भोटेकोशी बाढी : गोरखाका ५७ जना बढी बेपत्ता

गोरखा : बुधबार बिहान भोटेकोशीको बाढीमा परेर गोरखाका कम्तीमा ५७ जना बेपत्ता भएका छन् । विभिन्न पालिकाबाट कामको सिलसिलामा तथा तीर्थयात्राका लागि रसुवा,नुवाकोट गएकाहरू सम्पर्कविहीन भएको पालिका प्रमुखहरूले जानकारी दिएका छन् । 

प्राप्त जानकारीअनुसार हालसम्म पालुङटार नगरपालिकाका ३१ जना, सहिदलखन गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिकाका ४ जना, भिमसेनथापा गाउँपालिकाका ३ जना, बारपाकसुलिकोट गाउँपालिकाका ६ सिरानचोक गाउँपालिकाका २ र आरुघाट गाउँपालिकाका ३ जना बेपत्ता भएका छन् ।

frontline

सम्पर्कविहिन भएकाको सूचना आउनेक्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं। ४ र ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका ३१ यात्रुहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् । ग २ ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्य ६ जना झ्यालबाट हामफालेर ज्यान जोगाएको र बाँकीको अवस्था भने बिहीबारसम्म अज्ञात रहेको उनले जानकारी दिइन् । 

रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका ७ जना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत वडा नं १ का एकजना, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युतको काम गर्ने वडा नं ६ का एकजना, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ्ग व्यवसायी र वडा नं ८  का दुईजना  ट्रेकिङ्ग व्यवसायीहरु सम्पर्कबिहीन छन्’,थापाले भने ।  

धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका चारजना पनि भोटेकोशीको बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन् । लाप्राक घर भई रसुवामा शसस्त्र प्रहरीमा कार्यरत एकजना र अल्पाईन इको ट्रेकिङ्ग कम्पनीबाट पर्यटकको सहयोगी बनेर गएका तीनजना मजदुर बेपत्ता भएका गुरुङले जानकारी दिए । 

भिमसेनथापा गाउँपालिकाका तीनजना नागरिकहरु रसुवा बाढीमा परेर सम्पर्कबिहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । भिमसेनथापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एकजना र वडा नं ६ र वडा नं। १ का एकेक जना पर्यटन व्यवसायीहरुको अवस्था अज्ञात रहेको उनको भनाइ छ । 

बारपाक सुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताए । बारपाक सुलिकोट–४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर हुन् । उनका अनुसार वडा नं ३ र ६ का एकेक जना पर्यटन मजदुर पनि बाढीमा परेर सम्पर्कविहिन भएका छन् । ‘वडा नं ५ को पनि एकजना बेपत्ता छन् भन्ने खबर आएको छ । उनी अपर त्रिशुली हाइड्रोपावरमा काम कार्यरत थिए’,’उनले भने । 

यस्तै, सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना नागरिकहरु रसुवाको बाढीपछि सम्पर्कबिहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिए । सिरानचोकको वडा नं ८ र वडा नं ५ का १÷१ जना सम्पर्कविहीन छन् । उनीहरू रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए । 

‘पर्यटक लिन स्याप्रुबेसी पुगेका आरुघाट वडा नं ९ का एक ड्राइभर सम्पर्कबिहीन छन्’, पालिका अध्यक्ष राजु गुरुङले भने,‘अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने र वडा नं ८ को एकजना पनि बेपत्ता छन् भन्ने खबर आएको छ । हामीले उनीहरूको अवस्थाबारे बुझ्ने कोशिस गरिरहेका छौँ ।’ 

यसैगरी गण्डकी गाउँपालिकाका एकजना पनि बेपत्ता रहेको जनाइएको छ। बुधबार बिहान ९ बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here