छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादन गर्ने विषयमा अदालतको मुख्य ध्यान रहेको बताएका छन्।

छिटो न्याय दिन सके मात्र जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै उनले पुराना मुद्दा शून्यमा झार्नुपर्नेमा जोड दिएका हुन् ।  

frontline

अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको स्थिति बुझ्ने क्रममा उच्च अदालत पोखरा बागलुङ इजलासमा पुगेका प्रधानन्यायाधीश शर्माले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे। उनले हालै ७९ करोड रुपैयाँ लागतमा निर्माण भई सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरे।

उच्च अदालत बार एकाइ बागलुङका अधिवक्ताहरूसँगको छलफलमा उनले न्यायसम्बन्धी जनचेतना फैलाउन कानुन व्यवसायीको ठूलो भूमिका रहने उल्लेख गरे। सकभर जिल्ला अदालतबाटै मुद्दाको टुङ्गो लगाउन सके जनतालाई सहज हुने भन्दै उनले भने, ‘दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ। जनताले छिटो न्याय पाए मात्र न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ।’

देशभर बालविवाह, सम्बन्धविच्छेद र जबर्जस्ती करणीजस्ता मुद्दा बढ्नु चिन्ताजनक रहेको उनले बताए। अदालतलाई प्रविधिमैत्री बनाएर समयमै न्याय दिने प्रणाली विकास गर्न थालिएको उनले जानकारी दिए।

जिल्ला अदालत बागलुङमा पछिल्ला वर्षमा मुद्दा फछ्र्योटको दरमा सुधार आएको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्ला अदालत बागलुङले कुल मुद्दाको लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै बाँकी मुद्दाको सङ्ख्या १९७ मा झारेको छ, जुन पाँच वर्षयताकै थोरै हो।

प्रधानन्यायाधीश डा शर्माले बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरमा पुगेर पूजाआजासहित दर्शन समेत गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here