भोटेकोशी बाढी : नवलपुरमा ६२ शव भेटिए
नवलपुर: भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ६२ वटा शव तथा मानव अंगहरू नवलपुरका विभिन्न तटिय क्षेत्रमा भेटिएका छन् । बाढीले बगाएर ल्याएका शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको तथ्याङ्क अनुसार नवलपुर क्षेत्रमा ५३ वटा शव र ९ वटा मानव अंग गरी कुल ६२ वटा शव तथा अंग फेला परेका छन्। जसमा २७ पुरुष, १६ महिला, ७ बालिका र ३ बालकका शव रहेका छन् भने अन्य ९ वटा केही अंगहरू मात्रै फेला परेका हुन्।
फेला परेका शवहरूमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिका क्षेत्रमा ३८ वटा, मध्यविन्दु नगरपालिकामा १० वटा, विनयी त्रिवेणी गाउँपालिकामा ८ वटा र देवचुली नगरपालिकामा ६ वटा रहेका छन्। कावासोती नगरपालिका क्षेत्रमा भने हालसम्म कुनै शव फेला परेको छैन।
हाल फेला परेकामध्ये नगर अस्पताल गैंडाकोटमा १२ पुरुष, ३ महिला, ४ बालिका, १ बालक र ६ वटा अंग गरी कुल २६ वटा शव तथा अंगहरू परीक्षण र पहिचानका लागि राखिएका छन्। बाँकी ३६ वटा शवहरू घटनास्थल तथा नदी किनार क्षेत्रमै सुरक्षा निकायको नियन्त्रणमा रहेका छन्।
नारायणी नदी किनार क्षेत्रमा अझै पनि शवहरू फेला पर्ने क्रम जारी रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालयले आफ्ना आफन्त हराइरहेका परिवारहरूलाई पहिचानका लागि नजिकैको सुरक्षा निकाय वा नगर अस्पताल गैंडाकोटमा सम्पर्क गर्न आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्