जनशक्तिको मूल्यांकन गरी समयमा नै तयारी अवस्थामा राख्नुपर्छ। यसअघिको महामारीले धेरै पाठ सिकाएको छ। यसलाई कुनै पनि हालतमा भुल्नु हुँदैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै अहिले विशेष स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ।
यो सबै नाकामा हुनुपर्छ। नागरिकले पनि कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ। के गरे सर्छ ? के गरे सर्दैन ? यस अघिको महामारीले सबैलाई पाठ सिकाएकै हुनुपर्छ।
भाइरस समय समयमा फैलिरहन्छ। यसबाट आतिनेभन्दा पनि सचेत हुने र संक्रमणबाट जोगिने हो। खोपको मात्रा नपुगेकाले खोप लगाउने र डोज पूरा गर्ने हो।
आत्तिएरभन्दा पनि सचेत बनेर महामारीबाट जोगिन सकिन्छ। सरकार नियन्त्रणको तयारीमा र नागरिक सचेत बन्नु नै अहिलेको आवश्यकता हो। मास्क र स्यानीटाइजर घरबाहिर, सरसफाइ र पौष्टिक आहारा घरभित्र, भए ओमिक्रोन मात्रै होइन जुनसुकै भाइरस पनि पचाउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्