जीवन र जीविका जोखिममा,सबैले निरन्तर अगाडि बढ्नुपर्छ
काठमाडौं । पछिल्ला महीनाहरूमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को परिभाषा अनुसारको दक्षिणपूर्वी एशियाली क्षेत्रमा सार्स-कोभ-२ (कोरोनाभाइरस) सङ्क्रमणमा तीव्र र निरन्तर वृद्धि भइरहेको छ ।
अपि्रल र मे महीनाभरि निरन्तर रूपमा यस क्षेत्रमा २० लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने केही ठाउँहरूमा सङ्क्रमण पुष्टि हुने दर ४० प्रतिशतभन्दा पनि बढी भएको प्रतिवेदन प्राप्त भएका छन् ।
विभिन्न सदस्य राष्ट्रहरूमा विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेका भेरियन्टको उपस्थिति पुष्टि भएको छ ।
तिनकै कारण सङ्क्रमणको दर बढेको हुन सक्छ ।
कोभिड-१९ विरुद्धको लडाइँमा यो क्षेत्र र सिङ्गो संसार नै महत्त्वपूर्ण क्षणमा आइपुगेको छ ।
कुनै पनि देश सुरक्षित छैन र हामी सबै जोखिममै छौं ।
मानिस थाकिसकेका छन् । विगत करीब १८ महीनामा उनीहरूले आफू र आˆना मान्छेलाई बचाउन सम्भव भएसम्मका सबै उपाय लगाइसके ।
तर पनि हामी अझै विश्वव्यापी महामारीको चरम अवस्थामै छौं ।
विशेषगरी विश्वका केही देशहरू सामान्य अवस्थातर्फ फर्किंदै गर्दा खोपको खुशीले हुने उन्माद र यसका कारण तत्परतामा आउन सक्ने ह्रास हानिकारक हुन सक्छन् ।
यस क्षेत्रका सबै देशहरूमा आगामी दिनको चुनौतीको अवस्थालाई मध्यनजर गर्दै हाम्रा प्रतिकार्यहरू कायम राख्नु र अझ बृहत् बनाउनु आवश्यक छ ।
यो क्षेत्र कसरी अगाडि बढ्नुपर्छ ?\
प्रथमतः प्रभावकारी पुष्टि भएका जनस्वास्थ्य सम्बन्धी तथा सामाजिक उपायहरूको सक्रियतापूर्वक कार्यान्वयन गरिनुपर्छ ।
नयाँ भेरियन्ट विरुद्ध हाम्रा सबैभन्दा गतिला आत्मरक्षाका उपाय तिनै हुन् ।
भौतिक दूरीले साँच्चै काम गर्छ । त्यसैगरी मास्कको प्रयोग र हातको सफाइले पनि ।
त्यसैगरी स्वच्छ हावाको आवतजावत (भेन्टिलेसन), परीक्षण, सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) र सङ्क्रमितको एकान्तवास -आइसोलेसन), यी सबै साधनले सङ्क्रमणको विस्तारलाई नियन्त्रण गर्न, जीवन बचाउन र अन्य क्षेत्रमा यसको असर कम गर्न काम गर्छन् ।
हामीले तीन ‘डब्ल्यु’लाई निरन्तर लागू गर्नुपर्छ : वेर अ मास्क, वास हृयान्ड्स एन्ड वाच डिस्टेन्स (मास्क लगाऔं, हात धोऔं र दूरी ख्याल गरौं) ।
अनि, हामीले तीन ‘सी’ लाई टाढै राख्नुपर्छ : क्राउडेड प्लेसेस, क्लोज-कन्ट्याक्ट सेटिङ्ग एन्ड कन्फाइन्ड एन्ड इन्क्लोज्ड स्पेसेस (भीडभाड, नजिकको सम्पर्क र बन्द एवं साँघुरो ठाउँ) ।
दोस्रो, सङ्क्रमितको सङ्ख्या जति भए पनि सार्वजनिक स्वास्थ्य प्रणालीको अनुगमन र क्षमता विस्तार गरिनुपर्छ ताकि यसले जनसङ्ख्याको आवश्यकता सम्बोधन गरोस् ।
सङ्क्रमितको सङ्ख्या बढेको अवस्थामा स्थान, कर्मचारी र अक्सिजन एवं शय्या सहितका
आवश्यक सामग्रीको उपलब्धता वृद्धि गर्न र सम्बन्धित स्वास्थ्य संस्थाहरूबीच समन्वयलाई उँचाइमा पुर्याउन चरणबद्ध योजना लागू गरिनुपर्छ ।
खोपले मात्र यस महामारीको अन्त्य हुनेछैन भन्ने कुरा बुझ्दाबुझ्दै पनि खोप अभियानलाई प्राप्त राजनीतिक एवं जनस्तरको साथलाई निरन्तर प्रोत्साहन गरिनुपर्छ
आफू स्वस्थ रहन आवश्यक पर्ने सबै सेवाको पहुँच सबैलाई उपलब्ध हुने सुनिश्चित गर्न अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तर रूपमा कायम राखिनुपर्छ ।
यस महामारीको सामना गर्दा यस क्षेत्रले यस विषयमा जोड दिंदै आएको पनि छ ।
तेस्रो, राष्ट्रिय परिचालन तथा खोप योजनामा परिभाषित गरिएअनुसार प्राथमिकतामा रहेका समूहलाई खोप दिइनुपर्छ ।
खोपको ढुवानीमा हाल जारी चुनौतीमाझ देशहरूले उपलब्ध मात्रा (डोज) को अधिकतम प्रयोग गरी प्राथमिकतामा रहेका समूहको संरक्षणलाई विस्तार गर्नुपर्छ र जनस्वास्थ्यका लाभलाई अधिकतम बनाउनुपर्छ ।
आवश्यकताभन्दा बढी मात्रामा खोप उपलब्ध भएका देशहरूले बढी भएको मात्रा कोभ्याक्सलाई उपलब्ध गराउनुपर्छ, जसले सन् २०२१ को अन्त्यसम्म आफूमा सहभागी न्यून तथा मध्यम आय भएका देशहरूमा दुई अर्ब मात्रा खोप पुर्याउने लक्ष्य राखेको छ ।
हामी सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
गलत सूचना तथा अफवाहले जोखिमपूर्ण व्यवहार बढाउन, रोग सार्न सहज बनाउन र महामारीलाई थप चर्को अनि लामो बनाउन सक्छन् ।
तिनले अस्पष्टता सिर्जना गरी सामाजिक विश्वासमा क्षति पुर्याउन सक्छन् ।
जबकि महामारी सामना गर्न सामाजिक विश्वास नै सबैभन्दा महत्त्वपूर्ण तत्त्वमध्ये एक हो ।
त्यसैले सूचना फैलाउनुअघि यसको स्रोतबारे ख्याल गरौं, अनि सूचना पुष्टि भएको हो वा होइन पनि निधो गरौं ।
उच्च गुणस्तरको सूचनाको संवाहक बनौं ।
विश्व स्वास्थ्य संगठनको वेबसाइट, यसका सामाजिक सञ्जाल एवं राष्ट्रिय तथा स्थानीय निकायहरूको वेबसाइट र सामाजिक सञ्जालमा यस्ता सूचना उपलब्ध हुन्छन् ।
कुनै पनि व्यक्ति वा समुदायलाई पछाडि नै रहन दिन सकिंदैन ।
संसारभरि नै कोभिड-१९ ले निश्चित जनसांख्यिक समूहलाई बढी प्रभाव पारेको छ ।
जसमध्ये कोही कोही विविध सामाजिक तथा सांस्कृतिक कारणले सङ्क्रमणप्रति अन्यभन्दा बढी संवेदनशील वा स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्नका लागि बढी सङ्घर्षरत हुन सक्छन् ।
यो अवस्था असमान मात्र नभई अप्रभावकारी सावित हुन गएको छ ।
यस क्षेत्रका सबै देशहरूमा समतालाई निरन्तर रूपमा कोभिड-१९ सम्बन्धी निर्णय प्रक्रियाको मुख्य सवाल मानिनुपर्छ ।
चाहे त्यो परीक्षण र उपचारको पहुँचका सम्बन्धमा होस् वा सामाजिक तथा आर्थिक संरक्षणका सवालमा ।
हामी सबैले कठिन मिहिनेत गर्नुपर्नेछ । यस महामारीको शुरुआतदेखि नै विश्व स्वास्थ्य संगठनले यस क्षेत्रका आˆना सदस्य राष्ट्रहरूलाई महत्वपूर्ण मार्गदर्शन तथा सहयोग प्रदान गरिरहेको छ ।
पछिल्ला महीनाहरूमा यसले हजारौं अक्सिजन कन्सन्ट्रेटर, लाखौं रेस्पिरेटर मास्क र विभिन्न शृङ्खलामा सहायक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
राष्ट्रिय पहलकदमीको सहयोगमा हजारौं कर्मचारीको कार्य-उद्देश्य परिवर्तन गरिएको छ ।
इतिहासमै सर्वाधिक तीव्र, समन्वयकारी र सफल विश्वव्यापी सहकार्यका रूपमा स्थापित भएको कोभिड-१९ टुल्स एक्सेलेरटरमा प्राप्त पहुँचबाट जीवनदायी लाभ लिन यस क्षेत्रका देशहरू निरन्तर लागिरहेका छन्, ताकि कोभिड-१९ को परीक्षण, उपचार तथा खोपको विकास, उत्पादन तथा समतामूलक पहुँचमा तीव्रता आओस् ।
ऐक्यबद्धता र सम्पूर्ण क्षेत्रको दिगो सङ्कल्प मार्फत मात्र हामी सङ्क्रमणलाई कम गर्न, नयाँ लहरलाई रोक्न तथा त्यसका लागि तयार रहन र आवश्यक सबैका लागि प्रमाणमा आधारित उपचार तथा प्रविधि उपलब्ध गराउन सक्छौं ।
जीवन र जीविका जोखिममा छन्, तर हामी सबैले निरन्तर अगाडि बढ्नुपर्नेछ।
डा.सिंह विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया निर्देशक हुन् ।
प्रतिक्रिया दिनुहोस्