अब एक सातामै क्युआरसहितको लाइसेन्स

सवारीचालक अनुमतिपत्रका लागि लिइने (ड्राइभिङ लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले अब कम्तीमा सात दिनभित्र लाइसेन्स लिन सक्ने भएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्न सुरु गरिएसँगै सेवाग्राहीले परीक्षा उत्तीर्ण गरेको सात दिनभित्र लाइसेन्स लिन सक्ने अवस्था तयार भएको सम्बन्धित निकायका अधिकारीले जनाएका छन् । गत २१ कात्तिकयता छापिएका लाइसेन्स क्युआरसहितका छन् । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राईका अनुसार मुलुकभरका आवेदन केन्द्रमा पुग्नुपर्ने र छापिएका लाइसेन्स सम्बन्धित कार्यालयमा पुर्‍याउनुपर्ने भएकाले राजस्व तिरेको कम्तीमा सात दिनभित्र सेवाग्राहीले लाइसेन्स पाउन सक्नेछन् । २१ कात्तिकदेखि मुद्रण केन्द्रबाट लाइसेन्स छाप्न सुरु भएको छ । मुद्रण केन्द्र काभ्रे पनौती नपा–५ मा रहेको छ । 

frontline

‘पनौतीमा रहेको मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सुरु भएको छ । मुलुकभरबाट संकलन भएका आवेदन केन्द्रमा पुग्नुपर्छ । छपाइ भएका लाइसेन्स सम्बन्धित कार्यालयमा पठाउनुपर्छ,’ सूचना अधिकारी राईले भने, ‘सबै प्रक्रिया पूरा गरेर लाइसेन्स सम्बन्धित कार्यालयमा पुग्न कम्तीमा एक साता लाग्न सक्छ । त्यसलगत्तै सेवाग्राहीले लाइसेन्स पाउन सक्छन् ।’

२१ कात्तिकदेखि नै मुद्रण केन्द्रले क्युआर कोडसहितको लाइसेन्स छपाइ गर्न थालेको छ । त्यसयता ६ लाख ७७ हजार ०६२ लाइसेन्स छापिसकिएको छ । तीमध्ये धेरैजसो वितरणसमेत भैसकेका छन् । अझै २२ लाख २२ हजार ९३८ लाइसेन्स छाप्न बाँकी छ । मुद्रण केन्द्र र विभागबिच गत साता बाँकी सबै लाइसेन्स छपाइ गर्ने नयाँ सम्झौता भएपछि छपाइले गति लिएको छ । 

विभागका अनुसार मुद्रण केन्द्रले दैनिक ४० हजार लाइसेन्स एकैदिन छपाइ गर्न सक्छ । यही गतिमा काम अघि बढे बाँकी रहेको लाइसेन्स छाप्न करिब दुई महिना लाग्छ । अहिले मुद्रण केन्द्रमा अति जरुरी, नियमित र विगतका बाँकी गरी तीन खालका लाइसेन्स छपाइ हुँदै आएको छ । मुलुकभरका यातायात व्यवस्था कार्यालयमा प्रत्येक दिन नयाँ र नवीकरण गरी लाइसेन्सका लागि कम्तीमा पाँच हजार आवेदन पर्ने गर्छन् । 

सवारी तथा यातायात व्यवस्था नियमावली, ०५४ को दफा २०(क) अनुसार सरकारले क्युआर कोड राखेर विद्युतीय लाइसेन्स जारी गर्न सक्छ । उक्त दफामा छ, ‘सवारीचालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रिक स्मार्ट कार्ड वा क्युआर कोडसहितको कार्ड)को रूपमा लिनुपर्नेछ ।’

ऐनमा रहेको सोही व्यवस्थाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०८१ को माघमा नै क्युआर कोडसहितको विद्युतीय लाइसेन्स जारी गर्ने निर्णय गरेको थियो । निर्णयलगत्तै त्यस्ता लाइसेन्स छपाइ गर्न ०८१ को चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच सैद्धान्तिक सहमति भएको थियो । 

सहमतिपछि लाइसेन्स छपाइ गर्न यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभाग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको मुद्रण केन्द्रबिच १४ जेठ ०८१ मा सम्झौता भएको थियो । परीक्षणका लागि भन्दै त्यस वेला क्युआर कोडसहितका १२ लाख लाइसेन्स छपाइ गर्न सम्झौता भएको थियो । विभागका सूचना अधिकारी राईका अनुसार सातदेखि आठ लाख जति त्यस्ता लाइसेन्स छपाइ भएका छन् । 

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको कार्यालय अनुमगन गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले गत ४ वैशाखमा अब २४ घण्टाभित्रै सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न सक्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here