काठमाडौं महानगरपालिकाले दियो कान्ति अस्पताललाई ‘पीसीआर’ मेसिन
काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एकथान ‘पीसीआर’ मेसिन हस्तान्तरण गरेको छ ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डा। कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी मेसिन हस्तान्तरण गरिएको हो ।
चीनको नानजिङ सहरबाट प्राप्त दुईमध्ये एकथान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । मेसिन हस्तान्तरणपछि मेयर शाक्यले जतिसक्दो चाँडो मेसिन जडान गरी सेवा सुरु गर्न आग्रह गर्नुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा। कृष्ण पौडेलले महामारीविरुद्धको लडाईं लडिरहेका बेला काठमाडौं महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो । कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना ‘पोजिटिभ’ देखिएको छ । अहिलेसम्म दुईजनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् ।
काठमाडौं महानगरपालिकाले गएको साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड(१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
भगिनीसम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदानस्वरुप दिएका सामग्रीमध्ये केही सामग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्