टिचिङ र वीर अस्पतालको उपचार : कस्तो सेवा, कस्ता डाक्टर ?

श्रम, सीप र विद्वत्ताको चरम शोषण ‘क्रोनी क्यापिटालिजम’को एउटा ठूलो नतिजा हो। स्मरण रहोस् ‘क्रोनी क्यापिटालिजम’ मा सत्ता, व्यापारी स्वार्थ समूह मिलेपछि जेसुकै गरी पनि ठिक हुन्छ, सही हुन्छ, तर त्यसमा औंला उठाउने पक्ष गलत र अपराधी करार हुन्छ, विकास विरोधी हुन्छ भन्ने भाष्य निर्माण भएको हुन्छ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- दोलखाका वृद्ध व्यक्तिले आफ्नो छोरीको उपचारको लागि सरकारी अस्पतालमा लामो प्रतीक्षा र आर्थिक अभावको समस्या झेले ।
- अस्पतालका चिकित्सक र कर्मचारीहरूको व्यस्तता र गैरजिम्मेवारीले बिरामीको उपचारमा ढिलाइ हुने गरेको गुनासो छ ।
- सामाजिक र आर्थिक असमानता र प्रणालीगत कमजोरीले गरीब र निम्न वर्गका बिरामीहरूको उपचारमा बाधा पुगेको छ ।
केस १ : पुस २०८१। दोलखाको कुनै गाउँबाट फोन आउँछ, अज्ञात नम्बरबाट। थामी थरका वृद्ध व्यक्ति घर्बराएको स्वरमा बोल्छन्, ‘सर, मेरी छोरीलाई बचाइदिनुपर्यो। मेरी छोरीले टिचिङ अस्पताल धाएको चार महिना भइसक्यो। उनको नाक र कान दुवै थुनिएको छ। अप्रेसन गर्नैपर्ने रे! तर डाक्टरले उपचार त परै जावोस्, भेट पनि दिन्नन् रे!’
उनी बोल्दै जान्छन्, ‘भदौमा उपचार गर्न भनेर गएकी, अहिले पुस भैसक्दा पनि उसको नाम खातामा चढेको छैन। चैतमा नाम चढ्छ भनेका छन् रे! अनि अर्को एक वर्षपछि पालो आउँछ रे! नाकको अप्रेसन गरेको एक वर्षपछि फेरि त्यसैगरी कानको पालो आउँछ रे! त्यतिन्जेलमा मेरी छोरी कसरी बाँच्छे होली हजुर ?’
उनी रोकिंदैनन्, ‘दशैंपछि अप्रेसन गर्न भन्दै घरबारीको कागज सहकारीमा राखेर डेढ लाख ऋण काढेर गएकी छे छोरी। कोठा-भाडा, खाना, गाडी भाडा, अनेकथरी एक्स-रे र के-के गरेर पैसा पनि सकिन लागिसक्यो। लौन सर ! त्यहाँका ठूला डाक्टरलाई सम्झाइदिनुपर्यो। तपाईं त काठमाडौं बसेको मान्छे। त्यहाँका सबैलाई चिनेको होला। मेरो मनमा साह्रै औडाहा परेको छ सर छोरीको सकस देखेर।’
मैले उनकी छोरीको नाम-नम्बर लिएँ। मनमाया (परिवर्तित नाम) थामी, वर्ष ३४, अविवाहित, फोन नम्बर ९७……..। आफूले सो अस्पतालका कुनै डाक्टरलाई नचिनेको तर त्यहाँ गएर सक्दो प्रयास गर्ने बताएर फोन राखें।
मनमायालाई फोन गरें। डाक्टरले बुधबार बोलाएको रहेछ। ‘चान्स’ सर्जरीका लागि भनेर उनलाई पछिल्लो दुई महिनादेखि हरेक बुधबार बोलाइँदोरहेछ, तर सर्जरी कहिल्यै नहुने। कसैले सर्जरी गर्न आएन भने त्यो ‘स्लट’ मा अर्को ‘निडी’ बिरामीलाई अप्रेसन गरियो भने त्यसलाई ‘चान्स सर्जरी’ भनिंदोरहेछ।
मैले यो समस्या एक जना आदरणीय व्यक्तिलाई पनि राखें र उहाँले आफूले त्यस अस्पतालको इ.एन.टी. डिपार्टको सिनियर डाक्टरलाई चिनेकोले उससँग कुरा गरिदिनुभयो।
हामी ३ पुस बुधबार ‘टिचिङ’ अस्पतालको इ.एन.टी. विभाग गयौं। सम्बन्धित विभागकी प्रमुख त्यस दिनको लागि महिला डाक्टर हुनुहुन्थ्यो। मनमाया थामी उनीहरूको अगाडि गएर ‘क्यू’ बस्न डराइन्। भनिन्, ‘डाक्टरले मलाई यहाँ बेन्चमा बस्न दिंदैनन्।’ मैले नर्सलाई सोधें। उनले पनि त्यही कुरा बताइन्, आफूलाई डाक्टर मेडमले गाली गर्नुहुन्छ।
त्यसपछि मैले मनमायाको उपचारको बारेमा सोध्न डाक्टरलाई भेट्न चाहेको बताएँ। ती नर्सले डाक्टरको अनुहार चिनाइदिंदै भनिन्, ‘उहाँ नै हो हाम्रो ठूलो डाक्टर भेटेर कुरा गर्नुहोस्।’
ती प्रमुख डाक्टर निकै व्यस्त थिइन्। उनी घरी भिडियो एक्सरेतिर पुग्थिन् त घरी बिरामी र बिरामीका आफन्तलाई भेटेर कुरा गर्थिन्।
मैले पनि उनको व्यस्तता पछ्याउँदै लगभग दुई घण्टा जति त्यहाँ बिताएँ। प्रमुख मेडमलाई एकपटक केही मानिससँग कुरा गरिराखेको देखें। उनीहरू बिरामी र बिरामीका आफन्त रहेछन्। मेडम भन्दै थिइन्, ‘हुन्छ, लौ अब, … बार मेरो… मा आउनुहोस्, त्यही दिन सर्जरी गर्नुपर्छ।’
फेरि मेडम हतारिंदै आफ्नो ओपीडी वार्डमा आइन् तर दिउँसोको १२ बज्दासम्म उनी अप्रेसन वार्डमा गएको मैले देखिनँ। मेडमको बिरामी र नर्सहरूप्रतिको बोली-व्यवहार पनि निकै रुखो थियो। बिरामी र नर्सको डर उनीहरूको आँखा र बोलीमा देखिन्थ्यो।
मैले मेडमलाई उपर्युक्त समय विचारेर भेटें र बिरामीको अप्रेसनको कुरा गर्न आएको बताएँ। ‘हुन्छ, कुरा गरौं’, उनले सामान्य उत्तर दिइन्। मैले मनमायालाई भित्र आउन इशारा गरें। उसलाई देखेपछि मेडम केही झस्किन्।
‘उनको सर्जरी कसरी र कहिले गर्ने विचार गर्नुभएको छ डाक्टर ?’, मैले प्रश्न गरें।
मनमायालाई त केही मुठीभर टाठा-बाठा र पहुँचवालाले असीमित सेवा-सुविधा लिएर विलासी जीवन जिउन खोज्दा आफू जस्ता लाखौं मनमायाहरूले सिटामोल समेत नपाउने अवस्था बनेको हो भन्नेसम्म थाहा थिएन।
‘यहाँ क्युमा बसेर गर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्छ। बरु बाहिरतिरै गरे ठिक हुन्छ’, उनले सहज उत्तर दिइन्।
‘बाहिर उपचार गर्दा महँगो पर्छ होला ?’, मैले डर पोखें।
‘महँगो त अलिकता परिहाल्छ नि! अप्रेसन चार्ज रु ७० हजार जति लाग्छ।’ बेड, औषधि र अन्य खर्च समेत गर्दा १ लाख ५० हजारसम्म पुग्ने उनले बताइन्।
मैले भने, ‘डाक्टर ! उनको आर्थिक अवस्था नाजुक छ। उनी अल्पसंख्यक समुदायलाई पनि प्रतिनिधित्व गर्छिन्। कोठा भाडा तिर्ने पैसा पनि उनीसँग छैन भने त्यत्रो खर्च कसरी बेहोर्न सक्छिन् होला र ? यो सरकारी अस्पताल हो र रोगी र निमुखालाई सहयोग गर्नु तपाईंको कर्तव्य पनि हो। कृपया उनको सरल र छिटो उपचार गर्ने व्यवस्था मिलाइदिन सहयोग गरिदिनुस्।’
उनले चिढिंदै, भनिन्, ‘यो अस्पताल भित्र मैले केही गर्न सक्दिनँ भाइ। यहाँ सबै गरिब र गाउँबाटै आउँछन्। धेरै बिरामी हुने भएकोले नाम टिपाएर ‘क्यू’ बस्नु परेको हो। कि पैसा व्यवस्था गरेर बाहिर निजी अस्पताल तथा क्लिनिकमा उपचार गर्नुपर्यो, कि त कुरा यही हो। म धेरै व्यस्त छु।’
उनी आफ्नो कोठाबाट बाहिरिन्। नर्सहरूको मुहारमा पनि एक खाले डरको छायाँ देखें मैले त्यहाँ। उनीहरू आफ्ना हाकिमसँग धेरै डराएका देखिन्थे भने बिरामीसँग केही प्रेमिल जस्ता। सरकारी अस्पतालका नर्सहरू पहिले पहिलेभन्दा हिजोआज अलि बढी संवेदनशील र दयावान् देखिन्छन् जस्तो भान हुन्छ मलाई।
मैले यसो बाहिरको माहोल विचार गरें, सूचनापाटीमा बताइएका वरिष्ठ र कनिष्ठ चिकित्सकहरूको टिम हेरें। अस्पतालले सिनियर डाक्टरको नेतृत्वमा हप्तैभरि इ.एन.टी. अप्रेसन गर्ने टिम बनाइदिएको रहेछ। म्यानपावरको संख्या र व्यवस्था देख्दा हरेक हप्ता अनुमानित ३० भन्दा बढी श्वासप्रश्वास, साइनस जस्ता रोगसँग जोडिएका नाकका मात्रै सर्जरी हुनसक्ने देखिन्छ। जबकि, उनीहरूको भनाइ अनुसार हरेक दिन नाक सम्बन्धी मात्रै ८ देखि १० वटा सर्जरी भइराखेको हुन्छ। त्यसरी त हप्तामा ५० भन्दा बढी सर्जरी हुनुपर्ने हो श्वासप्रश्वास सम्बन्धित नाकको मात्रै। तर यही विषयमा अस्पतालको आधिकारिक स्रोतको २०८० सालको रिपोर्ट हेर्ने हो भने श्वास सम्बन्धित नाकको अप्रेसन हप्तामा ११-१३ वटा मात्रै हुने गरेको देखिन्छ।
एकातिर सिनियर सर्जन अझै कुनै अप्रेसन थिएटरमा छिरेको नदेखिनु र बाहिरका अस्पताललाई बिरामी पठाउने काममा समेत समय दिएको देख्दा मलाई लग्यो, हरेक दिन यस वार्डमा हुनुपर्ने जति अप्रेसन पक्कै हुँदैन। यदि त्यसो हुने हो भने बिरामीले यस्तो लामो ‘क्यू’ बस्नुपर्ने पनि थिएन। न त निजी अस्पतालमा धेरै बिरामी ‘रेफर’ नै हुने थिए।
उताका आवासीय (विद्यार्थी) डाक्टरको पीडा र यताका सिनियर डाक्टरको तुजुक ! कतै केही पनि मेल नखाएको प्रष्ट बुझिन्थ्यो।
म निराश भएँ। झल्याँस्स मैले मेरा आदरणीय व्यक्तित्वले भनेको सम्झें र उहाँले दिनुभएको नामको डाक्टर खोज्दै उनको ‘च्याम्बर’ मा पुगें। बिरामी हेर्दै गरेका ती चिकित्सकले पनि टार्न खोजेको, झर्केर बोलेको स्पष्ट देखिथ्यो। अन्त्यमा ‘म कानको डाक्टर हो, नाकको अप्रेसन गरेर आऊ, अनि म मिलाएर अप्रेसन गरिदिउँला’ भनेर उनले हामीलाई पन्छाए। मैले नाकका डाक्टरलाई केही भनिदिन सक्नुहुन्छ कि भनेर अनुरोध गरें। तर पैसाप्यासी मन भइसकेको मानिसमा अरूको पीडाप्रतिको संवेदनशीलता नहुने रहेछ। उनी झर्किएर त्यो आफ्नो काम नभएको बताए र आफ्नो काममा लागे।
हामी दु:खित थियौं। प्रहरी तालिम केन्द्रतिर हिंडेर आउँदै गर्दा मुखले सकेसम्म लामो श्वास तान्दै मनमाया बोलिन्, ‘कस्तो भाग्य लिएर आएछु है सर ! नचिनेको मानिसलाई पनि दु:ख दिएँ। उपचार पनि नहुने भो।’
मनमनै सोचें, पैसाले मानिसलाई कति कमजोर र निरीह बनाउने रहेछ। यदि मनमायासँग पैसा भएको भए, उनी आज दोलखाबाट खल्तीभरि पैसा लिएर आउने थिइन्, निजी अस्पतालमा उनको १/२ दिनमै उपचार हुन्थ्यो, तिनै सरकारी डाक्टर आएर अप्रेसन गर्थे र १ हप्ताभित्रमा घर फर्की सक्थिन्।
देशका होनहार युवालाई राज्य र अस्पतालले कुन हदसम्म मानसिक, शारीरिक र आर्थिक शोषण गरिराखेको छ भन्ने कुरा छर्लङ्ग बुझ्न सकिन्छ। यो अवस्था निजी शिक्षण अस्पतालमा अझै दयनीय छ।
मनमायालाई त केही मुठीभर टाठा-बाठा र पहुँचवालाले असीमित सेवा-सुविधा लिएर विलासी जीवन जिउन खोज्दा आफू जस्ता लाखौं मनमायाहरूले सिटामोल समेत नपाउने अवस्था बनेको हो भन्नेसम्म थाहा थिएन।
मैले मनमायालाई वीर अस्पतालमा कोसिस गर्ने बताएँ।
वीरकी असल मन भएकी एक नर्सले हामीलाई एक जना उस्तै अशल र अरूको पीडा बुझ्ने डाक्टरसँग भेट गराइदिइन्। पालो त वीर अस्पतालमा पनि उत्तिकै कुर्नुपर्ने थियो। किनकि, ७७ जिल्लाकै गाउँले बिरामीलाई थेग्नुपर्ने त यिनै दुई (वीर र टिचिङ) अस्पतालले नै हुन्।
ती महिला डाक्टरले बिरामीको जीर्ण अवस्था, बोलीचाली महसुस तुरुन्तै भनिन्, ‘आउँदो बुधबार एक जना बिरामीले अप्रेसन नगर्ने भएका छन्, त्यही ‘स्लट’ मा तपाईंको अप्रेसन गरिदिन्छु। सोमबार नै आएर भर्ना हुनु।’
उनका वाक्य सुन्दा मलाई साँच्चिकै भगवान् प्रकट भएर बोलेको जस्तो लाग्यो।
अन्दाजी ३० वर्षजतिकी ती महिला डाक्टरको संवेदना र भावनाको गहिराइ टिचिङ अस्पतालकी झन्डै ६० वर्षकी सिनियर सर्जनको भन्दा निकै उच्चस्तरको पाएँ मैले। डाक्टरमा भगवानको रूप देख्ने हाम्रो संस्कार त छँदैछ, उनको व्यवहारले मलाई पनि त्यो कुराको महसुस गरायो।
मनमायाको अप्रेसन भयो र त्यसको दुई दिनपछि दोलखा लागिन्। उपचारमा केही आर्थिक सहयोग गर्ने (हाल फ्रान्स बस्ने) मेरा प्रिय भाइ-साथीको प्रेमिल मनलाई साधुवाद !
तर, दु:खको कुरा, मनमायाको जीवनमा भगवान् बनेर आएकी उनै डाक्टरका अनुसार कानको जाली लगभग क्षति भइसकेको हुनाले अब मनमायाको कानको उपचार लगभग असम्भव छ।
केस २ : सुदूरपश्चिमका एक मित्रलाई वीर र शिक्षण अस्पताल महाराजगञ्जले दिनु दु:ख दिएछ। उनले आफ्ना अनुभव यसरी साझा गरे :
दुई वर्ष अगाडिको कुरा हो। बुबाको श्वास-प्रश्वासमा समस्या आई नाकै बन्द भएपछि हामी धनगढीको निजी अस्पतालमा गयौं। त्यहाँ नाकको अप्रेसन गर्नुपर्छ भनेपछि हामीले सरकारी अस्पताल वीर वा टिचिङमा उपचार गराउने भनेर बुबालाई काठमाडौं ल्यायौं।
वीर अस्पतालको ‘इमर्जेन्सी वार्ड’ हुँदै इ.एन.टी. ओपीडीमा पुग्यौं। त्यहाँका डाक्टरले ‘केस’ अति संवेदनशील भए तापनि उपचार गर्न ३ महिना कुर्नुपर्ने बताए।
हामी निराश हुँदै टिचिङ अस्पताल महाराजगञ्ज पुग्यौं। त्यहाँ त झन् ९ महिनापछि मात्र पालो आउने बताइयो। मेरो प्रश्न थियो, ‘श्वास फेर्न नै समस्या भैराखेको यति अप्ठ्यारो अवस्थामा मेरो बाबा अर्को ९ महिना बाँच्न सक्नुहुन्छ होला त ?’
उनीहरूको ओठे जवाफ आयो, ‘अरूको जीवनको ‘ग्यारेन्टी’ लिने हामी देवता हैनौं।’
त्यसपछि मैले टिचिङ अस्पतालमा कहलिएका डाक्टरलाई विन्ती बिसाएँ। उनी कमलपोखरीस्थित हिमाल अस्पतालमा काम गर्ने रहेछन्। उनले हिमाल अस्पतालमा ८०० रुपैयाँको टिकट कटाएर हेरे र तुरुन्तै अप्रेसन गर्ने बताए। तर उनको माग अनुसारको धनराशि म सुदूरपश्चिमको गरिबले जुटाउन सक्दिनथें। त्यसैले त्यहाँ अप्रेसन हुन पाएन।
ती डाक्टरले टिचिङ अस्पतालमा बसेर ९ महिनामा गर्न नभ्याउने अप्रेसन निजी अस्पतालमा आजको भोलि नै कसरी गर्न भ्याएका होलान् ? के यो सरकारी तलब खाएर निजीमा काम गरेको अवस्था होइन र ?
म बाबालाई लिएर बागबजारको इ.एन.टी. अस्पताल पुगें। त्यहाँका डाक्टरले केही मानवता देखाए। र, ६० हजार रुपैयाँ शुल्कमा गरिदिने भए। तर बुबाको मुटुले एनेस्थेसिया स्वीकार गर्न सकेन। बुबालाई त्यहींका डाक्टरले फोन गरेर हतार-हतार गंगालाल अस्पताल पुर्याए।
सभ्य र तार्किक भाषामा हरेक अनियमितता र गैरजिम्मेवारीमाथि आवाज उठाऔं। अब आम नागरिकले सचेतना अभियान शुरू गर्ने बेला आइसकेको छ, जसले यो पुरानो ढर्राको प्रणालीलाई पूर्णतः बदल्न सकोस्।
बुबालाई ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएको थियो, बेहोस पार्ने औषधिलाई थेग्न नसकेर।
पहिले ९ महिनामा पनि अप्रेसन गर्न नसक्ने बताएको टिचिङ अस्पतालले मेरो बुबाको मुटुको उपचार द्रुतगतिमा गर्यो। न एम्बुलेन्सको पैसा लाग्यो न कुनै उपचारको।
बुबा निको नहुँदासम्म अस्पतालमा बसेको खर्च पनि नि:शुल्क। मलाई जादु भैराखेको वा आफू भीआइपी भएको जस्तो लागिराखेको थियो। नेपालमा यस्तो स्तरको सेवा ठूलो नेता वा मन्त्रीको फोनमा मात्र हुनसक्छ भन्ने लाग्छ मलाई।
ती डाक्टर र इ.एन.टी. अस्पताल बागबजारलाई साधुवाद, जसले बुबाको ज्यान बचाउन बेलैमा कदम चालिदिए ! अस्पतालले सुरुमा लिएको ६० हजार रुपैयाँ पनि फिर्ता गरिदियो।
तर, बुबाको नाकको उपचार भने अझै सम्भव भएको थिएन। अब त झन् मुटुको कारण देखाउँदै तुरुन्तै अप्रेसन गर्न नमिल्ने भनिहाले। हामी वीर अस्पतालमा ३ महिनाको पालोमा फेरि गयौं, तर उच्च रक्तचापको कारण देखाउँदै अप्रेसन गर्न नमिल्ने र पछि पनि अप्रेसन नगर्न सुझाव दिए। हामीले पनि अब अप्रेसन गर्न बल नगर्ने निर्णय गर्यौं। हाल आयुर्वेदिक औषधिले बुबालाई केही आराम भएको हामीले अनुभूति गरेका छौं।
समस्या तमाम र सबैतिर छन्। यो लेखमा ३ करोड नेपाली जनताको आशा र भरोसा बोकेको शिक्षण अस्पताल, महाराजगञ्ज र वीर अस्पतालका उपचार प्रणालीका दृष्टान्त मात्र पेश गर्न खोजिएको हो।
त्यसो त यी दुवै अस्पतालले लामो समयदेखि ग्रामीण र निमुखा जनतालाई दिएको अविरल र अविचलित सेवालाई अवमूल्यन गर्न भने सकिंदैन। अझ टिचिङ अस्पतालका आधासरो सिनियर चिकित्सकहरू द्रव्यमोहमा आफ्नै वा अरूका निजी अस्पताल र क्लिनिकमा कार्यालय समयमै ‘रफुचक्कर’ भैराखेको परिप्रेक्ष्यमा यस अस्पतालको शान कायम राखिदिने र लाज राखिदिने काम आवासीय चिकित्सकहरूले धानिदिएका छन् भन्दा अत्युक्ति हुँदैन।
म पोस्टग्र्याजुएट अध्ययनरत आवासीय चिकित्सकहरूलाई मनैदेखि नै नमन गर्न चाहन्छु, जसले अब्बल र मिहिनेती भएर नाम मात्र निकालेनन्, एक बोतल पानी र एक पोका चाउचाउका भरमा अहोरात्र सेवा गरेर लाखौं गरिब बिरामीको उपचार गरेका छन्। टिचिङ अस्पतालको प्रसूति वार्डमा गएर अवलोकन गर्नेले महसुस गर्न सक्छ, आवासीय चिकित्सकहरूले गरेको योगदान र पीडाको वास्तविकता।
देशका होनहार युवालाई राज्य र अस्पतालले कुन हदसम्म मानसिक, शारीरिक र आर्थिक शोषण गरिराखेको छ भन्ने कुरा छर्लङ्ग बुझ्न सकिन्छ। यो अवस्था निजी शिक्षण अस्पतालमा अझै दयनीय छ।
प्रश्न उठ्न सक्छ, डाक्टर किन बन्ने ? जीवनभरको सपना, मिहिनेत र अभिभावकलाई ठूलो आर्थिक बोझ; यी सब कुराको लगानीमा प्राप्त हुने भनेको कि त मानसिक र शारीरिक रूपमा शिथिल अनि भावनात्मक रूपमा शून्य हुने गरी विना पारिश्रमिक काम गर्न। अर्कोतर्फ, कि त आफ्नो आत्मसम्मान र प्रतिष्ठा बेचेर कहिल्यै नमेटिने द्रव्यमोहको भासमा जाकिन।
हाम्रो देशमा चिकित्सक पेशा निर्भीक, आत्मसम्मान र उचित पारिश्रमिक सहितको सन्तुष्ट ‘करियर’ भएको गरिमामय पेशा रहेन। यो पेशा पनि विद्वानहरूले भन्ने गरेको ‘क्रोनी (क्रोनिक) क्यापिटालिजम’ को बलिस्ट चपेटामा परिसक्यो। श्रम, सीप र विद्वत्ताको चरम शोषण ‘क्रोनी क्यापिटालिजम’को एउटा ठूलो नतिजा हो। स्मरण रहोस् ‘क्रोनी क्यापिटालिजम’ मा सत्ता, व्यापारी स्वार्थ समूह मिलेपछि जेसुकै गरी पनि ठिक हुन्छ, सही हुन्छ, तर त्यसमा औंला उठाउने पक्ष गलत र अपराधी करार हुन्छ, विकास विरोधी हुन्छ भन्ने भाष्य निर्माण भएको हुन्छ।
‘इएनटी’ अर्थात् ‘नाक-कान-घाँटी’ विभाग हामीले हरेक अस्पतालमा देखिरहेकै हो। तर यही विभागमा तपाईं अलि सिरियस केस लिएर जानुहोस्, सामान्यतया सरकारी अस्पतालमा उपचार हुन असम्भव छ, जबसम्म नेता वा मन्त्रीको सोर्सफोर्स लगाउन सक्नुहुन्न। किनकि, डाक्टरले भ्याउँदै-भ्याउँदैनन्। तपाईंले पालोमा नाम चढाउन मात्रै महिनौं कुर्नुपर्छ भने फेरि अप्रेसनकै पालो आउन अर्को ८/९ महिना कुर्नुपर्छ।
त्यसपछि पनि बिरामी जिउँदै भएर आफ्नो पालो आएमा अप्रेसन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन। किनकि पहिल्यै बुझ्नुपर्थ्यो, डाक्टरले पहिल्यै निजी उपचारकेन्द्रतिर आह्वान गरेको कुरा। त्यसैले फेरि पनि अप्रेसन गर्ने मिति लंगारिने कुरा लगभग निश्चित नै हो, कुनै न कुनै बहानामा। तर यो कुरा सबै डाक्टरमा भने लागू नहुन सक्छ। कति डाक्टरहरू साँच्चिकै भगवानको दर्जामा राख्न सकिने खालका पनि छन्, जो सेवा गर्न र बिरामीको शारीरिक र मानसिक घाउमा मल्हम-पट्टी लगाउन नै आएका हुन् जस्ता लाग्छन्।
अर्कोतिर, बिरामी निजी अस्पतालमा गयो भने उपचार वा चिरफार जतिसक्दो चाँडो शुरु हुनेछ। अप्रेसन गर्ने डाक्टर तिनै सरकारी अस्पतालबाट दौडँदै आइपुग्छन्। यद्यपि, बिरामी गाउँबाट आएको हो र आर्थिक रूपमा सबल छैन भने निजी अस्पतालमा उपचार असम्भव नै छ। वा, भएको घरबारी गयो।
हामी अरूका कथा चाख मानेर सुन्छौं वा पढ्छौं, तर जब आफैंलाई यस्तो समस्या आइपर्छ, त्यो बेला दैवको लाठी बज्रिएको थाहा पाउँछौं। तब ठूलो भीडको बीच एक्लो हुन पुग्छौं, मरुभूमिको काकाकुल बनिन्छौं।
त्यसैले, हरेक अनियमितता र गैरजिम्मेवारीमाथि आवाज उठाऔं, सभ्य र तार्किक भाषामा। अब सबैतिर आम नागरिकले एउटा सचेतनाको अभियान शुरू गर्ने बेला आइसकेको छ, जसले यो पुरानो ढर्राको प्रणालीलाई पूर्णतः बदल्न सकोस्।
प्रतिक्रिया दिनुहोस्