सांसदको कोसेली : ३ एम्बुलेन्स, १ स्वास्थ्य चौकी र हेलिप्याड
अर्घाखाँचीको भूमिकास्थान–१० स्थित धनचौर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवन बनेसँगै स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । अर्घाखाँचीका संघीय सांसद टोपबहादुर रायमाझीले हेलिप्याड, स्वास्थ्य चौकी भवन उद्घाटन र एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
रायमाझीले स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत भूमिकास्थान–१, १० र मालारानीको खन स्वास्थ्य चौकीलाई ३ एम्बुलेन्स हस्तान्तरण गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले मुलुक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको दाबी गरे । सांसद रायमाझीले अर्घाखाँचीमा हेलिप्याडसमेत उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बनाउन जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूको चलाखीपूर्ण भूमिकाकै कारण अर्घाखाँचीलाई समेटेर दाङलाई स्थायी राजधानी बनाउन सकिएको उनको दाबी छ ।
भूमिकास्थान नगरप्रमुख रेशम थापा, उप/प्रमुख खडानन्द बेल्वासे, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलगायतले सरकारको लगानीमा बनेका विकासको जनताले सदुपयोग गर्दै संरचनाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर विकले हाल अर्घाखाँचीका ६ वटै स्थानीय तह र तिनका ६१ वडामा सडक यातायात पुगिसकेको र स्तरोन्नति जारी रहेको जानकारी दिए । जिल्लामा रहेको जिल्ला अस्पताललाई पनि आइसियुसहित विकास गरिने उनले बताए । शिक्षा, कृषि क्षेत्रको आधुनिकीकरण र विमानस्थल निर्माणाधीन अवस्थामा रहेको विकले जानकारी दिए
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेल, प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्