अघिल्लो दिन लागेको थियो अमेरिकाको भिसा, युवती भेट्न जाँदा परे हनीट्रयापमा

कलंकीस्थित एक होटलको ४०२ नम्बर कोठामा दुई युवतीसहितको गिरोहबाट धम्की खेपेपछि ती युवकले ३ लाख ६३ हजार रकम ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • युवती र युवतीलाई हनीट्रयापमा पारेर रकम असुलेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले प्रहरीको भेष धारण गरी डर देखाउँदै रकम लिएको पुष्टि भएको छ।
  • सविनले ३ लाख ६३ हजार रुपैयाँ ट्रान्सफर गरेपछि घटना खुलासा भएको हो र प्रहरीले ८ जना पक्राउ गरेको छ।
  • प्रहरीले मोबाइल, मोटरसाइकल र नगद सहित पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छ।

२९ वैशाख, काठमाडौं । विगत डेढ महिनादेखि सविन (नाम परिवर्तन) सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् सक्रिया खनियाँ नाम गरेकी युवतीसँग सम्पर्कमा थिए ।

काठमाडौंको टोखा बस्ने गरेको बताउने सक्रियाले सुरुमा ‘आफू राम्रो युवकको खोजीमा’ रहेको बताएकी थिइन् ।

उनीहरूबीच दिन प्रतिदिन अन्तरंग कुराकानी चल्न थाल्यो । सञ्जालबाटै भर्चुअल रुपमा माया–प्रेमको कुराकानीहरू हुन थाल्यो । कुराकानीकै सिलसिलामा प्रत्यक्ष भेटघाट गर्ने सहमति जुट्यो । विशेषगरी युवतीको अनुरोधपछि सविन पनि सक्रियालाई भेट्न तयार भए ।

त्यसपछि काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीस्थित एक होटलमा उनीहरूबीच भेटघाट गर्ने निधो भयो ।

सहमति अनुसार, सविन आफ्ना साथी लिएर गत शनिबार (२७ वैशाख) उक्त होटलमा पुगे । उता पूर्वयोजनाअनुसार सक्रिया पनि कविता राई नाम गरेकी अर्की युवती लिएर

होटलमा पुगिसकेका थिए । प्रहरी अनुसन्धानका अनुसार, उनीहरू होटलको ४०२ नम्बर कोठामा भेला भए ।

केहीबेरमा होटलको ढोकामा केही व्यक्तिले ढकढक्याए । ‘आफूहरू प्रहरी’ भन्दै ढक–ढक गरेपछि युवतीहरूले ढोका खोलिदिए ।

ती युवाहरू प्रहरी भन्दै भित्र प्रवेश गरे । लगत्तै उनीहरूले डरत्रास देखाउन थालेको सविनले प्रहरीसमक्ष बताएका छन् ।

डरत्रास देखाएर लुटपाट घटनामा पक्राउ परेकाहरू (तस्वीर : काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय)

जेलभित्रै फसाइदिनेसम्मका धम्की दिए । सादा पोशाकको प्रहरी भएको उनीहरूले बताए । मोबाइलमा जुवासम्बन्धी एप डाउनलोड भएकाले जुवामा समेत फसाउने उक्त गिरोहले डर देखायो ।

यो पनि पढ्नुहोस

होटलमा डरत्रास देखाएर लुटपाट, ८ आरोपित पक्राउ 

सविनको २६ वैशाखमा मात्रै अमेरिकाको भिसा लागेको थियो । अमेरिकाको भिसा लागेको भोलिपल्टै सविन समस्यामा परे । आफ्नो अमेरिका यात्रासमेत रोकिनसक्ने सोचेर सविन रकम हाल्न तयार भए । मोबाइल वालेटबाट आफूसँग भएको ३ लाख ६३ हजार रुपैयाँ यो गिरोहको खातामा ट्रान्सफर गरे ।

त्यहाँबाट उम्किएपछि सविनलाई घटनाबारे शंका लाग्यो । लगत्तै, उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । उजुरीपछिको अनुसन्धानका क्रममा प्रहरीले दुई महिलासहित ८ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई हिजो (आइतबार) प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरूबाट प्रहरीले ९ थान मोबाइल, रोयल इन्फिल्ड मोटरसाइकल, नगद ५२ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–२ घर भइ काठमाडौं ठमेल बस्ने २४ वर्षीय अनिश केसी, चितवनको भरतपुर महानगरपालिका–१८ घर भई ठमेल नै बस्ने २५ वर्षीय अतित क्षेत्री, भरतपुर महानगरपालिका–१९ घर भइ ठमेल नै बस्ने २४ वर्षीय सन्दिप विक, नवलपुर दिपचुली नगरपालिका–१६ घर भई ठमेल नै बस्ने २३ वर्षीय सन्दिप परियार, नवलपुर गैंडाकोट नगरपालिका–११ हर्कपुर घर भई ठमेल बस्ने २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, भरतपुर महानरपालिका–१० घर भई ठमेल बस्ने २२ वर्षीय बादल तामाङ, लमजुङको उदिपुर नगरपालिका–२ घर भइ टोखा बस्ने १९ वर्षीया सक्रिया खनिया र सुनसरीको धरान उपमहानरपालिका–१७ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीया कविता राई छन् ।

प्रहरीको अनुसन्धानका अनुसार, विक र मल्ल ठकुरी मुख्य नाइके हुन् । उनीहरूकै योजना अनुसार अन्य उक्त कार्यमा सरिक भएका थिए ।

सन्दिप विक र विवेक मल्ल ठकुरी, जो याे घटनाका मुख्य नाइके रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ (तस्वीर : काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय)

तीमध्ये सक्रिया र कविता युवकलाई हनीट्रयापमा पार्न प्रयोग भएका युवतीहरू रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्य बताउँछन् ।

सविनको इन्स्टाग्राममा सक्रियासँग कुराकानी भएको थियो । उनैले भेट्न बोलाउँदै आफू साथी लिएर आउने बताएका थिए । त्यसपछि सविन पनि साथी लिएर होटलमा पुगेका थिए ।

हनीट्रयापमा पारेर बोलाएपछि पूर्वयोजनाअनुसार युवकलाई बोलाएर ‘प्रहरी भन्दै’ थर्काएर रकम असुलेको पाइएको हो ।

सविनले प्रहरीलाई दिएको बयान अनुसार, उनले ३ लाख मोबाइल वालेटबाट ट्रान्सफर गरेका थिए । बाँकी ६३ हजार रकम भने नगद दिएको अनुसन्धानबाट खुलेको छ ।

पूर्वयोजनाअनुसार काम फत्ते भएपछि युवायुवतीसँगै होटलबाट निस्केका थिए । पक्राउ परेकाहरूबाट प्रहरीले ९ थान मोबाइल, रोयल इन्फिल्ड मोटरसाइकल, नगद ५२ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई डाँका चोरी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।

अमेरिका भिसा हनीट्रयाप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here