अमेरिकाले लगायो बंगलादेशविरुद्ध प्रतिबन्ध
२६ मंसिर, बीबीसी । अमेरिकी अर्थ मन्त्रालयको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी)ले बंगलादेशको सुरक्षा बल र्यापिड एक्सन बटालियन (आरएबी) र केही सुरक्षा अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
बंगलादेशले अमेरिकी निर्णयमाथि ठूलो असन्तुष्टि जनाएको छ । शुक्रबार बंगलादेशले यस विषयमा बुझ्न ढाकास्थित अमेरिकी राजदूतलाई बोलायो ।
अमेरिकाको अर्थ मन्त्रालयको ओएफएसीले शुक्रबार केही देशका १० संगठन र १५ व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो, जसमा बंगलादेशलाई पनि सामेल गरिएको थियो । मानवअधिकार हनन र उत्पीडनमा सहभागी भएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अमेरिकाले बंगलादेशसहित चीन, रुस, म्यानमार र उत्तर कोरियामाथि ‘गम्भीर मानवअधिकार हनन’को लागि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाले आरएबीसँगसँगै यसको पूर्वप्रमुख एवं बंगलादेशका वर्तमान प्रहरी प्रमुख बेनजीर अहमद र आरएबीका वर्तमान प्रमुख चौधरी अब्दुल्ला अल मानूनसहित केही अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
यस प्रतिबन्धका कारण अब ती व्यक्तिलाई अमेरिकाको भिसा मिल्ने छैन भने उनीहरूको सम्पत्ति अमेरिकामा भएको भए त्यो सम्पत्ति जफत गरिनेछ ।
बंगलादेशको विरोध
यो निर्णय हुनेबित्तिकै बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनले अमेरिकाका राजदूत अर्ल आर मिलरलाई बोलाए ।
शनिबार ढाकाको एक कार्यक्रममा एक पत्रकारको प्रश्नको जवाफमा विदेशमन्त्री मोमिनले भने, “आज बिहान हामीले अमेरिकी राजदूत बोलाएका थियौँ ।
मेरा विदेशसचिवले छलफल गरे । यसखालको घटना भयो र यो हाम्रो लागि एकदमै अचम्म लाग्दो छ ।”
उनीसँगै उपस्थित भएका विदेशसचिव मसूद मोमिनले यसमाथि कुनै टिप्पणी गर्न अस्वीकार गरेका थिए । यद्यपि, विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रहरी र आरएबीका प्रमुखमाथि प्रतिबन्ध लगाइएको विषयप्रति बंगलादेशले अमेरिकी राजदूत अर्ल आर मिलरसामु आफ्नो असन्तुष्टि व्यक्त गरेको जनाएको छ ।
विज्ञप्तिमा राजदूत मिलरले विदेशसचिवसँग बंगलादेश सरकारको चिन्ताको बारेमा आफ्नो सरकारलाई बताउने भनेको उल्लेख गरिएको छ ।
अंग्रेजी अखबार ‘द हिन्दू’का अनुसार बंगलादेश सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, “विदेशसचिवले अमेरिकाको निर्णयमाथि खेद व्यक्त गर्नुभएको छ ।
यस्तो निर्णयले जसले सरकारको एक निकायलाई कमजोर बनाउँछ, त्यस्तो निकाय जो आतंकवाद, लागुऔषध तस्करी र अन्य जघन्य अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न सधैँ अगाडि रहिरहेको छ । यस्ता अपराधविरुद्ध लड्नु अमेरिकी प्रशासनको साथ साझा प्राथमिकता मानिएको थियो ।”
बंगलादेश सरकारले आफ्नो विज्ञप्तिमा यो निर्णय ‘एकतर्फी’ र ‘बिनाकुनै सूचना’ लिइएको जनाएको छ ।
बंगलादेशका विदेशमन्त्रीले अरू के–के भने ?
ढाकामा एक कार्यक्रमका क्रममा विदेशमन्त्री मोमिनले पत्रकारसँग यस प्रतिबन्धको बारेमा कुराकानी गरे ।
बंगलादेशका प्रहरी प्रमुख र आरएबीमाथि मानवअधिकार हननको आरोपमा प्रतिबन्ध लगाइएको बारेमा सोधिएको एक प्रश्नको जवाफमा विदेशमन्त्रीले भने, “यो एकदमै दुःखद कुरा हो । केही गैरसरकारी संस्था (एनजीओ) र मानवअधिकार समूहले गुनासो गरेका थिए ।”
यसपछि विदेशमन्त्री मोमिनले अमेरिकामाथि निसाना साधे र ‘अमेरिकामा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुन्छन्, तर यो कसरी हुन्छ अमेरिकी सरकारलाई थाहा छैन’ भनी दाबी गरे ।
अमेरिकी प्रहरीले हरेक वर्ष ‘डिउटीमा हुँदा हजारौँ मानिसलाई मार्ने गरेको दाबी गर्दै उनले भने, “अमेरिकालाई यसको बारेमा सूचित गराउनुपर्थ्यो । अमेरिकामा ६० लाख मानिस गायब हुँदा कुनै पनि राष्ट्रले उसलाई सजाय दिएको छैन । मानिसलाई देखाउनको लागि यो खराब प्रयास हो । यो एकदमै दुःखद हो ।
अमेरिकाजस्तो विकसित र परिपक्व देशले यस्तो कदम उठायो जुन अपरिपक्व छ । धेरै देशमा उसको निर्णय कसैको लागि पनि ठिक छैन, यहाँसम्म कि अमेरिकी जनताको लागि पनि ।
वास्तवमा विकासशील देशमा त्यहाँका सरकारहरू जनताको भलाइका लागि राम्रो काम गरिरहेका छन् र उनीहरूमाथि प्रायः हमला गर्ने गरिन्छ । राम्रो काम गरेमा समस्या हुन्छ । धेरै देशहरूमा मानिसहरू सन्तुष्ट हुनछन् ।”
गृहमन्त्री पनि बोले
बंगलादेशका गृहमन्त्री असदुज्जमा खानले यी प्रतिबन्धबारे सिधा रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, उनले आरएबीसँग जोडिएको कथित मानवअधिकार उल्लंघन र गोलाबारीको मामिलामाथि बोलेका छन् । आरएबी उनको मन्त्रालयअन्तर्गत पर्छ ।
उनले बंगलादेशमा कुनै पनि व्यक्ति जानी बुझिकन गोलाबारीको सिकार नबनेको बताए । ढाकाको एक कार्यक्रममा उनले भने, “हाम्रो प्रणाली सुन्दर छ । कसैले जानाजानी वा उद्देश्यविहीन फायरिङ गर्न सक्दैन ।
हामीलाई लाग्छ कि यी घटनाहरूको पछाडि कुनै राम्रो कारण हुनुपर्छ । अमेरिकी प्रतिबन्धको मुद्दालाई नहेरिकन केही पनि टिप्पणी गर्न सकिँदैन । यी प्रतिबन्धका कारणहरू दुर्घटना वा लापरबाही थियो कि भनेर न्यायिक अनुसन्धान आवश्यक छ ।”
गृहमन्त्रीले आतंकवादीले हतियारले गोली चलाउँदा सुरक्षाकर्मीले जनताको ज्यान जोगाउन गोली चलाउने बताए । “तर, यो कति आवश्यक थियो त्यो अनुसन्धानको विषय हो । अहिले किन यो (प्रतिबन्ध) लगाइएको हो र यसको उद्देश्य के हो थाहा छैन ।”
अमेरिकाले किन लगायो प्रतिबन्ध
अमेरिकाले बंगलादेशको विशेष सुरक्षा बल (आरएबी) र यससँग सम्बन्धित अधिकारीहरूलाई ‘गम्भीर मानवअधिकार उल्लंघन’मा संलग्न भएको आरोपमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, “बंगलादेश सरकारको लागुऔषधविरुद्धको लडाईंको क्रममा, बंगलादेशमा र्यापिड एक्सन बटालियन (आरएबी)द्वारा गम्भीर मानवअधिकार उल्लंघनको आरोप लगाइएको छ ।
कानुनको शासन, मानवअधिकारको सम्मान, मौलिक स्वतन्त्रता र बंगलादेशी जनताको आर्थिक समृद्धिलाई बेवास्ता गर्नु अमेरिकी राष्ट्रिय सुरक्षा हितका लागि खतरा हो ।”
सन् २००४ मा संयुक्त कार्य बल आरएबी गठन भएको थियो । यी प्रतिबन्धहरू यसका पूर्वमहानिर्देशक बेनजीर अहमदसहित ६ वरिष्ठ प्रहरी अधिकारीमाथि लगाइएको छ ।
बेनजीर अहमदलाई गत वर्ष बंगलादेशको प्रहरी महानिरीक्षक बनाइएको थियो । आरएबीमा आफ्नो कार्यकालमा उनी देशमा आतंककारी समूहविरुद्धको अभियानमा अग्रपंक्तिमा थिए । उनको नेतृत्वमा आईएसआईएसप्रेरित जेएमबी आतंककारीहरूविरुद्ध अभियान चलाइएको थियो ।
२०१६ जुलाईमा ढाकाको होेली आर्टिसन बेकरीमा बन्धकहरूलाई उद्धार गर्ने अभियानमा २० जना मारिएका थिए ।
अमेरिकी अर्थ मन्त्रालयले एक विज्ञप्तिमा बेनजीर अहमदको ‘घृणित मानवअधिकार उल्लंघन’मा संलग्नताले उनलाई अमेरिका प्रवेश गर्न अयोग्य बनाएको जनाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार बंगलादेशविरुद्ध यी प्रतिबन्धहरू ठूलो मात्रामा गैरसरकारी संस्थाहरूको आरोप र रिपोर्टका आधारमा लगाइएको हो ।
विज्ञप्तिका अनुसार, “एनजीओले आरएबी र बंगलादेशी कानुनी एजेन्सीहरू २००९ यता ६०० भन्दा बढी व्यक्तिहरू बेपत्ता हुनुमा जिम्मेवार भएको आरोप लगाएको छ ।
उनीहरू २०१८ यता ६०० अतिरिक्त न्यायिक हत्या र यातनाको लागि पनि जिम्मेवार छन् । धेरै रिपोर्टमा यस्ता घटनाहरूमा विपक्षी दलका सदस्य, पत्रकार र मानवअधिकार कार्यकर्ताहरूलाई पनि निसाना बनाइएको छ ।” बीबीसी हिन्दीबाट ।
प्रतिक्रिया दिनुहोस्