एउटै अस्पतालका ५० स्वास्थ्यकर्मीमा डेंगी, सिटामोल खाँदै उपचार गर्दै

११ असोज, काठमाडौं । केही दिनअघि वीर अस्पतालको इमर्जेन्सी कक्षमा पुग्दा बिरामीको अत्यधिक चाप थियो । एउटै बेडमा दुईदेखि तीनजनासम्म बिरामी राखेर उपचार गराइँदै थियो । आकस्मिक कक्षमा दुई नर्सहरू दौडादौड गरिरहेका थिए ।

केही बिरामी ‘स्लाइन सकियो’ भन्दै कराइरहेका थिए । केही आफूकहाँ चिकित्सक र नर्स कति बेला आइपुग्लान् भनेर पर्खिरहेका देखिन्थे ।

frontline

१५ बेडमा बिरामी खचाखच हुँदा दुईजना मात्र नर्स किन ? हतारमा रहेकी एक स्टाफ नर्सले प्रश्न सुनेपछि भनिन्, “इमर्जेन्सीका सिस्टरहरू सबैजना डेंगी भएर बस्नुभएको छ । हामीले डिउटी आवर थपेर काम गरिरहेका छौँ । बिरामीको चाप धान्न हम्मेहम्मे छ ।”

ललितपुरस्थित पाटन अस्पतालमा सबै रोगका गरी दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि पुग्ने गर्छन् । दुई साताअघि एकैपटक यहाँका धेरै स्वास्थ्यकर्मी डेंगी संक्रमित भए ।

अस्पतालका निर्देशक डा. रबी शाक्यका अनुसार २४ स्वास्थ्यकर्मीमा डेंगी पुष्टि हुँदा अधिकांशलाई निको हुन आठदेखि १० दिनसम्म लाग्यो । त्यो अवस्थामा ‘डबल डिउटी’मा राखेर पनि नियमित सेवा प्रवाह गर्न कठिनाइ भएको डा. शाक्य बताउँछन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा यो वर्ष मात्र ५० भन्दा बढी स्वास्थ्यकर्मीमा डेंगी संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

डेंगी संक्रमितको अत्यधिक चाप थेग्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको इमर्जेन्सी कक्षका १० चिकित्सक र नर्समा पछिल्लो महिना डेंगी संक्रमण देखियो । तीमध्ये चारजना सिकिस्त बिरामी भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

डेंगी हुँदा पनि सेवा प्रभावित नहोस् भनेर सिटामोल खाँदै डिउटी गर्दै गरेको अनुभव समेत कतिपय स्वास्थ्यकर्मीको छ । दुई साताअघि आफूलाई डेंगीका लक्षणहरू देखिए पनि परीक्षण नगराएको र सिटामोल खाँदै डिउटीलाई निरन्तरता दिएको थापाथलीस्थित परोपकार प्रसूतिगृहकी प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदी सुनाउँछिन् ।

“हाम्रै डिपार्टमा काम गर्ने सहकर्मीहरू संक्रमित भएर बिदामा हुनहुन्थ्यो । आफूलाई परीक्षण गर्दा पोजिटिभ देखिएला र बिदा बस्नुपर्ला भनेर मैले परीक्षण गराइनँ । बरु, सिटामोल खाएर डिउटीमा आइरहेँ,” डा. कल्पनाले भनिन् ।

अस्पतालको वातावरणका कारण पनि कतिपय स्वास्थ्यकर्मी अस्पतालबाटै संक्रमित हुने गरेको विज्ञहरू बताउँछन् । कतिपय अस्पतालमा संक्रमित बिरामी, कुरुवा र स्वास्थ्यकर्मीको सुरक्षा समेतलाई ख्याल गर्दै बिरामीलाई झुलभित्र राखेर उपचार गराइरहेको पाइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको असारयता यही असोज ९ गतेसम्म देशभर डेंगी संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगेको छ ।

यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २०० भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here