दुई पार्टीको यो सरकार भूतो न भविष्यती भयो

नेपाली कांग्रेसको राजनीतिमा कोइराला परिवारको लामो विरासत छ । बिपीपुत्र सशांक र गिरिजापुत्री सुजाता राजनीतिमा सक्रिय रहे पनि पछिल्लो समय कांग्रेसभित्र दमदार नेताका रूपमा डा. शेखर छन् । शेखर बिपीका साहिंला भाइ केशवप्रसाद र नोनाका पुत्र हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय उनी डाक्टरी पढ्न भारत गए । पाल्पाको मिसन अस्पताल हुँदै विराटनगरको कोशी अञ्चल अस्पतालमा केही समय काम गरे । पेशाले फिजिसियन उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा अध्यक्ष र उपकुलपतिको रूपमा केही समय काम गरे र चिकित्सा पेशा छाडेर पूर्णकालीन राजनीतिमा होमिए । २०६४ को निर्वाचनमा मोरङ ७ बाट प्रतिनिसभामा चुनिएका उनी ०७४ सालमा एमालेका पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग पराजित भएका थिए ।  ०७९ मा उनै पण्डितसँग बदला लिँदै फेरि संसद प्रवेश गर्न सफल भए । वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्येका उनी पछिल्लो समय सरकारकै गतिविधि, कार्यशैलीप्रति रुष्ट सुनिन्छन् । 

‑ हरि गजुरेल

frontline

० वर्तमान कांग्रेस–एमाले गठबन्धनको सूत्रधारमध्ये एक तपाईं पनि, अहिले यही गठबन्धनको सबैभन्दा कटु आलोचक हुनुहुन्छ । के मा हो चित्त दुखाइ ? 

‑ आठ/नौ महिनामा सरकार परिवर्तन भइरहँदा वाक्क दिक्क थिए । सरकार अस्थिर हुँदा देशका सबै कुरा अस्थिर हुने कारण अन्तिम विकल्पका रूपमा ठूला दल कांग्रेस र एमालेको सरकार बनाऔं, संविधानका त्रुटिको पुनरवलोकन गरौं भन्ने कोणबाट केपी ओलीजीसँग वार्ता÷संवाद भयो र सोहीअनुसार सरकार बन्यो । दण्डहीनता अन्त्य गरोस्, सुशासन कायम गरोस् र मुलुकलाई आर्थिक समृद्धितिर लगोस् भनेर संयुक्त सरकार बनाउँदा एक प्रकारको डर थियो, कतै निरंकुशतातिर पो जान्छ कि ! नभन्दै अहिले त्यही दिशातिर गइरहेको देखिन्छ ।

अर्काेतिर, १० महिनाको अवधिमा कमिटमेन्ट गरिएका कुरा केही अगाडि पनि बढेको देखिएन । संविधान संशोधन गर्ने भनियो तर आजसम्म पुनरावलोकनका लागि कमिटी बनेको छैन । भ्रष्टाचार बढिरहेको छ । दण्डहीनता मौलाइरहेको छ । सत्तामा भएकालाई दण्डहीनता नलाग्ने, अरुलाई लाग्ने भइरहेको छ । दुई महिनादेखि गभर्नर नियुक्ति हुन सकेको छैन । यी सिरियस कुरा मैले उठाएको हो । भोलि नेपाली कांग्रेसको प्रतिष्पर्धी त एमाले नै हो । हामी सरकारमा छौं, मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुहोस् । तर, हामी प्रतिस्पर्धी हौं र गलत कुरालाई गलत भनौं भनेको हुँ । 

० चित्तदुखाइ केपी ओलीको कार्यशैलीको विषयलाई लिएर मात्र हो वा देउवाको मात्र कुरा सुनेर आफूलाई बेवास्ता गरेको भनेर हो ? 

‑ शेरबहादुरजी र केपी ओलीजीलाई यदि त्यस्तो लाग्छ भने दिमागबाट यो कुरा हटाइदिनुप¥यो । मैले राजनीति मेरालागि गरेको होइन । यो सरकारको सर्भिस डेलिभरी त छँदैछैन । ओलीजीले ठूलो मौका गुमाइरहनुभएको छ । कांग्रेस र एमालेको यो सरकार ‘भुतो न भविष्य’ भयो । 

० तपाईंको कोटाबाट पनि क्याबिनेटमा केही मन्त्री छन् नि, उनीहरूको कार्यसम्पादन चाहिँ चित्तबुझ्दो छ त ! 

‑ उसको कोटा र मेरो कोटा भन्ने कोणबाट म हेर्दिनँ । मन्त्री बनेकाहरू सबै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका छन् । तर सत्य केचाहिँ हो भने, उनीहरूबाट पनि जनअपेक्षाअनुसारका काम भइरहेको छैन । कता कता अल्मलिएको जस्तो लाग्छ । दुई ठूला दल सरकार चलाउने मौका विरलै पाइन्छ । तर प्रधानमन्त्रीज्यू मुखले मात्र भ्रष्टाचार गर्न हुँदैन, दण्डहीनता अन्त्य गर भन्नुहुन्छ । अहिले अख्तियार, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धानजस्ता निकायमा कसका मान्छे छन् ? ती निकाय किन सक्रिय छै्रनन् कसले भुत्ते बनाएको छ ती निकायलाई ? 

० गडबडी केपी शर्मा ओलीले गर्ने, गाल कांग्रेसले पाउने भन्न खोज्नुभएको हो ? 

‑ नेपाल विद्युत् प्राधिकरण नाफा वा घाटा के मा छ त्यो म जान्दिन । तर यसको वस्तुस्थिति मन्त्रीजीले संसदमै दिनुपर्ने अवस्था बन्दैछ, कुनै छलकपट नगरी । कुलमानजीले गलत काम गरेका हुन् भने कारवाही गर्ने निकाय छन् । प्रधानमन्त्री र मन्त्रीजी जति पटक रोष्टममा आए पनि उहाँहरूका अगाडि अरु इस्यु गौण र कुलमानमात्र प्रमुख विषय किन बन्यो ? त्योभित्र कुन स्वार्थ छ ?सर्वाेच्च अदालतले डेडिकेटेड फिडरको रकम उठाऊ भन्यो । कुलमानलाई हटाइएको महिना दिन बित्यो । पैसा उठाइयो त ? चार महिनापछाडि अनिवार्य अवकाशमा जाने मान्छेलाई हटाउन प्रधानमन्त्री र मन्त्री किन हात धोएर लाग्नुभयो ? जनताले सुक्ष्म रूपबाट हेरिरहेका छन् । कुलमानलाई सम्झाएर पनि हटाउन सकिन्थ्यो होला । चार्ज लगाएर हटाउँदा राम्रो अर्थ गएको छ त ? त्यही कारण डे वानदेखि नै यो सरकारको कार्यशैली नै ठीक भएन भन्दै आएको छु । 

० यो गठबन्धन कतिसम्म जाला भन्ने लाग्छ ?

‑ उहाँहरू अण्डरस्ट्यान्डिङमा अगाडि बढ्नुभएको छ । त्यस कारण यो गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन । 

० यही सरकारले संविधान संशोधन गर्नेमा तपाईं कत्तिको आशावादी हुनुहुन्छ ? 

‑ आशा मरिसकेको छ । भनिन्छ, मर्निङ सोज द डे । सरकार बन्नेबित्तिकै उहाँहरूले यो काम शुरु गरिदिएको भए संविधान संशोधन हुन्छ भन्ने बुझ्थ्यौं । संविधान संशोधन तल्लो र माथिल्लो दुबै सदनबाट हुनुपर्छ । तर, हिजो संविधान संशोधन गर्ने भनेर बोलिसकेपछि संसदीय कमिटी वा बाहिरबाटै बनाएको भए पनि हुन्थ्यो । प्रधानमन्त्रीले ०८६ पछि मात्र संशोधन हुन्छ भनेर बोल्नु त झनै हाँस्यपद कुरा हो ।

० १४ औँ महाधिवेशनमा तपाईंकै प्यानलबाट गगन थापा महामन्त्रीका उम्मेदवार थिए । अहिले तपाईंसँग छैनन् । गगनहरु तपाईंतिर खुल्दा संसदीय दलमा बलियो हुनुहुन्थ्यो, तर, गगनहरू हिँडेपछि पार्टीमा कस्तो छ स्थिति ? 

‑ तपाईंहरू नेपाली कांग्रेसको यति धेरै चिन्ता नगर्नुहोस् । १२ देखि १४ औं होस वा त्यस अगाडिका अधिवेशनहरू हेरौं न । कुनै समय शेरबहादुरजी पनि गिरिजाबाबुसँगै हुनुहुन्थ्यो । एउटा समय उहाँ अलग हुनुभयो । र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउनुभयो । तर एउटा विश्वासचाहिँ दिलाउँछु कि नेपाली कांग्रेसलाई कुनै हालतमा फुट्न दिन्न, म । 

० देश दौडाहा गरिरहनुभएको छ । सभापतिमा फेरि पनि उठ्नुहुन्छ कि मैदान छोडिदिनुहुन्छ ? 

‑ विभिन्न जिल्ला घुम्दै छु । साथीहरूको विचार बुझ्दै छु ।

० यहाँलाई लाग्दैन, कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र खिया लाग्दै गएको छ भनेर ?

‑ अराजकता कतिसम्म ठीक भनेर बुझ्न जरुरी छ । समयमा अधिवेशन नहुँदा मेरालागि लोकतन्त्र भएन । यही कुरा कसैका लागि लोकतन्त्र हुनसक्छ । विधानमा एक वर्ष सार्न सक्ने व्यवस्था कुनै कारणले लेखेको हुन्छ तर त्यसलाई मानक मानिरहेका छौं । ऐन, नियममा छिद्र प्रयोग गरिएको छ । अहिले मुलुक त्यही कारण त बिग्रिएको हो । अहिले सामाजिक सञ्जालले लोकतन्त्रको परिभाषा परिवर्तन गरिरहेको छ । बिपी र गणेशमानको पालामा पुस्तक पढेर आफ्नो विचार बनाउँथे, हाम्रो समयमा अखबार पढ्छौं । अहिलेको पुस्ता सामाजिक सञ्जाल हेरेर विचार बनाउँछ । त्यसले कस्तो विचार दिन्छ ?

० हालै भारत–पाकिस्तान युद्धमा सार्कको अध्यक्षको भूमिका सन्तुलित हुन सकेन भन्ने सुनिन्छ । नेपालले सन्तुलित वक्तव्य दिनुपर्नेमा एकपक्षीय आयो । लगत्तै घटनाक्रम अर्काे ढंगबाट अगाडि गयो । यसलाई कसरी लिने ? 

‑ पहलगाममा एक जना नेपाली युवालाई धर्म सोधेर मारिएको छ । त्यो कुरालाई बिर्सन सकिँदैन । कुनै पनि प्रकारको टेरिरिज्म नेपालले स्वीकार गर्दैन । थ्याँक्स गड, भारत पाकिस्थानको युद्धविराम भएको छ । जहाँसम्म सार्कको प्रश्न छ, हामी आठ दश वर्षदेखि अध्यक्षको भूमिकामा छौं तर म्यानेज गर्न सकेका छैनौं । अहिले त सार्कको औचित्य नै छ कि छैन ? भन्ने स्थिति भइसक्यो । भारत र पाकिस्तान एक ठाउँमा नउभिने हो भने सार्कको औचित्य नै छैन भन्दा हुन्छ । बिमस्टेक अगाडि बढेको छ । सार्क ओझेलमा परेको पाइन्छ ।  

० पछिल्लो समय नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध कुन तहको पाउनुहुन्छ ? 

‑ हामी कूटनीतिलाई राजदूतले के–कसो गरेका छन् भन्ने कोणबाट मात्र हेर्छाैं तर नेपाल–भारतको कूटनीतिलाई त्यो रूपमा मात्र हेरिनुहुन्न । भारत र नेपालको सम्बन्ध पिपुल टु पिपुल लेभलमा छ । मेरो पनि त्यताका धेरै राजनीतिक साथीहरूसँग सम्बन्ध सम्पर्क छ । 

० मोदी र ओलीबीच अमेरिकादेखि बैंककसम्म एकल वार्ता भयो । तर हाम्रा प्रधानमन्त्रीलाई उताका प्रधानमन्त्रीले निमन्त्रणा नदिनुले प्रश्न उठाउनेहरू पनि छन् नि ? 

‑ कोशिश त भइरहेको होला तर भारत भ्रमण भएन भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन । यो विषयलाई मिडियाले अलि बढी नै उछालिरहेका छन् । 

० हिजो रवि लामिछानेले प्रेस ऐन, राहदानी, नागरिकता, अध्यागमन, कर, श्रम कानुन उल्लंघन गरेकोमा प्रेस काउन्सिलले कारबाही गर्दा जोगाउने उनै केपी ओली । अहिले उनै रविलाई सहकारी प्रकरणमा डाम्दा उनकै नेतालाई बचाउनेदेखि भगाउनेसम्म काम भएको छ । यो त मस्त्य न्याय भएन र ? 

‑ त्यही कारण त म भन्दैछु, सरकार गलत ट्रयाकमा गइरहेको छ । आफ्ना मान्छे हुन् भने उनीहरूका गल्ती र कमी कमजोरीमा आँखा चिम्लिएको छ, छोडिदिएको छ । मन्त्रीले पैसा लिएको सप्रमाण बाहिर आउँछ । पैसा दिने मान्छेहरू जेल पुग्छन्, मन्त्रीहरू खुलेआम घुम्छन् । कसले बोलिदिने, भनिदिने यो कुरा ? कतिपय साथीहरू किन बोल्या यस्तो छुच्चो कुरा भन्छन्  । सत्यलाई सत्य गलतलाई गलत भनौं । 

० हिजो पम्फादेवी उर्फ रानी ऐश्वर्याले विदेशमा पैसा लुकायो भनिन्थ्यो । ठेक्का पट्टाका अलावा अहिले त प्रहरीदेखि कर्मचारीको सरुवा बढुवामा नेतृत्वको चासो देखिन्छ । सरुवा बढुवा गरेरै पैसा उठाउने हो र ! 

‑ केहीअघि कोशी प्रदेशको मुख्यसचिवलाई सोधें यो तीन वर्षमा कतिजना मुख्यसचिव फेरिनुभयो ? उनको जवाफ थियो– आठ जना । यसरी तीन तीन महिनामा मुख्यसचिव चेञ्ज गर्ने हो भने प्रदेशले के काम गर्दछ ? आफूमा कन्फिडेन्स नभएरै कर्मचारी चलाइने हुन् वा आफूले भनेअनुसार नगरेर । यो त ठीक भएन । व्युरोक्रेसी सबै असल छन् भनेको होइन तर दुई÷तीन महिनामा कर्मचारी परिवर्तन भएमा कस्तो डेलिभरी दिन्छ !

० हुँदा–हुँदा आरजु देउवाका व्यवसायिक पाटर्नरको नाम पो गभर्नरको रूपमा अगाडि आइरहेको छ । कसरी लिने, यसलाई ? 

‑ यो कुशासनको एउटा नमुना हो । संविधान, ऐनलाई सरकारले लत्यायो । गभर्नर रिटायर्ड हुनु एक महिना अगाडि नै नियुक्ति हुनुपर्ने हो तर दुई महिनादेखि पद रिक्त छ । डेपुटी गभर्नरले राजनीनामा स्वीकृती गर्न मिल्दैन, भनेर अल्झाइरहेको सुनिन्छ । हु इज सी ? 

० गभर्नर नियुक्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले डबल स्ट्याण्डर्ड खेलिरहेका छन् भन्छन् त ? त्यस्तै हो र ? 

‑ कामु गभर्नरले कार्यकारीको राजीनामा स्वीकृत गर्दिन भनेर रोक्न मिल्छ ? यस्ता विषयमा हाम्रा मन्त्री र सभापतिजीले बोल्नुपर्ने हो । यो कुशासनको नमुना हो । उहाँले गभर्नरका रूपमा डेपुटी गनर्भरलाई खोजिरहनुभएको छ । हाम्रा ओभरसाइड इन्स्टिच्युट त खत्तम बनाइसकियो । यो सबै डर प्रधानन्यायधीश सुशीला कार्कीलाई महाभियोग लगाइए बाट शुरु भयो । त्यो गलत कदम थियो । त्यसपछि देशभर सबैलाई डर लागेको छ ।  

० अहिले संवैधानिक निकायमा नियुक्त ५२ भाइको विषयमा संवैधानिक इजलासमा धमाधम सुनुवाइ भइरहेको छ । यो विषय कसरी टुंगो लाग्ला ? 

‑ सरकारको निर्णय प्रक्रियामाथि यसले धेरै ठूलो प्रश्न गर्ने ठाउँ दिएको छ । मलाई लाग्दैन, धेरै अप्रिय निर्णय आउँछ । सरकारलाई केही त भन्ला किनभने हतियार सबै उहाँहरू सँगै छ । 

० खाइजीविका कसरी चल्दै छ ? 

‑ खातापिता घरकै हुँ । डाक्टर भइसकेको । केही बैक व्यालेन्स होला । २० बिगाहा जग्गा जमिन छ । अहिले पनि खेती गर्दछौं हामी । धेरै तडक भडकको जीवनशैली छैन । खर्च एकदम कम छ । छोरा छोरीको चिन्ता छैन । छोरी हुर्किसकी । यद्यपि गाह्रोचाहिँ हुन्छ । साथीहरूलाई सहयोग गर्नुपर्दा, हिँडडुल गर्दा अप्ठ्यारो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here