आयोजनामा ३ सिफ्ट काम : सुन्दा रमाइलो, व्यवहारमा चुनौती

सुन्दा रमाइलो लाग्ने यो नारा अर्थमन्त्रीहरूले अहिले बजेटमा छुटाउँदैनन् । तर, व्यवहारमा भने त्यस्तो देखिँदैन । सरकारले निर्माण व्यवसायीसँग आयोजना सक्ने लक्ष्य तोकेका अधिकांश आयोजना समयमै सकिएका छैनन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • अर्थमन्त्रीहरूले बजेटमा दुई सिफ्टमा काम गर्ने व्यवस्था उल्लेख गरे पनि व्यवहारमा लागु हुन सकेको छैन।
  • निर्माण व्यवसायीहरूले सरकारी आयोजना समयमै सम्पन्न नभएको र दुई वा तीन सिफ्टमा काम गर्न कठिनाइ भएको बताए।
  • सरकारले यदि कार्यान्वयनलाई प्राथमिकता दिए भने दुई वा तीन सिफ्टमा काम गर्न सकिने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्।

३० जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भनेका थिए, ‘राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइने छ ।’

पुनभन्दा एक कदम अगाडि बढेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन ठेक्का सम्झौता गर्दा तीन सिफ्टमा काम हुने व्यवस्था गरिने छ ।’

गत आव २०८०/८१ को नीति तथा कार्यक्रममा पनि यो विषय छुटेको थिएन । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पढेको उक्त नीत तथा कार्यक्रममा दुई सिफ्टमा काम गर्ने उल्लेख थियो ।

सुन्दा रमाइलो लाग्ने यो नारा अर्थमन्त्रीहरूले अहिले बजेटमा छुटाउँदैनन् । तर, व्यवहारमा भने त्यस्तो देखिँदैन । सरकारले निर्माण व्यवसायीसँग आयोजना सक्ने लक्ष्य तोकेका अधिकांश आयोजना समयमै सकिएका छैनन् । त्यसले आयोजना कार्यान्वयनको समय र लागत दुवै बढिरहेको छ ।

चालु आवको बजेट कार्यान्वयन मार्गदर्शनमा समेत अर्थले स्पष्ट रूपमा आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन भनेको थियो । तर, अहिले अधिकांश आयोजनामा यसरी दुई सिफ्टमा काम हुने गरेको छैन ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमै आयोजना कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गरिएको छ । ‘कार्यान्वयन पक्ष कमजोर हुँदा आयोजना सम्पन्न गर्न लामो समय र बढी लागत लाग्ने अवस्था छ,’ उनले भने ।

चालु आवको बजेट कार्यान्वयन मार्गदर्शनमा समेत अर्थले स्पष्ट रूपमा आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन भनेको थियो । तर, अहिले अधिकांश आयोजनामा यसरी दुई सिफ्टमा काम हुने गरेको छैन ।

राष्ट्रिय योजना आयोगका एक उच्च अधिकारीका अनुसार ठेक्का सम्झौतामै यसबारे उल्लेख नभएका आयोजनामा निर्माण व्यवसायीलाई दुई वा तीन सिफ्टमा काम गर्न बाध्य पार्न सकिने अवस्था छैन ।

केही निर्माण व्यवसायीले विभिन्न आयोजनामा आफै तत्परता लिएर दुई वा तीन सिफ्टमा काम गर्ने गरेको भए पनि यसलाई बाध्यकारी बनाउन नसकिएको उनी बताउँछन् । सोहीकारण यस वर्ष बजेटमै ठेक्का सम्झौता गर्दा तीन सिफ्टमा काम हुने व्यवस्था गर्नेबारे उल्लेख भएको उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिलेसम्म सरकारी ठेक्कामा दुई सिफ्टमा काम गर्ने गरी सामान्यतया ठेक्का सम्झौता भएको छैन ।

महासंघ वरिष्ठ उपाध्यक्ष आङदोर्जी (एडी) लामा दुई या तीन सिफ्टमा काम गराउने हो भने ठेक्का सम्झौतामै त्यस्तो उल्लेख गर्नुपर्ने बताउँछन् । नेपालमा अहिलेसम्म सरकारी स्तरका ठेक्कापट्टामा समय सीमा निर्धारण वैज्ञानिक आधारमा नभएको उनको भनाइ छ ।

‘२ करोडको आयोजना भए पनि २ वर्ष र २ अर्बको आयोजना भए पनि २ वर्षमा सक्ने गरी लक्ष्य राखिएको हुन्छ,’ उनी भन्छन्, ‘यो त सम्भव छैन, त्यसकारण सरकारी आयोजना तोकिएको समयमा पूरा नभएको हो ।’

निजी क्षेत्रमा भने ठेक्का सम्झौताकै अवधिमा दुई वा तीन सिफ्टमा काम गराउने भनी सहमति हुने र सोही अनुसार काम हुने गरेको उनले बताए ।

‘निजी क्षेत्रमा छिटो काम भएको हुन्छ, किनकि निजी क्षेत्र परियोजना जति छिटो बन्यो, त्यति त्यस परियोजनाबाट लाभ लिन आतुर हुन्छ, सरकारी लगानीलाई त्यसरी गम्भीर लिने परिपाटी नै भएन,’ उनले भने ।

सरकारले साँच्चै कार्यान्वयन गर्न चाहने हो भने यो नीति सकारात्मक रहेको उनको भनाइ छ । ‘एक सिफ्टमा काम गर्नुभन्दा दुई वा तीन सिफ्टमा काम गर्दा परियोजनाको लागत बढी हुन्छ, तर त्यसले दीर्घकालिन फाइदा राज्यलाई हुन्छ,’ उनी भन्छन् ।

दुई या तीन सिफ्टमा अहिलेकै जनशक्तिबाट पनि काम गराउन सकिने वा थप जनशक्तिलाई पनि रोजगारीका अवसर सिर्जना हुन सक्छ ।

निर्माण व्यवसायीका अनुसार सरकारले भने जस्तै सबै भूगोल र आयोजनामा भने दुई वा तीन सिफ्टमा काम गर्ने वातावरण पनि छैन । गुणस्तरीय विद्युत् नपुगेका स्थानमा रातिमा बत्ती बाल्दै काम गर्न सम्भव छैन ।

वरिष्ठ उपाध्यक्ष लामाका अनुसार ठूला परियोजनामा दुई वा तीन टिम नै खटाएर रात–दिन काम गराउन सकिन्छ । साना ठेक्कामा ‘पार्ट टाइम’ मोडेलमा थप सुविधा दिएर जनशक्तिलाई अतिरिक्त काममा लगाउन सक्ने अवस्था पनि छ ।

नेपालमा दुई सिफ्टमा काम गर्दा छिटो कार्यान्वयन भएको परियोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग एक हो । यस परियोजनामा जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले दुई सिफ्टमा काम गरेको थियो । यो परियोजना करिब सम्पन्न हुने चरणमा छ । यद्दपि, कोभिड महामारी, स्थानीयसँगको विवाद सहितका कारण तोकिएको समयमा भने यो आयोजना पनि पूरा हुन भने सकेन ।

निर्माण व्यवसायीका अनुसार सरकारले भने जस्तै सबै भूगोल र आयोजनामा भने दुई वा तीन सिफ्टमा काम गर्ने वातावरण पनि छैन । गुणस्तरीय विद्युत् नपुगेका स्थानमा रातिमा बत्ती बाल्दै काम गर्न सम्भव छैन ।

हिमाली र पहाडी भेगमा कार्यान्वयन भइरहेका आयोजनामा राति काम गर्नु जोखिमपूर्ण पनि हुन्छ । तल सडकको काम गर्दागर्दै माथिबाट पहिरो खस्न सक्ने जोखिम पनि हुन सक्छ । अर्कातर्फ, सबै मौसममा पनि यस्तो सम्भव नहुने महासंघ वरिष्ठ उपाध्यक्ष लामा बताउँछन् ।

‘कुनै रणनीतिक आयोजना छिटो सकौं भन्ने लक्ष्य छ भने सबै तागत त्यसमा केन्द्रित गर्ने र दिनरात काममा लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसका लागि राज्यले नै वातावरण बनाउनु पर्छ ।’

राष्ट्रिय प्राथमिकताका आयोजना

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here