अध्यक्ष यादवद्धारा जसपा कार्यकारिणी समिति बैठक आह्वान, महत्वपुर्ण निर्णय लिने संकेत
फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्न भन्दै भोलिको लागि बैठक बोलाएको बुझिएको छ ।
पार्टी लगभग विभाजन भइसकेपछि अध्यक्ष यादवले बोलाएको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । कार्यकारिणी समिति सदस्यहरुलाई अध्यक्ष यादवले पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भई दिनुहुन लागि अनुरोध गरिन्छ।’
बैठक भोलि (बुधबार ) साँढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ। अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्व लागेको भए पनि अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी विभाजन गरेर सरकारमा जानुभएको छ । जसपा दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गर्दै निर्वाचन आयोगसम्म पुगेको थियो। तर, दुवै समुहको कारबाहीलाई बदर गरेर पार्टीको पुरानो पदाधिकारी नै कायम राख्ने निर्णयप्रति अध्यक्ष यादव पक्ष असन्तुष्ट बनेको छ।
आयोगको निर्णयप्रति प्रश्न उठाउँदै यादव पक्षिय नेताहरु कानुनी उपचारको लागि सर्वोच्च अदालत जानेसम्मको तयारी गरिरहेका छन्। तर, अध्यक्ष यादवसहित संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईले आज कानुनविद्हरूसँग समेत छलफल गरेका छन्। अदालत जाने तयारीमा रहेको बेलामा कानुनविदहरूले फेरि एकपटक निर्वाचन आयोगमै जान सुझाव दिएका छन्।
संसदीय दलमा ठाकुर पक्षको बहुमत रहे पनि कार्यकारिणी समितिमा अध्यक्ष यादव समूहको बहुमत छ। सरकार गएका नेताहरूलाई बहुमतको कार्यकारिणी समितिको बैठक राखेर अध्यक्ष यादवले ७ दिनको स्पष्टीकरणसमेत सोधिसक्नुभएको छ ।






प्रतिक्रिया दिनुहोस्