एनपी साउद परराष्ट्र मन्त्रालय र सरकारप्रति किन असन्तुष्ट ?

काठमाडौँ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा ।
डा. राणाले परराष्ट्र मन्त्रालय सम्हालेर कूटनीतिक सम्बन्धबारे राम्रो काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरूले बताइरहेका थिए । तर, वैशाख २४ गते प्रतिनिधिसभा बैठकमा डा. आरजु राणाकै पार्टी कांग्रेसका नेता पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पनि एउटा निर्णय विचार गरेर लिन नसकेको भन्दै असन्तुष्टि जनाए ।




भारतको पहलगाम घटनामा भएको आतंकवादी घटनाका कारण भारत र पाकिस्तानबिच सम्बन्ध बिग्रेको बेला पाकिस्तानी सेनाका उच्च अधिकारीहरूलाई नेपाल भ्रमणमा बोलाएकोमा साउदले असन्तुष्टि जनाएका थिए । उनले तनापूर्ण अवस्थालाई ख्याल गर्दै पूर्वनिर्धारित भ्रमण भएको भए पनि तत्काललाई स्थगन गरेको भए राम्रो हुने बताएका थिए ।
‘पहलगाम आतंकारी हमलाले छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति बनाएको छ । यस घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भएको थियो,’ साउदले भनेका थिए, ‘तर, छिमेकमा भएको जघन्य घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानी सेनाको प्रतिनिधिमण्डलले भ्रमण पूर्वनिर्धारित भए पनि वर्तमान स्थितिका बारेमा संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
वैशाख २१ गते पाकिस्तानी सेनाका हवाई कमाण्डर साद मन्सूर अन्सारी नेतृत्वको १२ सदस्यीय डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट नेपाल आएर ६ दिन नेपाल बसेर फर्किएको थियो ।
‘मेरो असन्तुष्टि परराष्ट्रमन्त्रीसँग सम्बन्धित होइन, शासनसँग हो । व्यक्तिको विरोध गरेको होइन, पदमा बसेको मान्छेले पुर्याउनु पर्ने विवेकबारे जनप्रतिनिधिको धारणा सदनमा राखेको हुँ ।’
यो विषयमा साउदले असन्तुष्टि जनाएपछि कांग्रेसभित्रै, त्यो पनि सभापति देउवा गुटकै नेताले संसद्मै कुरा उठाएपछि, नेताहरूले आश्चर्य जनाएका थिए । देउवानिकटका केही नेताहरूले त सभापति देउवाको ध्यानाकर्षणसमेत गराएको निकटस्थ स्रोत बताउँछ । देउवाले उनीहरूलाई जवाफमा ‘म एनपीलाई भन्छु,’ भन्ने जवाफसमेत दिएको स्रोतले बतायो । तर, देउवाले भने भनेनन् त्यो कुरा भने बाहिर आइसकेको छैन ।
साउद कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धन सरकारमा २०८० वैशाख ३ गते परराष्ट्रमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गरेपछि साउद २०८० फागुन २१ गते परराष्ट्र मन्त्रालयबाट बाहिरिएका थिए ।
‘पूर्वपरराष्ट्रमन्त्रीसमेत रहिसकेको मान्छेले आफ्नै पार्टीको परराष्ट्रमन्त्री रहेको बेलामा प्रतिनिधिसभामै मन्त्रालयसम्बद्ध विषयमा असन्तुष्टि जनाउनु भयो नी ?’ भन्ने रातोपाटीको प्रश्नमा साउदले भने, ‘मेरो असन्तुष्टि परराष्ट्रमन्त्रीसँग सम्बन्धित होइन, शासनसँग हो । व्यक्तिको विरोध गरेको होइन, पदमा बसेको मान्छेले पुर्याउनु पर्ने विवेकबारे जनप्रतिनिधिको धारणा सदनमा राखेको हुँ ।’
उनले दुई छिमेकी मुलुकबिच युद्ध भइरहेको बेलामा एउटा मुलुकको सेना नेपाल आउनु उपयुक्त नदेखेकाले विरोध गरेको बताए । ‘पाकिस्तान र भारतबिच युद्ध भइरहेको बेलामा नेपालमा पाकिस्तानी सेना आउनु उपयुक्त थिएन । त्यस्तैले विरोध सदनमा असन्तुष्टि जनाए,’ साउदले रातोपाटीसँग भने । मुख्यगरी साउदको त्यो असन्तुष्टिसँग कांग्रेसमा परराष्ट्रमन्त्री डा. राणासँग निकट रहेका नेताहरूले विरोध गरिरहेका छन् ।
जेठ २ गते शुक्रबार नेपाली कांग्रेस महोत्तरीले शुक्रबार सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता साउदले वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको आरोप लगाए ।
साउदले परराष्ट्र मन्त्रालयको विषयमा मात्रै होइन आफ्नै पार्टी सहभागी भएको गठबन्धन सरकारको पनि आलोचना गरिरहेका छन् । साउदले ठुला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाउँदै आएका छन् ।
गत पुस १८ गते बुटवलमा सञ्चारकर्मीहरूसँग नेता साउदले भनेका थिए, ‘दुई दलबिचको न्यूनतम साझा सहमति कार्यान्वयन हुन सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सहमतिविपरीतका अभिव्यक्ति आइरहेका छन् । उहाँले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ ।’
जेठ २ गते शुक्रबार नेपाली कांग्रेस महोत्तरीले शुक्रबार सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता साउदले वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको आरोप लगाए । वर्तमान सरकार दुई तिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको उनको भनाइ थियो ।
‘आफ्नै पार्टी सहभागी सरकारको सार्वजनिक मञ्चहरूमै विरोध गरिरहनु भएको छ नि ?’ भन्ने प्रश्नमा साउदले दुई तिहाइको सरकार भएर पनि जनताले देख्ने गरी काम गर्न नसकेको आफूले बताएको जनाए । उनले रातोपाटीसँग भने, ‘दुई तिहाइको सरकारले जनतालाई देखाउन सक्ने गरी काम गर्न सक्नुपर्थ्यो । उपयुक्त ‘डेलिभरी’ दिनुपर्थ्यो, सरकारले दिन सकिरहेको छैन । बलियो सरकार भएर पनि जनतामा आशा जगाउन सकेन भन्ने मेरो धारणा हो ।’
प्रतिक्रिया दिनुहोस्