आईसीसी विश्वकप लिग–टु : तेस्रो जितको खोजीमा नेपाल

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय विश्वकप क्रिकेट लिग–टुअन्तर्गत घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ। यसअघि गत बुधबार भएको पहिलो खेलमा डकवर्थ लेबिस नियमका आधारमा एक सय दुई रनको फराकिलो हात बेहोरेको नेपाल मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानलाई पराजित गर्दै शृंखलाको सुखद् अन्त्य गर्ने अभियानमा छ। 

संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र नेपाल सम्मिलित शृंखलामा नेपालले यसअघिका दुवै खेलमा यूएईलाई पराजित गरेको छ। त्यसैले मंगलबार ओमानसँग आमनेसामने हुँदा नेपाल शृंखलामा तेस्रो जित निकाल्ने अभियानमा छ। तर, यसका लागि नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलिङ, ब्याटिङ र फिल्डिङमा प्रभावकारी प्रदर्शन गर्न जरुरी छ। 

frontline

अघिल्लो खेलमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय पाँच रनको योगफल खडा गरेको थियो। सोमपाल कामीले नौ ओभरमा ५९ रन खर्चिंदै चार विकेट लिएका थिए भने सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चिएर दुई विकेट लिएका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले नौ ओभरमा ५६ रन दिएर दुई विकेट लिएका थिए। नेपालका अरु बलर महँगो सावित हुँदा ओमानले विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको नेपाल ३६.५ ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको दयनीय अवस्थामा पुगेको थियो। त्यही बेला भारी वर्षा भएपछि खेल सञ्चालन हुन नसकेपछि खेलको निर्णय डकवर्थ लेबिस नियमका आधारमा गरिएको थियो। 

यस खेलमा कमजोर ब्याटिङ गरेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट लले शुक्रबार यूएईसँगको खेलमा सदाबहार ओपनिङ जोडी नै परिवर्तन गरेका थिए। मुख्य प्रशिक्षक लले कुशल भुर्तेल र आसिफ शेखको स्थानमा अर्जुन कुमाल र  विनोद भण्डारीलाई मौका दिएका थिए। यो खेलमा नेपालले केही सुधारिएको ब्याटिङ गरेको थियो। मध्यक्रममा ब्याटिङमा उत्रिँदै आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि संयमित ब्याटिङ गर्दै आएका छन्। यूएईसँगको खेलमा दीपेन्द्रले शतक नै प्रहार गरेका थिए। त्यसैले मंगलबार जित निकाल्दै नेपाल अर्को सातादेखि सुरु हुने अर्को शृंखलामा उच्च मनोबलका साथ मैदान उत्रिने लक्ष्यमा छ। नेपालले अर्को सातादेखि लिग–टुमै अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा खेल्दैछ।

आठ टोलीको सहभागिता रहेको लिग–२ मा नेपालले २३ खेलमा १६ अंक जोडेको छ। नेपाल तालिकाको सातौं स्थान छ। २४ खेलमा ३६ अंक जोडेको अमेरिका पहिलो र २८ खेलमा ३४ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छन्। २७ खेलमा ३१ अंक जोडेको ओमान तेस्रो, २४ खेलमा २८ बनाएको नेदरल्यान्ड्स चौथो, २८ खेलमा २२ अंक हात पारेको नामिबिया पाँचौं, २४ खेलमा २१ अंक जोडेको क्यानडा छैटौं र २४ खेलमा १४ अंक बटुलेको यूएई आठौं स्थानमा छन्।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–२ सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता हो। लिग–२ को समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन्। तालिकाको अन्तिम चार स्थानमा रहने टोलीले भने विश्वकप क्वालिफायरका लागि प्लेअफ खेल्नुपर्ने छ। यसैगरी आईसीसीबाट प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिता महत्वपूर्ण मानिन्छ। 

टिकट मूल्य आधा घट्यो 
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाको टिकट मूल्य घटाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्को साताबाट सुरु हुने एकदिवसीय शृंखला र मंगलबार हुने ओमानसँगको खेलमा टिकट मूल्य दुई सय रुपैयाँ तोकेको हो। 

यसअघि नेपालको खेल भएको दिन चार सय र ओमान तथा यूएईसँको खेलका लागि एक सय रुपैयाँ टिकट मूल्य तोकिएको थियो। यस्तै यूएईसँगको दुई खेलको टीट्वेन्टी शृंखलाका लागि भने सात सय ५० रुपैयाँ टिकट मूल्य तोकेको थियो।

आईसीसी विश्वकप क्रिकेट लिग–टुका खेल हेर्न दर्शक नआएपछि क्यानले टिकट मूल्य घटाएको हो। टिकटको मूल्य धेरै भएका कारण दर्शक कम भएको टिप्पणी भएपछि क्यानले टिकटको मूल्य घटाएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here