मेसीले १६ गोलका साथ विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी

बुधबार बिहानका खेलसँगै विश्वकपमा अर्जेन्टिनी कप्तान लियोनल मेसीको नाममा थुप्रै कीर्तिमान बनिसकेका छन्।

फुटबलमा सबैभन्दा महत्वपूर्ण कुरा गोल हो। मंगलबार राति र बुधबार बिहान भएका समूह ‘आई’ र ‘जे’का खेलहरूले सन् १९३० देखि संगालिँदै आएको विश्वकपको उच्च गोलको सूचीमा राम्रै फेरबदल ल्याएको छ। त्यतिमात्र होइन, यही संस्करणमा त्यो सूची अझ धेरै फेरिने पनि देखिएको छ।

frontline

अल्जेरियामाथि ३–० को जित हासिल गरेको खेलमा ह्याट्रिक गरेका अर्जेन्टिनी कप्तान मेसीले १६ गोलका साथ विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन्। यसैगरी बुधबार नै सेनेगलमाथि ३–१ को विजयी नतिजा निकाल्दा दुई गोल गरेका फ्रान्सका काइलिन एमबाप्पेले पनि विश्वकप इतिहासमा आफ्नो गोल संख्या १४ पुर्‍याउँदै उच्च गोलकर्ताको दाबीमा मेसी र क्लोजलाई दुई गोलको दुरीमा राखेर चुनौती दिइरहेका छन्।

मिरोस्लाभ क्लोज, जर्मनी (१६ गोल)
जर्मनीका स्ट्राइकर क्लोजले विश्वकपका चार फरक संस्करणमा गरी १६ गोल गरेका छन्। त्यसक्रममा उनले कुल २४ खेल खेलेका थिए। पहिलो पटक एसिया आएको विश्वकप सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेका थिए। दुई फरक देशले विश्वकपको एकै संस्करण मिलेर आयोजना गरेको त्यो पहिलो संस्करण थियो।

जर्मनीका फरवार्ड क्लोजले विश्वकपमा गोल गर्ने शृंखला त्यही विश्वकपबाट सुरु गरेका थिए। सन् २००२ मा पाँच गोल गरेका उनले चार वर्षपछि आफ्नै देशमा सम्पन्न विश्वकप २००६ मा पनि पाँच गोल नै गरेका थिए। २०१० को दक्षिण अफ्रिकामा चार गोल गरेका उनले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा दुई गोल थप्दै ब्राजिलका रोनाल्डोको १५ गोलको कीर्तिमान उछिनेका थिए।

लियोनल मेसी, अर्जेन्टिना (१६ गोल)
अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्व फुटबल इतिहासले नै पाएका सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन्। छैटौं विश्वकप खेलिरहेका मेसीको नाममा प्रतियोगिताका थुप्रै कीर्तिमान छन्। त्यसमध्ये सर्वाधिक गोल गर्ने कीर्तिमानमा उनले बुधबार अल्जेरियामाथि ३–० को जित हासिल गर्दा ह्याट्रिक पूरा गर्दै १६ गोलका साथ मिरोस्लाभ क्लोजसँग बराबरी गरिसकेका छन्।

जारी विश्वकपको एकमात्र खेल खेलेका उनले विश्वकपमा गोल गर्ने सुरुवात सन् २००६ को जर्मनी विश्वकपबाट गरेका थिए। जर्मनीमा एक गोल गरेका उनले २०१४ को ब्राजिल विश्वकपमा चार, २०१८ को रुस विश्वकपमा एक र सन् २०२२ को कतार विश्वकपमा सात गोल गरेका थिए। विश्वकप इतिहासमा सर्वाधिक २७ खेल खेलिसकेका मेसीले दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा भने एउटै गोल गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here