इरानी राष्ट्रिय फुटबल टोलीमाथि लगाइएको यात्रा प्रतिबन्ध तत्काल नहटाउने

अमेरिकी सरकारले विश्वकप खेलका लागि आएको इरानी राष्ट्रिय फुटबल टोलीमाथि लगाइएको यात्रा प्रतिबन्ध तत्काल नहटाउने जनाएको छ।

टोलीले यस विषयमा विश्व फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दिने चेतावनी दिए पनि हालको व्यवस्था यथावत् रहने अमेरिकी अधिकारीहरूले बताएका छन्।

frontline

विश्वकपका लागि गठन गरिएको ह्वाइट हाउस कार्यदलका कार्यकारी निर्देशक एन्ड्रु जुलियानीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै इरानी टोलीको यात्रा व्यवस्थाको निरन्तर समीक्षा गरिने भए पनि अहिलेका लागि पूर्वनिर्धारित योजना नै लागू रहने बताए।

हालको व्यवस्थाअनुसार इरानी टोली खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा बढी समयअघि अमेरिका प्रवेश गर्न पाउँदैन। साथै खेल सकिएलगत्तै टोलीले आफ्नो प्रशिक्षण शिविर रहेको मेक्सिकोको तिजुआना फर्किनुपर्छ।

इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई “सम्पूर्ण विश्वकपकै सबैभन्दा बढी पीडित टोली” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

गत साता न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोली विरुद्धको पहिलो खेलपछि इरानी प्रतिनिधिमण्डल खेल समाप्त भएको केही घण्टामै अमेरिका छाडेर मेक्सिको फर्किएको थियो।

स्थानीय समयअनुसार राति करिब ८ बजे खेल सकिएपछि टोलीलाई आरामका लागि होटलमा एक रात बस्नसमेत नदिइएको भन्दै अमेरिकी भिसा व्यवस्थापनको आलोचना भएको थियो।

घालेनोईले टोलीले खेलपछि क्यालिफोर्नियामै रात बिताएर खेलाडीहरूको शारीरिक पुनःस्थापना प्रक्रिया पूरा गर्ने अपेक्षा गरेको बताएका थिए।

यसैबीच, इरानी विङ्गर मेहदी तोराबीको प्रवेशाज्ञा (भिसा) पहिलो खेलपछि समाप्त भएपछि अर्को विवाद उत्पन्न भएको थियो। तर टोलीका अधिकारीहरूले उनलाई पुनः बहुप्रवेश अनुमति भएको नयाँ भिसा उपलब्ध गराइएको पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले पनि यो समस्या समाधान भइसकेको जनाएको छ।

यही यात्रा प्रोटोकल आज मध्यरातमा बेल्जियमविरुद्ध हुने इरानको दोस्रो खेलमा पनि लागू हुनेछ। टोली खेल सुरु हुनुभन्दा करिब २४ घण्टा अघि लस एन्जलस पुग्ने कार्यक्रम छ।

जुलियानीले भने तेस्रो खेलअघि व्यवस्था परिवर्तन हुन सक्ने सम्भावना रहेको संकेत गरेका छन्। इरानले शुक्रबार सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ।

“अवस्था परिवर्तनशील छ। अहिले हाम्रो योजना स्पष्ट छ। बेल्जियमसँगको खेलपछि टोली २७ मिनेटको उडानमार्फत तिजुआना फर्किनेछ,” उनले भने, “दोस्रो खेलपछि तेस्रो खेलका लागि के व्यवस्था गर्ने भन्नेबारे छलफल हुनेछ।”

उनले इरानी टोलीको प्रशिक्षण आधार अमेरिकी शहर टक्सनबाट तिजुआना सारिएको निर्णयले यात्रा समय घटाएको दाबी गरे।

“टक्सनबाट भन्दा तिजुआनाबाट लस एन्जलस पुग्न कम समय लाग्छ। यसले सबै पक्षलाई फाइदा पुगेको छ,” उनले भने।

जुलियानीका अनुसार सबै इरानी खेलाडी र प्रशिक्षकहरूले भिसा पाइसकेका छन्। यद्यपि केही टोली अधिकारीहरूलाई भने सुरक्षा सम्बन्धी प्रतिकूल जानकारीका कारण भिसा नदिइएको उनले बताए।

“हामी विश्वकपलाई सफल बनाउन चाहन्छौँ। साथै अमेरिकी नागरिक मात्र होइन, प्रतियोगिता हेर्न आएका अन्तर्राष्ट्रिय आगन्तुकहरूको सुरक्षासमेत सुनिश्चित गर्नुपर्छ,” उनले भने।

उनका अनुसार हालसम्म विश्वकपलाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा पहिचान गरिएको छैन। यद्यपि अमेरिकी सुरक्षा निकायहरू निरन्तर सतर्क अवस्थामा छन्।

विश्वकपको पहिलो १० दिनको अनुभवबारे जुलियानीले सन्तुष्टि व्यक्त गर्दै भने, “सबै कुरा योजनाअनुसार अघि बढिरहेको छ। मैदानभित्रको उत्कृष्ट प्रदर्शन नै मुख्य चर्चा बनेको छ, जुन निकै सकारात्मक पक्ष हो।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here