आगामी बजेटमा स्थानीय र प्रदेशले पाउने समानीकरण अनुदान १ खर्ब ६१ अर्ब ३४ लाख
२९ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० मा केन्द्र सरकारबाट स्थानीय तह र प्रदेश सरकारले कुल १ खर्ब ६१ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउने भएका छन् । यसमध्ये सात वटा प्रदेशले कुल ६१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ र ७५३ वटा स्थानीय तहले १ खर्ब २३ करोड १३ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा सरकारले अनुदान रकम विनियोजन गर्नेछ ।
केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहबाट कुल चार प्रकारका अनुदान जान्छन् । जसमध्ये निश्चित सूत्रका आधारमा वित्तीय समानीकरण अनुदान दिने गरिन्छ । जसलाई स्थानीय तथा प्रदेश सरकारले आफ्नो स्वीकृत नीति तथा कार्यक्रम अनुसार विना शर्त खर्च गर्न सक्छन् ।
वित्तीय समानीकरण अनुदानको न्यूनतम सीमा २ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई आगामी आवमा स्थानीय तथा प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको हो । सो अनुसार यस वर्ष स्थानीय तहमा कम्तीमा पनि २ करोड ७५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार न्यूनतम अंकको वित्तीय समानीकरण अनुदान वितरण गर्दा मात्र कुल ७५३ स्थानीय तहका लागि २६ अर्ब ४५ करोड रुपैयाँ खर्च हुन्छ । न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस अनुदान सिफारिस गर्दा जनसंख्यालाई मूख्य आधार लिइएको छ ।
यस अनुसार १० हजार भन्दा कम जनसंख्या भएको स्थानीय तहले न्यूनतम २ करोड ७५ लाख रुपैयाँ पाउने छ । यसबाहेक आयोगले बनाउने सूत्रमा आधारित भएर तल्लो सरकारहरुले अनुदान पाउँछन् । सूत्र र न्यूनतम गरी एउटा स्थानीय तहले कम्तीमा पनि ६ करोड ७५ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
आगामी बजेटमा स्थानीय तहले पाउने न्यूनतम अनुदान
स्थानीय तहको जनसंख्या | स्थानीय तहको संख्या | न्यूनतम अनुदान (रु लाख) | जम्मा (रु लाखमा) |
१० हजारभन्दा कम | ४७ | २७५ | १२९२५ |
२० हजारसम्म | १९० | ३०० | ५७००० |
३० हजारसम्म | २०६ | ३२५ | ६६९५० |
४० हजार | १२० | ३५० | ४२००० |
५० हजारसम्म | ७३ | ३७५ | २७३७५ |
६० हजारसम्म | ४३ | ४०० | १७२०० |
७० हजारसम्म | २६ | ४२५ | ११०५० |
८० हजारसम्म | १४ | ४५० | ६३०० |
९० हजारसम्म | ९ | ४७५ | ४२७५ |
१ लाखसम्म | १ | ५०० | ५०० |
१ लाख १५ हजारसम्म | ७ | ५२५ | ३६७५ |
१ लाख ४० हजारसम्म | २ | ७७५ | १५५० |
१ लाख ५० हजारसम्म | ६ | ८२५ | ४९५० |
२ लाखसम्म | ३ | ८७५ | २६२५ |
३ लाखसम्म | ४ | १००० | ४००० |
५ लाखसम्म | १ | १०२५ | १०२५ |
५ लाखभन्दा बढी | १ | ११२५ | ११२५ |
कुल | ७५३ | २६४५२५ |
स्रोतः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
गण्डकी प्रदेशले न्यूनतम बढी बजेट पाउने
वित्तीय समानीकरण अनुदानमा प्रदेशतर्फ सबैभन्दा बढी न्यूनतम वित्तीय समानीकरण अनुदान गण्डकी प्रदेशले पाउने छ । सबैभन्दा कम भने कर्णाली प्रदेशले पाउने छ ।
न्यूनतम अनुदानमा कुल १५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ खर्च हुने छ । यसअनुसार प्रदेश र स्थानीय सरकारले आगामी आवमा कम्तीमा पनि ४१ अर्ब ८१ करोड ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो रकम सूत्रमा आधारित भएर पाउने रकम बाहेकको हो ।
प्रदेशमा कति जाने छ न्यूनतम अनुदान ? (रु. लाखमा)
प्रदेश | न्यूनतम अनुदान | सूत्रमा आधारित | कार्य सम्पादनमा आधारित | जम्मा |
प्रदेश नं १ | २८१८३ | ५८९१३ | २९८६ | ९००८२ |
मधेश | १८६४६ | ५६८२५ | २६८७ | ७८१५८ |
बागमती | २७४३६ | ५६८२५ | ३७५८ | ८४०४६ |
गण्डकी | १८८१८ | ५६७९३ | ३६६८ | ७९२७९ |
लुम्बिनी | २४१०८ | ५७८२८ | ३४८१ | ८४४१७ |
कर्णाली | १७९८९ | ८५९९१ | ३२८४ | १०७२६४ |
सुदूरपश्चिम | १८४०० | ६८५०१ | ३१७४ | ९००७५ |
कुल | १५३५८० | ४३७७०३ | २३०३८ | ६१४३२१ |
स्रोतः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान कति ?
जनसंख्या र भूगोलबाहेक आयोगले बनाएको सूत्रमा आधारित भएर समेत स्थानीय तथा प्रदेश सरकारले केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्छन् ।
आगामी आर्थिक वर्षमा यस्तो सूत्रमा आधारित भएर ७ वटा प्रदेश सरकारले कुल ४३ अर्ब ७७ करोड र कुल ७५३ स्थानीय तहमा ७० अर्ब ८ करोड ९९ लाख रुपैयाँ वित्तीय समानीकण अनुदान जाने छ ।
वित्तीय समानीकरण अनुदानको सूत्र बनाउँदा मानव विकास सुचकांक, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता समेत गर कुल ५ वटा शीर्षक हेरेर मूल्यांकन गरिन्छ ।
सूत्रलाई १०० अंकभार मानि मानव विकास सूचकांकलाई १०, आर्थिक सामाजिक असमानतालाई ५, पूवार्धार विकासको अवस्थालाई १०, राजस्वको अवस्थालाई ५ र खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमतालाई ७० प्रतिशत भार दिइएको छ । यसभित्र कार्यसम्पादन मूल्यांकनलाई समेत समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्