एएफसीको ६० लाख सहयोगमा एन्फा मैदानमा बनाइएको स्कोर बोर्ड बिग्रेको ६ महिना भयो, बनाउन छैन चासो

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रदान गरेको ६० लाख रुपैयाँको सहयोगमा सातदोबाटोको एन्फा कम्प्लेक्स मैदानमा जडान भएको डिजिटल स्कोर बोर्ड ६ महिनादेखि प्रयोगविहीन अवस्थामा छ । तीन वर्षअघि यो स्कोर बोर्ड जडान भएको थियो । 

यसै मैदानमा सहिद स्मारक ‘सी’ डिभिजन लिग चलिरहँदा स्कोर बोर्डमा चट्याङ लागेको थियो । त्यसयता सम्बन्धित निकायले यसको मर्मत गर्न ध्यान दिएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)को चरम लापरबाहीका कारण दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा एन्फा कम्प्लेक्स मैदानमा साफ यू–२० च्याम्पियनसिपजस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भइरहँदा पनि एन्फाले स्कोर बोर्ड प्रयोगमा ल्याएको छैन । नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा साफको समूह चरण खेल खेलाउने नमिल्ने भएपछि साफ यू–२० च्याम्पियनसिप एन्फा कम्प्लेक्समा भइरहेको छ । 

frontline

घरेलु टोली नेपालरहित साबिक विजेता भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ । स्कोर बोर्ड नचल्दा प्रतिस्पर्धामा उत्रिरहेका खेलाडीले समस्या झेलिरहेका छन् । एन्फाले यसको विकल्पका रूपमा मैदानको एक भागमा सानो टाइमिङ बोर्ड राखेको छ । तर खेलाडीहरू भने पश्चिमतर्फ रहेको ठूलो स्कोर बोर्डतर्फ समय र स्कोर हेर्न झुक्किरहेका देखिन्छन् । 

२०–३० हजारमै मर्मत हुन्छ, तर एन्फालाई वास्ता छैन
स्कोर बोर्ड बनाउन त्यति धेरै खर्च लाग्दैन । यो केवल २५–३० हजार रुपैयाँमै बन्छ । तर, एन्फाले मर्मत गर्न ध्यान दिएको छैन । स्कोर बोर्ड सञ्चालनमा ल्याउन भारत वा चीनबाट प्राविधिक झिकाउनुपर्ने एन्फाका सिइओ इन्द्रमान तुलाधरले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘यो २५–३० हजारमै बन्छ । तर, प्राविधिक भारत वा चीनबाट झिकाउनुपर्छ । एन्फा स्कोर बोर्ड बनाउन तयार छ,’ तुलाधर भन्छन् । एन्फाले स्कोर बोर्ड बनाउन पहिलो प्राथमिकतामा नराख्दा ‘सी’ डिभिजन लिग, ललित स्मृति यू–१८ लिग र साफ यू–२० च्याम्पियनसिपको केही दिन स्कोर कागजमा टास्दै समय देखाएको थियो । पछिल्ला खेलमा एन्फाले सानो डिजिटल टाइमिङ बोर्ड राखेको छ । 

१ करोड लागतमा बनेको भवन प्रयोगमा आएन 
एन्फाले आफ्नै कम्प्लेक्स भित्र रहेको तीन तले भवनसमेत सञ्चालन गर्न सकेको छैन । फुटबलको सर्वाेच्च संस्था (फिफा)ले दिएको एक करोड नेपाली रुपैयाँमा एन्फाले किट्स सो रुम, बैंक र रेस्टुरेन्टसहितको योजना बनाएको थियो । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यकालको निर्माण भएको थियो । एन्फाले यसै भवनबाट मासिक पाँच लाख भाडा उठाउने र त्यही रकमबाट खेलाडीलाई तलब दिने योजना बनाएको हो । अहिले यो भवन बने पनि उद्घाटन भएको छैन ।

‘फिफाको सहयोगसँगै हामीले खाली जग्गा यो भवन बनाएका हौँ । पहिलो तल्लामा जर्सी प्रायोजक, दोस्रोमा बैंक र माथिल्लो तल्लामा रेस्टुरेन्ट चलाउने योजना थियो,’ शेर्पाले भने, ‘हामीले यसै भवनबाट मासिक पाँचदेखि सात लाखसम्म भाडा उठाएर खेलाडी कल्याणकारी कोषलाई बलियो बनाउने लक्ष्य थियो ।’

अध्यक्ष पंकजविक्रम नेम्वाङले भवनको उद्घाटन गर्ने सम्बन्धमा कार्यसमितिसमेत राखेका छैनन् । एन्फाका सिइओ तुलाधरले अहिले कुन प्रयोजनका लागि भवन प्रयोग गर्ने निश्चित नभएको जनाए । ‘अगाडि कस्तो योजना भएको थियो । हामीलाई थाहा छैन । अहिले यस विषयमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘अफिस वा पूरै भवन भाडामा लगाउने छलफलमै छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here