अमेरिकासँग वार्ता रोकेको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय
इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावको आदानप्रदान रोकेको छ । इरानको अर्धसरकारी समाचार संस्था तस्निमले कुरा जनाएको हो ।
‘गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,’ इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्न लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।
इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’ लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ।
इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालको एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताएका छन् ।
इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको जिकिर गरेका छन् ।
यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताए ।
इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेन ।
बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए ।
इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हेजबुल्लाह लडाईं रोक्न सहमत भएको बताएका छन् ।
ट्रम्पले भनेका छन्( इजरायलका प्रधानमन्त्री बीबी नेतान्याहूसँग मेरो धेरै उत्पादक कुराकानी भयो, र बेरुतमा कुनै पनि सेना जाने छैन, र बाटोमा रहेका कुनै पनि सेनालाई पहिले नै फिर्ता पठाइसकिएको छ ।
इरानले वार्ता रोकेको बारेमा आफूलाई जानकारी नभएको उनको जिकिर छ ।






प्रतिक्रिया दिनुहोस्