अभिनेता विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, मे १३ मा विश्वासको मत लिनुपर्ने
चेन्नई : भारतको तमिलनाडु राज्यमा ठूलो राजनीतिक परिवर्तन भएको छ। चर्चित तमिल अभिनेता तथा ‘तमिलगा वेत्री कलगम’ (TVK) का प्रमुख जोसेफ विजय (विजय थलापति) लाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरिएको छ। तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका रूपमा विजयको शपथ ग्रहण समारोह आज आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा आयोजना गरिने भएको छ। सो समारोहमा विभिन्न राजनीतिक दलका नेता र सिने जगतका हस्तीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
२३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार बनाउन ११७ सिटको आवश्यकता पर्छ। विजयको पार्टी TVK ले एक्लै १०८ सिट जितेको छ। यद्यपि, विजयले दुईवटा निर्वाचन क्षेत्रबाट जित हासिल गरेकाले उनले एक सिट छाड्नुपर्ने हुन्छ, जसबाट उनको पार्टीको कूल सिट १०७ रहनेछ।
उनलाई अन्य साना र क्षेत्रीय दलहरूले समर्थन गरेपछि बहुमत जुटेको हो। विजयको सरकारलाई भारतीय राष्ट्रिय कांग्रेस, सीपीआई (CPI) र सीपीएम (CPM), वीसीके (VCK) ,इन्डियन युनियन मुस्लिम लिग (IUML) दलहरूले समर्थन गरेका हुन् ।
सहयोगी दलहरूको समर्थनसहित विजयसँग अहिले १२१ विधायकहरूको स्पष्ट समर्थन रहेको छ। राज्यपाल अर्लेकरले विजयलाई आगामी मे १३ सम्ममा विधानसभामा आफ्नो बहुमत सावित गर्न (विश्वासको मत लिन) समय सीमा दिएका छन्।
सत्ता समीकरण तयार भइरहँदा राजनीतिक विवाद पनि सुरु भएको छ। एएमएमके (AMMK) पार्टीका महासचिव टीटीवी दिनकरनले विजयको पार्टीमाथि ‘हर्स ट्रेडिङ’ (विधायक खरिद–बिक्री) को गम्भीर आरोप लगाएका छन्। राज्यपाललाई भेट्दै दिनकरनले आफ्ना विधायकहरूलाई फकाउन नक्कली भिडियोको प्रयोग गरिएको दाबी गर्दै यसविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
यता, विजयका समर्थक र सहयोगीहरूले भने यी आरोपहरूको खण्डन गरेका छन्। उनीहरूले जनताको अपार समर्थन र लोकतान्त्रिक पद्धतिबाटै विजय मुख्यमन्त्री बन्न लागेको प्रतिक्रिया दिएका छन्।






प्रतिक्रिया दिनुहोस्