अन्नपूर्ण केबलकारको परीक्षण केही दिनमा

११ मंसिर, पोखरा । पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ सदस्यीय प्राविधिक टोलीले धमाधम काम गरिरहेको निर्देशक त्रिपाठीले जनाए ।

frontline

उनले भने, “अब हामीले अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेब्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।”

परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले केही दिनपछि लोड परीक्षण गरी छिटै व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्ने उनले जनाए । अत्याधुनिक प्रविधिमा आधारित उपकरण जडान भएकोले पूर्ण सुरक्षित हुने प्राविधिक इन्चार्ज कायस्थले दाबी गरे ।

करिब डेढ वर्षमा निर्माण कार्य सक्ने योजनाका साथ उक्त केबलकारको शिलान्यास गरिए पनि पहिलाको डिजाइनमा स्टेशनसहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले उक्त परियोजना लम्बिएको र लगानी पनि करिब २ अर्ब पुग्ने भएको निर्देशक त्रिपाठीले बताए ।

२.४ किलोमिटर दूरीमा १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन्। प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ ।

उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिँदै आएको छ भने व्यावसायिक रुपमा केबलकार सञ्चालन भएसँगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिने भएको छ ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफूहरुले विकास गर्न खोजेको त्रिपाठीले बताए ।

केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउँदै आएका छन्।

माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने उनले जनाए । 

अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्कः ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको समेत व्यवस्था गरिने निर्देशक त्रिपाठीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here