खाल्डा नपुर्दा गाली खाएका पोखराका मेयरले भित्र्याए अमेरिकी प्रविधि
सडकका खाल्डा २४ घन्टाभित्रै पुर्नेसहितका मुद्दा उठाएर चुनाव जितेका थिए पोखराका मेयर मानबहादुर जिसीले । उनले चुनाव जितेर आइसके पनि यसबीचमा पोखराका सडकमा हजारौं खाल्डा परिरहे । तर टालटुलमात्रै भयो ।
बर्खायाममा त झन् आज पुरेको खाल्डो भोलिपल्टै भत्कियो । धेरै पानी पर्ने यो सहरका सडक दुरुस्त भएनन् । त्यही समस्या सम्बोधन गर्न पोखरा महानगरपालिकाले मुख्य सडकहरुमा अमेरिकी प्रविधिको पिच गर्न थालेको छ ।
मेयर जिसीले २४ घन्टामा खाल्डा पुर्छु भनेको पुरिएन भनेर धेरै गाली खाएँ तर भनेजस्तो सजिलो प्रविधि नहुने गुनासो गरेका छन् । महानगरपालिकाको कार्यालय नै रहेको नयाँ सडकबाट अस्फाल्ट पिचको काम सोमबारदेखि धमाधम भइरहेको छ । यसको औपचारिक सुरुआत भने दसैंअघि भएपनि दसैं सकिएपछि सोमबारबाट कामले गति लिएको हो ।
नयाँ सडकसँगै महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, वन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गर्ने जानकारी मेयर जिसीले दिएका छन् । उनका अनुसार पर्स्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा/महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक अस्फाल्ट प्रविधिको बन्नेछ ।
मेयर जिसीले यो वर्ष २५ किलोमिटर सडक अस्फाल्ट पिच हुने जानकारी पनि दिएका छन् । महँगो प्रविधिको यो कामका लागि महानगरपालिकाले २० करोड रुपैयाँ बजेट स्टिमेट गरेको भएपनि तर ठेक्का भने १७ करोड रुपैयाँमा लागेको छ । अस्फाल्ट प्रविधि पिच गर्ने भनेर २ पटक टेन्डर आह्वान गर्दा पनि कसैबाट टेन्डर नपरेको मेयर जिसीले सुनाए ।
अस्फाल्ट पिचको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । कम्पनीका पोखरास्थित कन्ट्याक्ट म्यानेजर राजु रानाभाटका अनुसार न्युरोडको पिच एक सातामा सक्ने योजना छ । उनले त्यसपछि पालिखेचोकबाट केआइसिंह पुलतिरको काम गर्ने बताएका छन् ।
अस्फाल्ट प्रविधि अनुसार अहिले रहेकै पिचमाथि ४ सेन्टिमिटर पिच थपेर सडक बाक्लो बनाइएको छ भने पिच गर्न मेसिनको प्रयोग भएको छ । उपकरणबाटै अलकत्रसँग पकाइएको सामग्री सडकमा बिच्छ्याइएको छ । यो प्रविधिबाट पिच गर्न मानव संसाधन पनि कम प्रयोग भएको छ । अस्फाल्ट प्रविधिको पिच सडक ८ देखि १० वर्षसम्म टिक्ने प्राविधिक बताउँछन् ।
सीमित उपकरणहरुका कारण सबैतिर एकैपटक काम गर्न नसकिएको रानाभाटले सुनाए । नयाँसडकको काम सकेर पालिखेचोकबाट दीपसम्म पिच गरेपछि मुस्ताङचोकदेखि हल्लनचोकसम्मको काम सुरु गर्ने जानकारी उनले दिए । महानगरपालिका र प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयसँग एलाइट कम्पनीले गत आवमा ठेक्का सम्झौता गरेको थियो । रानाभाटकै अनुसार ठेक्काको म्याद आउँदो सन् २०२१ को मार्च महिनासम्म छ ।
पोखरामै जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको सडक यसअघि नै अस्फाल्ट पिच भइसकेको छ । मुग्लिङ नारायणगढ सडकको पिच पनि अस्फाल्ट प्रविधिको भएको रानाभाटले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्