अर्थमन्त्रीले किन भने– ‘गम्भीर परिस्थिति आउँदैछ’

विष्णु पौडेलले ‘परिस्थिति गम्भीर छ’ भन्दै हुनुहुन्थ्यो, त्यहीबेला अध्यक्ष केपी शर्मा ओलीको हातमा एउटा चिट थमाइयो । त्यसपछि घडी हेर्दै उहाँले भन्नुभयो, ‘लौ उता मान्छे भेट्न आइसकेछन्, हिँड्नुपर्ने भयो !’ वैशाख २१ गते आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले हाइकमाण्ड बैठकको दृश्य हो यो ।
सरकारको नीति तथा कार्यक्रम केन्द्रित छलफलका लागि अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको थियो । तर, सार्वजनिक कार्यक्रम होस् या पार्टीका आन्तरिक छलफल– निर्धारित समयभन्दा निकै ढिलो पुग्ने प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एक घण्टा ढिला गरेपछि चार बजेबाट शुरु भयो । नीति तथा कार्यक्रममा सुझाव दिन भन्दै उहाँले समसामयिक राजनीतिक घटनाक्रमको संक्षिप्त ब्रिफिङ गरेपछि अर्थमन्त्रीको हैसियतमा उपाध्यक्ष विष्णु पौडेलको बोल्ने पालो आयो । छोटो भूमिका बाँधेर देशको अवस्था गम्भीर रहेकाले सुझाव दिन आग्रह गर्दै गर्दा बैठक कक्षमा फुत्त छिरेका एकजनाले अध्यक्ष ओलीको हातमा चिट थमाइदिए ।




अध्यक्ष ओलीका सहयोगी राजेश बज्राचार्य र केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीमध्ये कसले चिट ल्याएको हो भन्ने ठम्याउन नसकेको बैठक स्रोत खुलाउँदै भन्छ, ‘छलफल हुँदै थियो, उहाँ हतार छ भनेर निस्कनुभयो ।’ एक घण्टा ढिलो आएका अध्यक्षले एक घण्टा एक्लै बोलेर बैठक टुंग्याएपछि विष्णुले संकेत गरेको‘गम्भीर परिस्थिति’ बारे थप छलफल हुन पाएन ।
त्यसअघि नै शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामा, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनामाथिको निलम्बन फुकुवाबारे बैठकमा सामान्य चर्चा भएको थियो । सहभागी एकजना सचिवालय सदस्यका अनुसार विद्याले काम गर्न नसकेर राजीनामा दिएको विषयलाई अतिरञ्जित गर्दै आफूलाई अप्ठेरो पार्न खोजेको भनी अध्यक्ष ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको आलोचना गर्नुभयो । उक्त कुरालाई लिएर दुई जनाबीच केहीबेर भनाभनसमेत भएको कुरा त छरपष्टै छ ।
निलम्बनमा परेका तर अहिलेसम्म आधिकारिक पत्र नपाएका नेत्रीद्वय विन्दा र उषाकिरणलाई जिम्मेवारीमा फर्काउनेबारे बैठकमा कुरा उठ्यो । महासचिव शंकर पोखरेलले ६ महिनाका लागि निलम्बनमा परेका उनीहरूको अवधि सकिएकाले फुकुवा गर्ने प्रस्ताव राख्दा अध्यक्ष ओलीले अर्को बैठकमा निर्णय हुने बताउनुभयो । जबकि नयाँ वर्षको भोलिपल्ट वैशाख २ गते विन्दालाई बालुवाटारमा बोलाएर एक घण्टा एकल भेटवार्ता गर्नुभएका उहाँले निलम्बन फुकुवा गर्ने संकेत दिनुभएको थियो ।
त्यसदिन निलम्बनको औपचारिक पत्र नपाएको विषय उठ्दा उहाँले महासचिव शंकरको कार्यक्षमतामाथि प्रश्न उठाउँदै भन्नुभएको थियो, ‘खै कस्तो कार्यालय हो, के गरेको हो यस्तो !’ शंकरलाई दोष दिए पनि सचिवालयका बहुमत सदस्य कारवाहीको विपक्षमा रहँदा रहँदै उहाँकै जोडबलमा गरिएको कारवाहीको औपचारिक पत्र अहिलेसम्म दिइएको छैन ।
सचिवालयका बहुमत सदस्यले कारवाहीको विपक्षमा मत राख्दा ओली स्वयंले शंकरलाई माइन्युटमा के–के लेख्ने भनेर टिपाउनुभएको थियो । पहिले आफैँले पेलेर निर्णय लेखाएका अनि पछिल्लो पटक विन्दासँगको भेटमा अर्कै कुरा गरेका अध्यक्ष ओली आइतबारको बैठकमा शंकरले नै प्रस्ताव ल्याउँदा पनि कारवाही फुकुवा गर्न तयार नहुनुलाई नेताहरूले आ–आफ्नै हिसाबले व्याख्या–विश्लेषण गरेका छन् ।
‘हतारमा भएकोले हो कि किन हो उहाँ (अध्यक्ष)ले आज निर्णय हुँदैन भन्नुभयो । सायद विन्दा र उषालाई जिम्मेवारीमा फर्काइहाल्ने पक्षमा उहाँ हुनुहुन्न’, उनै सचिवालय सदस्य भन्छन् । सचिवालय बैठकमा सत्ता गठबन्धन र कांग्रेसभित्रको असन्तुष्टिबारे पनि सामान्य चर्चा भयो । गठबन्धनको भविष्यलाई लिएर अघिल्ला केही बैठकमा तनावमा देखिने गर्नुभएका ओली आइतबार हँसमुख ढंगले प्रस्तुत हुनुभएको थियो । कांग्रेसभित्र केही नेताले असन्तुष्टि जनाए पनि सत्ता समीकरणमा कुनै असर नपर्ने उहाँले बताउनुभयो ।
सरकारको आलोचना गरिरहेका महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीको नामै लिएर भन्नुभयो, ‘अलिअलि कांग्रेसका नेताले विरोध गरेका छन्, तर त्यसले समीकरणमा असर पर्दैन ।’ नुवाकोटे सांसद केसीले नीति तथा कार्यक्रममा आशावादिता नरहेको टिप्पणी गरेका थिए । ‘जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ, ‘ राष्ट्रपतिले नीति तथा कार्यक्रम पढेलगत्तै संसद भवनबाहिर उनले यस्तो प्रतिक्रिया दिएका थिए ।
अध्यक्ष ओलीको भावभंगी र हाउभाउले पनि सरकारमाथिको सम्भावित संकट टरेको अनुमान नेताहरूले गरेका छन् ।’अघिल्लो (वैशाख १ गते) बैठकमा भन्दा यसपाली उहाँ निकै फ्रेस हुनुहुन्थ्यो’, यसलाई राजनीतिक अवस्था संग्लेको अर्थ लगाउने एक सचिवले परिस्थिति एमाले अनुकूल हुँदै गएको विश्लेषण सुनाए ।
‘दुर्गा प्रसाईं पक्राउ परेकै कुरा भयो, रवि जेलमा पुगिहाले । राजावादी आन्दोलन उनीहरूकै कारण धरापमा परिसक्यो । उपमेयर सुनिता डंगोलको अस्तिको भाषणले बालेन पनि साइजमा आउँदै छन्’, उनी भन्छन्, ‘जसलाई चुनौती ठानेको हो उनीहरू नै तह लागेको स्थितिले अब झगडा गर्नुपर्ने को छ र भन्ने खालको मुड देखिन्थ्यो !’ देउवाले आश्वासन दिएकाले आत्मविश्वास बढेको हुनसक्ने ती नेताको अनुमान छ ।
अघिल्ला बैठकहरूमा भारतको नाम उच्चारण नगरी देशी–विदेशी षड्यन्त्रको चर्चा गर्ने प्रधानमन्त्री तथा अध्यक्ष ओली यसपटक भने त्यसरी प्रस्तुत हुनुभएन । यसै साता नेपाल भ्रमण गरेर फर्किएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँगको भेटवार्ताबारे अध्यक्षबाट ब्रिफिङको आशा केही नेताले गरेका थिए । बैठक लामो चलेको भए सोधखोज गर्ने तयारी पनि थियो । तर, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार फर्किने हतारोमा रहेका अध्यक्षले एक घण्टामै बैठक सकेपछि त्यो अवस्था रहेन ।
प्रतिक्रिया दिनुहोस्