ओमिक्रोन भेटिएपछि नाकामा कडाइ
२४ पुस, काठमाडौं । भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। नेपालगन्ज, वीरगन्ज र भैरहवामा कोरोना संक्रमित बढेका हुन्।
लुम्बिनी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित नै भेटिएपछि नाकामा कडाइ गर्न थालिएको छ। अन्य प्रदेशको नाका भएर नेपाल भित्रिनेमा पनि कोरोना संक्रमित बढी छन्।
बाँकेमा कोरोना संक्रमण पुष्टि भएकामध्ये झन्डै ९० प्रतिशत संक्रमित भारतबाट आएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा १० जना मात्र संक्रमित छन्। एक जना भेरी अस्पताल र अरू होम आइसोलेसनमा बसेका छन्।
नेपालगन्जको जमुनाहा नाकामा रहेको हेल्थ डेस्कका हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार गत सोमबार यता एन्टिजिन विधिबाट कोरोना परीक्षण गराउँदा नेपाल फर्कनेहरू धेरैमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। शुक्रबार सर्वाधिक ३७ जनामा संक्रमण पुष्टि भएको हो।
जमुनाहा नाकामा कोरोना संक्रमण पुष्टि भएका गम्भीर बिरामीलाई एम्बुलेन्सबाट सीधै भेरी अस्पतालमा भर्ना गरिन्छ। सामान्य अवस्थाका संक्रमितलाई नेपालगन्ज उपमहानगरपालिकाले बाल मन्दिरमा स्थापना गरेको आइसोलेसन सेन्टरमा राखेर सम्बन्धित जिल्ला पठाइने गरिएको छ।
वीरगन्जमा पुसको दोस्रो सातादेखि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन्। संक्रमित ह्वातै बढेपछि ओमिक्रोन पहिचानका लागि स्वाबको नमुना जिन सिक्वेन्सिङका लागि काठमाडांै पठाउन थालिएको छ। वीरगन्ज नाकामा शुक्रबार मात्रै ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
पुस ९ यता शुक्रबारसम्ममा वीरगन्जबाट ४३ वटा स्वाबका नमुना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। स्वाब नारायणी अस्पताल र वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कबाट संकलन गरिएको हो। नारायणी अस्पतालको प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कबाट ३२ वटा नमुना र नारायणी अस्पतालबाट ११ वटा नमुना काठमाडौं पठाइएको छ।
नाकाको हेल्थ डेस्कमा भारतबाट प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण र नारायणी अस्पतालमा पीसीआर परीक्षण हुँदै आएको छ। नाकाको हेल्थ डेस्कले एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएकाहरूको स्वाब नमुना र जिन सिक्वेन्सिङका लागि पुस ९ गतेदेखि आफैंले प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी काठमाडौं पठाउँदै आएको थियो।
तर, पुस २२ गतेदेखि भने नाकाको हेल्थ डेस्कमा संक्रमण पुष्टि भएकाहरूको स्वाब नारायणी अस्पतालको प्रयोगशालाले लिएर अस्पतालको नमुना पनि सँगै राखेर काठमाडौं पठाउन थालेको प्रयोगशाला प्रमुख डा. पाण्डेले जानकारी दिए। यसअघि पुस ९ देखि २१ गतेसम्म नाकाको हेल्थ डेस्कले जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाएका सबै १५ वटा नमुनामध्ये कुनैमा पनि ओमिक्रोनको भेरियन्ट पुष्टि नभएको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी सुमनचन्द्र ठाकुरले बताए।
डा. पाण्डेका अनुसार नेपालमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउन काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै परीक्षण हुँदै आएको छ।
भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज हो। यो नाकाको इनर्वामा सञ्चालित हेल्थ डेस्कमा शुक्रबार १ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका सबै ९ जना भारतीय नागरिक हुन्।
३५ देखि ६० वर्ष उमेरसमूहका उनीहरू सबैले कोरोनाविरुद्धको खोप लगाइसकेको पाइएको हेल्थ डेस्क इन्चार्ज डा. अनिशा महतोले बताइन्। डा. महतोका अनुसार ती सबै शुक्रबार वीरगन्ज घुम्ने र बेलुका फेरि भारत नै फर्कने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए।
नाकाकै हेल्थ डेस्कमा यसअघि बिहीबार ३ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार काठमाडौं, नवलपुर र चितवनका एक÷एक जना गरी तीन जना नेपाली र तीन जना भारतीय गरी ६ जनामा संक्रमण पुष्टि भएको डा. महतोले बताइन्।
नाकाको हेल्थ डेस्कमा पुस ९ देखि २३ गतेसम्म मात्रै ३२ जनामा संक्रमण पुष्टि भएको छ। पुसको १५ दिनमा नाकाको हेल्थ डेस्कमा २ हजार ४ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको डा. महतोले जानकारी दिइन्। तीमध्ये ७ जना नेपाली र बाँकी २५ जना भारतीय रहेका छन्। दोस्रो लहरपछि यसअघि कात्तिक २३ र असोज १८ मा गरी दुई जनामा मात्र संक्रमण भेटिएको थियो।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण लुम्बिनी प्रदेशमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरबाट पुस महिनामा संकलन गरेको १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २ सय ५० वटा (२२ प्रतिशत) नमुनामा एसजिन नेगेटिभ पत्ता लागेको छ।
एसजिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसरी देशभरबाट संकलन गरिएको नमुनामध्ये लुम्बिनी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पनि नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाएको थियो।
जसमध्ये रूपन्देहीको बेलहिया नाकाबाट २८ वटा, पाल्पा जिल्लाबाट ५ वटा र नेपालगन्जको भेरी अस्पतालबाट १० वटा गरी कुल ४३ वटा नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो।
लुम्बिनी प्रदेशबाट पठाइएको नमुनामध्ये केहीमा ओमिक्रोन संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका ल्याब इन्चार्ज प्रेमकुमार यादवले बताए।
प्रतिक्रिया दिनुहोस्