संरक्षण र क्षयीकरणको दोसाँधमा वानस्पतिक सम्पदाको केन्द्र

जैविक विविधता संरक्षण र दिगो उपयोगमा यही मात्र उपयुक्त र श्रेष्ठ विधि भन्ने केही छैन । तर उपयोग र संरक्षणलाई कसरी एकाकार गराउन सकिन्छ भनेर मार्ग निर्दिष्ट गर्ने विज्ञान भने हामीसँग छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- जलथल वन झापाको दक्षिणी भागमा रहेको ६१०० हेक्टर क्षेत्रको जैविक विविधता सम्पन्न टुक्रा हो।
- विगत ६ वर्षको अध्ययनले जलथलमा ६०० प्रजातिका वनस्पति, २३५ प्रजातिका चराका साथै संकटापन्न प्रजातिहरू पाइएको देखाएको छ।
‘जैविक विविधता सबैभन्दा महत्वपूर्ण तर हामीले चिन्न नसकेको स्रोत हो ।’
– स्व. एडवार्ड विल्सन
नेपालमा वनले दोहन र विनाशको लामो शृङ्खला झेल्दै आएको छ । वन विनाश तथा दोहनमा घरेलु मात्र नभई बाह्य शासकहरूको पनि संलग्नता थियो भन्ने कुरा सालका गोलिया ओसार्न राणाकालमा नै अमलेखगञ्जसम्म रेल आएबाट बुझ्न सकिन्छ ।
तराईको वनमा दोहनको शृङ्खला लामो भए तापनि सन् १९५० पछि यो क्रम उल्लेख्य बढ्यो । सन् १९५० को दशकमा औलो उन्मूलन गर्ने कार्यक्रमसँगै तराई र मधेशमा विकासका विभिन्न कार्यक्रम सुरुआत गरिए । विकासका खातिर सरकारी योजना अनुसार वा योजना विनै पनि धेरै वन फडानी भयो । फडानी नभएको वन पनि खण्डीकरण र निरन्तर क्षयीकरण भयो । धेरै ठाउँमा बस्ती विस्तार र जनसंख्या वृद्धिसँगै बाँकी रहेको वनभित्र पसेर गुणस्तरीय रूख र मूल्यवान् स्रोतको दोहन भयो ।
नेपालमा अहिले वन विनाशको अवस्था त छैन तर वनमाथिको प्रहार र दोहन भने कम भएको छैन । वातावरणीय शुद्धीकरणको कर्मकाण्ड सहित प्राकृतिक वनमाथि नदेखिने गरी क्षति पुर्याउने र विभिन्न आवरणमा वैध र अवैध दोहनको उपक्रम निरन्तर छ । यसरी वनमाथि दोहन हुँदा स्वाभाविक रूपमा त्यहाँको जैविक विविधतामा समेत संकट पर्दै आएको छ ।
सात दशकदेखिको वन विनाशबाट बच्न सफल वन हो, झापाको जलथल चारकोसे वन । मे २२ अर्थात् आज विश्व जैविक विविधता दिवसको सन्दर्भमा सुदूरपूर्वको समथर भू–भागमा मानव बस्ती बीचको एउटा टापु अर्थात् जलथल वनको जैविक विविधताको सम्पन्नता र क्षयीकरण सार्वजनिक चासोको विषय हुनाले यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।
जलथलः बचे–खुचेको वनको एउटा टुक्रा
झापाको दक्षिणी भागमा लगभग ६ हजार १०० हेक्टर क्षेत्रफलमा फैलिएको जलथल चारकोसे वन कुनै बेला घना र अविच्छिन्न चारकोसे वनको बचेखुचेको एउटा खण्ड हो । अंग्रेजीमा ‘रेम्नन्ट फरेस्ट’ भनिने मुख्य वन क्षेत्रबाट छुट्टिएको र वरिपरि बस्तीले घेरेको यस्तो आकारको वन नेपालको तराईमा दोस्रो छैन । कुनै बेलाको घना वनको फडानी हुनबाट जोगिएको टुक्रा मात्रै यसको विशेषता होइन, बरु यहाँको विद्यमान जैविक विविधता र विविध पारिस्थितिक प्रणाली नै यसको मुख्य विशेषता हो ।

जलथल वनमा विगत ६ वर्षदेखि सञ्चालित अध्ययनले यो वनको जैविक विविधताका विविध आयाममा प्रकाश पारेको छ । समग्र जैविक विविधतामा धनी भए पनि वानस्पतिक विशेषता यहाँ उल्लेख्य छ । नेपालको कुनै एउटा निश्चित क्षेत्रभित्रको अध्ययनले जलथलको जति वनस्पतिको प्रजातीय विविधता अभिलेख गरेको छैन ।
मध्य र पश्चिम नेपालको तुलनामा जलथलको जैविक विविधता उच्च छ । जलथलमा मात्रै लगभग ६०० प्रजातिका वनस्पति भेटिएका छन् । त्यसैगरी वनमा २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली र ४३ प्रजातिका माछा समेत अभिलेख गरिएका छन् । उक्त वनमा सरीसृपका मात्र ३२ प्रजाति भेटिएका छन् ।
जलथल वन प्रजातिको संख्याले मात्र सम्पन्न छैन, ती प्रजातिहरू संकटापन्न र संरक्षण प्राथमिकता प्राप्त समेत छन् । विश्व संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा परेको हात्ती (संकटापन्न), लाम्चे कछुवा र सालक (अति संकटापन्न) जस्ता वन्यजन्तु जलथलमा पाइनुले जलथल कति महत्वपूर्ण छ भन्ने कुरा दर्साउँछ । त्यसैगरी नेपालको कालो गरुड र सुनगोहोरो जस्ता संरक्षित वन्यजन्तु पनि जलथलमा पाइन्छन् । जलथल वनमा अनौकाठ, रातो शिरीष, थाकल र सतिसाल जस्ता दुर्लभ र संकटापन्न वनस्पति समेत भेटिन्छन् ।
जलथल वनको क्षेत्रफल सानो भए तापनि यसका अनेक विशेषता छन् । यो वन नेपालकै सबैभन्दा होचो भू–भागमा अवस्थित छ । नेपालकै होचो भू–भाग केचना र महाभारतकालीन पुरातात्विक महत्वको कीचक वध यो वनको वरिपरि नै छन् । नेपालकै होचो भू–भाग हुनाले वनभित्र र बाहिर प्रशस्त सिमसार छन् ।
जलथल वनको प्रकृति नेपालको अन्य भागको भन्दा पृथक् भए तापनि यो वन साल मिश्रित प्राकृतिक वन हो । यो वनलाई तराईको साल मिश्रित वन वा उष्णप्रदेशीय सालको मिश्रित वन भनेर पनि भन्न सकिन्छ । मुख्य रूपमा सालको वन भए पनि यो वन भित्र विभिन्न प्रकृति र अवस्थाका वनखण्डहरू देख्न सकिन्छ ।
सालको वन बाहेक यहाँ नदी तटीय वन, लटहरको वन र सदाबहार वन समेत देखिन्छ । साथै जलथल वनमा प्राथमिक वनका धेरै अवयव (लामो इतिहास भएका रूखहरू, रूख जस्तै ठूलाठूला लहराहरू, च्याउ एवं सुनाखरीले ढाकेका रूखहरू) देख्न सकिन्छ ।
पूर्ण रूपमा तराईको भ–ूभाग भए तापनि यहाँको भूगोल फनि विविधतायुक्त छ । डाँडाकाँडा र खोल्साखोल्सीयुत्त भूगोलले यो वनको जैविक विविधता निर्माण गरेका छन् ।
रूखको राजधानी
जलथल वनको क्षेत्रफल ६ हजार १०० हेक्टर छ, जुन नेपालको वन क्षेत्रको जम्मा ०.१ प्रतिशत हो । सन् २०२२ मा प्रकाशित प्राध्यापक कृष्ण श्रेष्ठ सहितको टोलीद्वारा लिखित नेपालको वनस्पतिको अद्यावधिक सूची अनुसार नेपालमा ५९८ प्रजातिका रूखहरू पाइन्छन् । यद्यपि, नेपालका रूखको संख्याबारे फरक–फरक तथ्यांक प्रकाशित छन् ।
जलथलमा नेपालमा पाइने ६०० प्रजातिका रूखमध्ये १५५ प्रजाति पाइन्छन्, जुन नेपालमा पाइने रूखहरूको एक चौथाइ हुन आउँछ । तुलनात्मक अध्ययन गर्ने हो भने, रूखहरूको प्रजातीय विविधताको दृष्टिकोणले जलथल नेपालकै सबैभन्दा धनी क्षेत्र हुनसक्छ । रूखको प्रजाति संख्या मात्र होइन, जलथलका कतिपय रूखहरू नेपालकै लागि विल्कुलै नौला समेत छन् । फरेस्ट एक्सन नेपाल नेतृत्वको अध्ययनले जलथलबाट मात्र नेपालका लागि ६ वटा रूखका प्रजाति नयाँ भनी अभिलेख गरेको छ । रूखहरूको प्रजातीय विविधताको कारणले जलथललाई नेपालको रूखको राजधानी भन्दा अत्युक्ति नहोला ।
दुई सेतुको शरणस्थल
जीव वा वनस्पति दुवैको उद्विकासको उपक्रममा कतिपय जीव र वनस्पति दुई फरक समूहका गुणहरू बोकेर विकसित हुन्छन् । त्यस्ता प्रजातिहरूलाई दुई समूहको पुलेसो वा सेतुको रूपमा पनि बुझ्ने गरिन्छ । जलथलमा त्यस्तै सेतु मानिएका दुई वटा प्रजाति अभिलेख गरिएको छ ।
स्थानीय स्तरमा थाकल वा हात्ती न्युरो भनेर चिनिने साइकस पेक्टिनाटा वा साइकस नामक प्रजाति उन्यु र कोणधारी वनस्पतिको विकासक्रमलाई जोड्ने प्रजाति भनेर भनिन्छ । यसको पात उन्यु वर्गको जस्तो देखिन्छ भने यसमा लाग्ने बीउ चाहिं कोणधारी वर्गका वनस्पतिसँग मिल्दोजुल्दो हुन्छन् ।
जलथलमा भेटिएको अत्यन्तै दुर्लभ र वनस्पति विकासक्रमको एउटा अर्को महत्वपूर्ण प्रजाति हो, भोटे लहरा । भोटे लहरालाई फूल फुल्ने र कोणधारी वनस्पतिहरू बीचको सेतु भनिन्छ । यसलाई कोणधारीसँगैको समूहमा राखिए तापनि यसका पातहरू चौडा हुन्छन् ।

थाकल र भोटे लहराको अर्को विशेषता के हो भने, यी दुवै वनस्पतिहरू सामान्यतया कोणधारी वर्गका वनस्पतिभन्दा फरक हावापानीमा भेटिन्छन् । सामान्यतया कोणधारी वनस्पतिहरू शीतोष्ण क्षेत्रमा पाइन्छन् तर यी दुई चाहिं उष्णप्रदेशीय क्षेत्रमा पाइन्छन् ।
साइकसहरू ३० करोड वर्ष पहिले उत्पत्ति भएको भन्ने जीवाशेषको प्रमाण भेटिन्छ । १५ देखि २० करोड वर्ष पहिले जतिबेला धर्तीमा डाइनोसरका विभिन्न प्रजातिको अस्तित्व थियो, त्यही बेला पृथ्वीको वनस्पति जगतमा साइकसहरूको प्रभुत्व थियो । भौगर्भिक इतिहासमा ६ करोड ५० लाख वर्षअघि डाइनोसरका सयौं प्रजाति पृथ्वीबाट लोप हुँदा पनि यो वनस्पतिले आफूलाई बचाउन सक्यो ।
लामो भौगर्भिक इतिहासको आरोह र अवरोह झेल्दै आफूलाई जोगाउँदै आएका कतिपय प्रजातिहरू आज मानिसको क्रियाकलापबाट बच्न संघर्ष गर्दैछन् । थाकल पनि यस्तैमध्येको एक प्रजाति हो । नेपालको तराईमा कुनै बेला सालसँग यसको वन थियो भन्ने कुरा ७० वर्षअघि नेपालको अध्ययन गर्ने फ्रान्सेली वनस्पतिविद् डोब्रेमेजका अभिलेखबाट बुझ्न सकिन्छ । आज तराईमा थाकल कतै बचेको छ भने त्यो जलथलमा मात्र हो । चुरेका विभिन्न भागमा भेटिएको भोटे लहरा तराईमा भने जलथल बाहेक अन्यत्र भेटिएको छैन ।
आज तराईमा दुर्लभ भए पनि विगतमा थाकल र भोटे लहरा दुवै प्रशस्त थिए भनेर सहजै अनुमान लगाउन सकिन्छ । वन फडानी, खण्डीकरण र क्षयीकरणसँगै यी दुवै वनस्पति साँघुरिंदै आउँदा जलथल शरणस्थल जस्तै बनेको छ ।
वानस्पतिक भौगोलिकीमा विशिष्ट स्थान
नेपालको पूर्वबाट पश्चिमतर्फ लाग्दा चिस्यान घट्दै जान्छ भने सुख्खापन बढी हुँदै जान्छ । यही कारणले पूर्वी भागको वनस्पतिको विविधता र समिश्रण पश्चिम र मध्य नेपालको भन्दा फरक पर्छ । पहाडी भागमा अक्सर देखिने पात्ले कटुस, मुसुरे कटुस, चिलाउने, पाँचपाते जस्ता एकदर्जन प्रजाति जलथलमा समेत पाइन्छन् भने नेपालको मध्य र पश्चिमी तराईमा यी प्रजातिहरू त्यति भेटिंदैनन् ।
जलथलमा लटहर भनिने कटहर जस्तै देखिने रूखको प्राकृतिक जंगल छ । यस्तो जंगल जलथल बाहेक अन्यत्र छैन । यद्यपि, यसका रूखहरू कोशी नदीसम्म फाट्टफुट्ट भेटिन्छन् । त्यसैगरी स्थानीय भाषामा थाकल भनिने सदाबहार र आकर्षक रूख साइकस पेक्टोनाटाले पनि जलथलको वनलाई नेपालको अन्यत्रको भन्दा फरक देखाउँछ ।

लटहर, थाकल, लाली, पाँच फल, वन सुपारी जस्ता दक्षिणपूर्वी एशियामा प्रचूर मात्रामा पाइने रूखका प्रजातिहरू जलथलबाट पश्चिमतर्फ लाग्दा घट्दै जान्छन् । दक्षिणपूर्वी एशियाका यस्ता प्रजातिहरूको पश्चिमतर्फको अन्तिम बिन्दु जस्तै देखिन्छ पूर्वी नेपाल र जलथलको वन ।
भौगोलिक अवस्थितिको हिसाबले नेपाल उपोष्ण प्रदेशमा पर्ने भए तापनि नेपालको तराईमा औसत तापक्रम २५ डिग्री हाराहारी छ भने वार्षिक सरदार वर्षा पनि २ हजार मिलिमिटरभन्दा बढी हुने हुँदा उष्णप्रदेशीय वनका प्रजाति भेटिन्छन् । नेपालमा उष्णप्रदेशीय वनको ठूलो क्षेत्र नभए पनि सानातिना बुच्काहरू चाहिं भेटिन्छन् । नेपालको तराईमा उष्णप्रदेशीय वनका बुच्का भेटिने भनेको जलथलमा नै हो । जलथल वनमा यस्तो क्षेत्र १५ देखि २० हेक्टर हाराहारी मात्र भएको अनुमान गरिएको छ । वन सुन्तला, चुंयेल, भाटे काठ, वन सुपारी, फलामे जमुना, मलागिरी, रानी बेल आदि यो वनका सदाबहार रूखहरू हुन् ।
दक्षिणपूर्वी एशियाका वनस्पतिको उत्तरपश्चिमी बिन्दु हुनु र उष्णप्रदेशीय सदाबहार वन भेटिनुले जलथलको वन वानस्पतिक भौगोलिकीको हिसाबले विशेष छ भन्न सकिन्छ ।
स्थानीय जीविकोपार्जन स्रोत
यो वन सालक, सुनगोहोरो लाम्चे कछुवा र हात्ती जस्ता संरक्षित एवं संकटापन्न वन्यजन्तुको वासस्थान मात्र होइन, जंगल वरिपरि बस्ने लगभग एक लाख हाराहारी जनसंख्याको जीविकोपार्जनको स्रोत समेत हो । हालै सम्पन्न अध्ययन अनुसार जलथल वनका २०० प्रजातिका वनस्पति प्रत्यक्ष रूपमा स्थानीयले उपयोग गर्छन् ।
जैविक विविधता महत्वपूर्ण खाद्य कन्दमूल वन पैदावार र पर्यावरणीय सेवाहरूको आधार हो । जति धेरै प्रजाति त्यति धेरै वन पैदावार र पर्यावरणीय सेवाहरू उपलब्ध हुन्छन् भन्ने कुराको उदाहरण हो, जलथल वन । जलथल वरिपरि बस्ने स्थानीयले काठ, घाँस र दाउरा बाहेक धेरै प्रजातिका जंगली फलफूल र खाद्य कन्दमूलहरू उपयोग गर्दै आएका छन् ।
जलथलमा जामुन, फँडिर, कुसुम, वनसुन्तला, वनसुपारी, वन अम्बक, पिडार, खन्यु, रामफल जस्ता ३५ फलफूलका प्रजातिहरू पाइन्छन् । पश्चिम नेपालतिर पाइने कुसुम र जलथलमा पाइने कुसुमका प्रजातिहरू विल्कुल फरक छन् । च्याउ र निगुरो पनि जलथलका स्थानीयका लागि महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । यहाँबाट निगुरो, मोरङ्गे जस्ता १७ थरीका सागपात स्थानीयले संकलन गर्छन् ।
जंगली फलफूल बाहेक कुरिलो, सर्पगन्धा, मधु, हर्रो, बर्रो, जलथलका महत्वपूर्ण जडीबुटीका प्रजाति हुन् । मधु भनेर चिनिने अदुवा परिवारको एक सुगन्धित वनस्पति त जलथल बाहेक नेपालको तराईको अन्यत्र भेटिएको अभिलेख छैन ।
जलथल जैविक र पर्यावरणीय दृष्टिकोणले जति महत्वपूर्ण छ, त्यतिकै महत्वपूर्ण छ, जंगल वरिपरि बस्ने समुदायको संस्कृति र जीविकोपार्जनको लागि । यस वनक्षेत्र वरिपरि तराई र पहाड दुवैतिरका आदिवासी समेत विभिन्न जात समूहको बसोबास रहेको छ । नेपालकै अल्पसंख्यक मेचे समुदायको बसोबास जलथल वरिपरि पनि छ । स्थानीय बासिन्दाले दैनिक उपयोगदेखि आफ्ना रीतिरिवाज र सांस्कृतिक कार्यहरूमा वनभित्रका स्रोतहरू उपयोग गर्ने गर्छन् । जलथल वनभित्र स्थानीय देवी–देवताका थानहरू पनि छन् । जलथलमा भेटिएका वनस्पतिका १५ वटा प्रजाति स्थानीयको धर्म, संस्कृतिसँग जोडिएका छन् ।
संरक्षण र क्षयीकरणको दोसाँधमा जलथल
जलथल वन दुई दशकदेखि २२ वटा सामुदायिक वन उपभोक्ता समूह मार्फत व्यवस्थापन तथा उपयोग गरिएको छ । उपभोक्तालाई संगठित गर्न, वनको सुरक्षा गर्न, आगलागी नियन्त्रण गर्न, वन पैदावार संकलन तथा वितरण गर्न, वनको प्रयोगलाई व्यवस्थित गर्ने कार्यमा वन समूहहरूको प्रयास सकारात्मक छ । त्यसैगरी उपझोक्ताहरूले वन अतित्रमण नियन्त्रण गरेका छन्, वनमा रूखको घनत्व बढेको प्रष्टै छ । विगतमा व्यापक रूपमा हुने चोरी–शिकारीमा समेत कमी आएको छ ।
संरक्षणमा यी सकारात्मक पहल भए तापनि जैविक विविधता (विशेषगरी दुर्लभ वनस्पति र वन्यजन्तु) संरक्षण गर्न गरिएका पहलहरू त्यति पर्याप्त छैनन् । मिचाहा प्रजाति नियन्त्रण गर्न समूहलाई प्रोत्साहन हुनसकेको छैन । संरक्षणका कतिपय कार्य उपभोक्ताको प्राविधिक र आर्थिक क्षमताभन्दा बाहिरका पनि हुन सक्छन् । अझ कतिपय तथ्यांकहरू र तिनको गहिरो विश्लेषण समूहहरूले गर्न सक्ने कुरा भएन ।
सामुदायिक वन उपभोक्ता समूहको प्रयासका बाबजुद वन संरक्षण चुनौतीरहित भने छैन । विभिन्न चुनौतीको जोखिममा रहेको यस वनका महत्वपूर्ण जैविक सम्पदा लोप हुने क्रममा छन् भने वातावरणीय पक्ष विचार नगरी गरिने भौतिक संरचना निर्माणले यो क्रम अझ बढ्ने देखिन्छ । पहिले नै खण्डीकरण भएको वनलाई थप खण्डीकरण गर्ने प्रयास पनि नभएका हैनन् । यो वनको थप खण्डीकरणले वनको अवस्थामा प्रतिकूल, दीर्घकालीन र गम्भीर असर पार्ने जोखिम हुन्छ ।
वन क्षेत्रभित्र विकास, पर्यापर्यटन, मठमन्दिर, धार्मिक स्थल र विभिन्न बहानामा भौतिक संरचना बनाउने प्रतिस्पर्धा नै छ । वन क्षेत्रलाई दुई चिरामा बाँड्ने विद्यमान बाटोको अलावा अर्को बाटो बनाउने फ्रयास कुनै बेला सक्रिय र कुनै बेला निष्त्रिय हुने गरेको छ । वन क्षेत्र संकुचित र खण्डीकरण गराउने सडक र भौतिक संरचनाको दीर्घकालीन असर हुन्छ र वनको जैविक विविधता संकटमा पर्छ । जलथल वनको महत्व र यसको चुनौतीको बारेमा राजनीतिक नेतृत्वले उचित ध्यान दिन सकेको देखिंदैन । विकास र वातावरण संरक्षणको द्वन्द्वमा मूल राजनीतिक नेतृत्वले यथोचित अडान लिन सकेको छैन ।
यो वनको प्रमुख विशेषताको रूपमा रहेको लटहर लगायत ५० वटाभन्दा बढी रूखका प्रजातिको पुनरुत्पादनमा गम्भीर समस्या छ । बीउ प्रशस्त लाग्ने लटहरको बीउ उम्रिने दर पनि राम्रो छ । यो वर्ष उम्रिने हजारौं बेर्नाले दोस्रो र तेस्रो वर्ष विरलै पुग्छ । त्यसैले वनमा पछिल्लो दुई दशकमा लटहरका लाथ्रा बन्न पाएका छैनन् ।
सादन, सानो थाकल, सतिसाल, मल्लिदो जलथलबाट पछिल्लो १५–२० वर्षमा लोप हुने अवस्थामा पुगे । विगतमा राम्रो घनत्व भएको सादन डाँडामा अहिले एउटै पनि सादनको रूख छैन । त्यहाँ ३० वर्षअघि पनि दर्जनौं रूख देख्ने स्थानीयहरू अझै छन् । सादन जस्तो महत्वपूर्ण र बहुपयोगी प्रजाति जलथलबाट अब लोप भयो ।
त्यसैगरी, वन्यजन्तुहरू जस्तै मुसेमृग यहाँबाट लोप हुने पछिल्लो प्रजाति हुने अनुमान गरिएको छ । वनमा एकातर्फ बाह्य मिचाहा प्रजातिको अतिक्रमण बढ्दो छ । प्यान्ग्री लहरा भनिने माइकेनिया, काँडे वनमारा र सेतो वनमारा यो वनका मुख्य मिचाहा प्रजाति हुन् ।

त्यसैगरी सिमसारहरूमा जलकुम्भीको समस्या बढ्दो छ । यिनको नियन्त्रणमा दीर्घकालीन सोच देखिंदैन । यद्यपि, पछिल्लो समयमा त्यहाँ यस्ता प्रजाति नियन्त्रणको सफल परीक्षणहरू सम्पन्न गरिएका छन् । मानव–हात्ती द्वन्द्व त्यत्तिकै जटिल बन्दै गएको छ ।
वनमा घाँस दाउराको अधिक चापको कारणले दुर्लभ वनस्पति लोप हुने अवस्थामा पुगेका छन् । वन सुन्तला, हर्रो र खनिउँ जस्ता प्रजाति घटेका छन् । यसरी घट्नुको मुख्य कारण घाँसको चाप नै हो ।
विगतमा हचुवामा भएका वृक्षरोपण पनि वनको जैविक विविधता संरक्षणमा चुनौती हुन् । मसला, टिक, मलेसियन साल जस्ता दर्जनौं प्रजाति वनको ५० भन्दा बढी स्थानमा वृक्षरोपण गरिएको छ । जलथल वनको एउटा हिस्सामा त रबर खेती नै गरिएको छ । रैथाने प्रजातिको राम्रो र प्राकृतिक रूपमा नै सम्भावना भएको स्थानमा बाह्य प्रजातिको असर दीर्घकालीन हुन्छ । बाह्य प्रजातिलाई विस्थापित गरी सहजै रैथाने प्रजाति हुर्काउन विलम्ब भइसकेको छ ।
जलथल एउटा बहुपयोगी वन हो, तर वन व्यवस्थापनले यो कुरालाई सम्बोधन गर्न सकेको छैन । यो जलथलको मात्र हैन, समग्र देशकै समस्या हो । वनको विशेषता र संवेदनशीलता विचार नगरी सञ्चालन गरिने वन व्यवस्थापनका कार्यक्रमहरू वनको जैविक विविधतामा मैत्री नभएर प्रतिकूल असर पार्न सक्छन् । सरकारी, गैरसरकारी र समुदायको नेतृत्वमा सञ्चालित कतिपय वृक्षरोपण र आयआर्जनको नाममा सञ्चालित कार्यक्रमले वनको जैविक विविधतामा प्रतिकूल असर पार्न सक्ने कुरा न बुझिएको छ, न त बुझाउन नै सकिएको छ । वनमा सिट्रोनेला खेती गरिएको स्थानमा पुनर्स्थापना सन्तोषजनक छैन । न त समूहले उचित लाभ नै लिन सकेको छ ।

सानो भूगोल, वरिपरिको बस्ती बीचको टापु हुनुले जलथलको जैविक विविधता अत्यन्तै संवेदनशील छ । यस्तो वनमा प्रजाति लोप हुने जोखिम ठूलो वन खण्डको भन्दा बढी हुन्छ । संरक्षणमा सामुदायिक वनको सहकार्यबाट मात्र यो जोखिम कम गर्न सकिन्छ ।
जलथल वन व्यवस्थापनको एउटा समस्या के भने, २२ वटा सामुदायिक वन आ–आफ्ना हिसाबले सञ्चालित छन् । जलथल वनको जैविक विविधता २२ वटै समूहमा छरिएको छ र तिनको समष्टिमा मात्र पूर्ण तस्बिर देखिन्छ । यी समूहले हामी छुट्टाछुट्टै समूह मात्र नभई एउटा वन खण्डका हिस्सा हौं भन्ने मनन् गर्न सकेका छैनन् । जैविक विविधता बारेमा सामुदायिक वनहरूको बीचमा खासै सहकार्य छैन । समग्र जलथल संरक्षणको मुद्दा बोक्ने राजनीतिक वा वन अभियानको नेतृत्वको अभाव देखिन्छ ।
अन्त्यमा
जैविक विविधता भन्ने बित्तिकै हात्ती, गैंडा जस्ता ठूला वन्यजन्तु, खाद्य शृङ्खलाको शीर्षस्थानमा रहेका बाघ र हिउँचितुवा जस्ता शिकारी प्रजाति र मानव प्रभावभन्दा बाहिरको घना वनको चित्र हाम्रो मानसपटलमा आउँछ । हाम्रा नीतिनियम र बजेट व्यवस्था पनि सोही अनुसार बनेका छन् । आज हामीसँग उपलब्ध ज्ञान र तथ्यांकले प्रस्ट भन्छ, जैविक विविधता बारेको परम्परागत बुझाइ र संरक्षण योजना साँघुरा छन्; समाज र प्रकृतिको यथार्थभन्दा फरक छन् । जलथलको जैविक विविधताको तथ्यांकले यही विशिष्ट धरातलीय यथार्थमा पुनर्पुष्टि गर्छ ।
जलथलको विशिष्टता, जैविक विविधताको सम्पन्नता, विद्यमान चुनौती र स्थानीय जीविकोपार्जनमा यसको महत्वलाई एकैसाथ विचार गरेर व्यवस्थापन गर्न सक्यौं भने संरक्षण र वनको दिगो उपयोगको नमूना बन्न सक्छ जलथल वन व्यवस्थापन । यसका लागि उपलब्ध तथ्यांकमा टेकेर वस्तुगत र दीर्घकालीन सोच सहितको व्यवस्थापन जरूरी छ ।
सामुदायिक वन समूहको क्षमता वृद्धि, दीर्घकालीन सोच सहितको व्यवस्थापन, यसको संरक्षण गर्ने राजनीतिक गाम्भीर्यता र प्रतिबद्धतासँगै सरोकारवालाको सहकार्यबाट मात्र जलथल जैविक विविधतालाई न्याय गर्न सकिन्छ ।
जैविक विविधता संरक्षण र दिगो उपयोगमा यही मात्र उपयुक्त र श्रेष्ठ विधि भन्ने केही छैन । तर उपयोग र संरक्षणलाई कसरी एकाकार गराउन सकिन्छ भनेर मार्ग निर्दिष्ट गर्ने विज्ञान भने हामीसँग छ ।
संरक्षण विज्ञान कुनै धार्मिक ग्रन्थ जस्तो देववाणीले बनेको हुँदैन, यो त नयाँ तथ्यांक र ज्ञानमा टेकेर बन्ने गतिशील विषय हो । स्थानीय अवस्था र आवश्यकता अनुसार संरक्षण र दिगो उपयोगलाई सँगै लैजान सकिन्छ ।
हामीसँग आज आफ्नै मौलिक विधिहरूको विकास गर्ने अवसर छ, जसको सुरुआत जलथलबाट हुन सक्छ । आजको दिनले हामीलाई प्रकृतिसँग सामञ्जस्यता बढाउने र प्रकृतिमा विकासका डोबहरू घटाउने योजनामा गम्भीर हुन प्रेरित गर्न सक्यो भने मात्र समग्र जैविक विविधता संरक्षणको बृहत् लक्ष्य पहिल्याउन सकिन्छ । परिणामस्वरूप प्रकृतिको विरासत र सम्पदाको स्वामित्व भोलिको पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ ।
सहजै नदेखिने, अनुमान समेत नहुने तर निरन्तर क्षयीकरण हुँदै गएको जैविक विविधता संरक्षणमा अब शब्दको प्रतिबद्धता मात्र होइन, देखिने गरी गम्भीर व्यावहारिक पहलकदमी जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्