दुवाकोटमा निर्माणाधीन वीर अस्पताललाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिने

 काठमाडौं । नेपालमा राष्ट्रिय गौरवका आयोजना २६ वटा पुग्ने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा  भक्तपुरको दुवाकोटमा निर्माणाधीन वीर अस्पताल आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न लागेको हो ।

frontline

अर्थ मन्त्रालयका अनुसार वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल निर्माणको योजना छ ।

यो आयोजना आगामी तीन वर्षभित्र पुरा गरिसक्ने लक्ष्य समेत सरकारले लिएको छ ।

अहिलेसम्म नेपालमा कुल २५ वटा राष्ट्रिय गौरवका आयोजना रहेको छन् ।

अर्थ मन्त्रालयका अनुसार यस्ता आयोजना उर्जा, सडक, रेल, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित रहेका छन् ।

स्वास्थ्य पूर्वाधारबाट पहिलो गौरवको आयोजना

सरकारले पहिलो पटक स्वास्थ्य पूर्वाधारलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न लागेको हो ।

नेपाल सरकारले हरेक आर्थिक वर्षमा बजेट सुनिश्चित हुने, आयोजनामा कुनै अवरोध भएमा प्राथिमकता साथ ध्यान दिने भएकाले गौरवका आयोजनाको महत्व बढी हुने गरेको छ ।

सरकारले निर्माणाधिन वीर अस्पताललाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेसँगै यसको छुट्टै आयोजना कार्यालय संचालनमा ल्याउने छ ।

आगामी आवमा यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसहितका पूर्वतयारीका काम पुरा गर्ने लक्ष्य समेत सरकारले लिएको छ ।

यो आयोजनालाई सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सर्वप्रथम समावेश गरेको थियो ।

त्यसबेला १ हजार शैयाको सुविधा-सम्पन्न अस्पताल बनाउने योजना रहेको थियो ।

यो अस्पताल निर्माणको घोषणा तत्कालिन समयमा समेत केपी शर्मा ओली कै नेतृत्वको सरकारले गरेको हो ।

तर, कार्यान्वयनमा ध्यान नदिँदा ५ वर्षसम्म आयोजना केवल नारामा मात्र सीमित भयो ।

चाँगुनारायण नगरपालिकाले दिएको ५७० रोपनी जग्गामा अस्पताल बनाउने योजना छ ।

२०७४ मा आयोजना स्थलमा बोर्डहरु राखिएपनि पूर्वतयारीका काम समेत अझै शुरु हुने भने सकेका छैनन् ।

यो आयोजनामा करीव ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

सुरुमा थिए १७ 

राष्ट्रिय गौरवका आयोजना घोषणाको खास मापदण्ड भने छैन ।

मन्त्रिपरिषद्को निणृय अनुसार राष्ट्रिय गौरवका रुपमा आयोजनालाई सूचिकृत गर्ने गरिन्छ ।

पहिलो पटक आव २०६८/६९ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो अवधारणा अगाडि सारेका थिए ।

प्रारम्भमा १७ वटा आयोजनालाई यो सूचीमा राखिएको थियो ।

त्यसबाट बढाउँदै आयोजनाको संख्या २६ पुगेको छ ।

तर, एउटा पनि आयोजना समयमा पुरा भएको छैन ।

माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै आवमा सक्ने लक्ष्य थियो ।

तर, कोरोना महामारी बाहना बनेसँगै यी आयोजना समेत आगामी आर्थिक वर्षका लागि धकेलिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनालाई स्रोत विनियोजनमा प्राथमिकता तथा सुनश्चितता दिने उद्देश्यसहित बजेट विनियोजनका बेला एयरमार्क नै गर्ने प्रचलन रहेको छ ।

रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकताका आधारमा यस्तो आयोजना छनोट गर्ने उद्देश्य लिइएको थियो ।

यसले मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पूँजि निर्माण र प्रादेशिक सन्तुलनमा समेत योगदान पुग्ने सरकारको अपेक्षा छ ।

यी हुन नेपालका राष्ट्रिय गौरवका आयोजना

-पुष्पलाल (मध्यपहाडी) राजमार्ग

-हुलाकी राजमार्ग

-उत्तर-दक्षिण लोकमार्ग (कोशी करिडोर)

-उत्तर-दक्षिण लोकमार्ग (कालिगण्डकी करिडोर)

-उत्तर-दक्षिण लोकमार्ग (कर्णाली करिडोर)

-रेल तथा मेट्रो रेल तथा मोनोरेल विकास आयोजना

-काठमाडौं-तराई मधेश द्रुतमार्ग

-गल्छी-त्रिशुली-मैलुङ-स्याप्रुबेसी-रसुवागढी सडक

-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

-पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल

-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

-पशुपति क्षेत्र विकास विकास कोष

-लुम्बिनी विकास कोष, बुढिगण्डकी जलविद्युत आयोजना

-माथिल्लो तामाकोशी जलविद्युत आयोजना

-पश्चिम सेती जलविद्युत आयोजना

-महाकाली सिंचाई आयोजना

-सिक्टा सिंचाई आयोजना

-रानी जमरा कुलरिया सिंचाई आयोजना

-भेरि-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

-सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

-राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

-मेलम्ची खानेपानी आयोजना

-मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here