त्रासमा तिलगाउँवासी : भौगर्भिक अध्ययनका लागि पुग्न सकेन राज्य

समाचार सारांश
- हुम्लाको तिलगाउँमा बाढीपहिरोका कारण स्थानीय त्रसित छन्, घर छाडेर विद्यालयमा आश्रय लिइरहेका छन्।
- बाढीले बस्ती जोखिममा पारेको र भौगर्भिक अध्ययन हुन नसकेको गुनासो स्थानीयको छ, भने सरकारको उपस्थिति पनि देखिएको छैन।
- हिमताल फुटेर बाढी आएको स्थानीयको दाबी छ, जसले गर्दा खानेपानी, जलविद्युत् र पूर्वाधारमा क्षति पुगेको छ।
सुर्खेत । ‘राज्य भएको भए त घटना घटेको ५ दिन बितिसक्दा आउँथ्यो होला, कसरी पहिरो आयो, कहाँबाट आयो भन्ने विषयमा सोधखोज गरी हामीलाई विश्वास दिलाउँथ्यो, तर हाम्रा लागि राज्य कहाँ छ र ?’ बिहीबार राति लेदोसहितको बाढी, पहिरोका कारण त्रसित उत्तरपश्चिम हुम्लाको नाम्खा गाउँपालिका—६, को तिलगाउँका बासिन्दा पेन्पा डोन्डुप लामाका भनाइ हुन् यी ।
तिलगाउँवासी अहिले गाउँभन्दा पारीपट्टि विद्यालय रहेको फाँटमा बसिरहेका छन् । कोही विद्यालयभित्र सुत्छन्, कोही खुला चौरमा टेन्ट हालेर ।




बाढीले बस्तीसँग जोडिएको खोलालाई करिब ३०–४० मिटर गहिरो बनाएको छ भने जमिन चर्काएको छ । घरमा बस्न कठिन छ ।
बाढीसहितको पहिरोले क्षतविक्षत गाउँ उच्च जोखिममा छ । त्रासका कारण स्थानीयले घर छाडेको पाँच दिन बित्यो, तर अहिलेसम्म पहिरोको विषयमा भौगर्भिक अध्ययन हुन सकेको छैन ।
पहिरोले केही घर सामान्य चर्केको भनिएको छ । पहिरोको उच्च जोखिममा रहेकाले घरमा गएर बस्न सकिरहेका छैनन् तिलगाउँवासी ।
स्थानीयका अनुसार गाउँमा यस्तो घटना भएको भनेर शुक्रबार बिहानै सिमीकोट, गाउँपालिकामा जानकारी गराइसकिएको थियो । तिलगाउँवासीका लागि सदरमुकाम सिमीकोट पनि बिरानो लाग्छ ।
उनीहरू प्रायः सिमीकोटभन्दा तिब्बत ताक्लाकोटसँग बढी निर्भर छन् । भौगोलिक रूपमा तिलगाउँवासी राज्यको पहुँचभन्दा बाहिर छन् ।
उक्त वडाका वडाध्यक्ष पाल्जोर तामाङले त्यही दिन सम्बन्धित निकायहरूमा फोन गरिसकेका थिए । तर विकट गाउँ भएर होला, न प्रदेश सरकारको उपस्थिति भयो, न त केन्द्र सरकारको । अरु त त्यस्तै हो, त्यहाँको गाउँपालिकाले समेत अहिलेसम्म कुनै चासो नदिएको गुनासो स्थानीयको छ ।
गाउँपालिकाको केन्द्र याल्वाङदेखि तिलगाउँ एक दिनको पैदल यात्रामा पर्छ । ‘यदि सरकार आएर अध्ययन गरी बस्तीमा बस्न लायक छ वा छैन भनिदिएको भए ढुक्कले घर फर्कनुहुन्थ्यो,’ स्थानीय पेन्पाले रातोपाटीसँग भने, ‘राज्य नआउने थाहा भएरै हामीले खोला किनारैकिनार ५ जना युवालाई अवस्था हेर्न पठायौँ ।’

८ घण्टा पैदल हिँडेर उनीहरू ५ हजार ३५० मिटर उचाइमा पुगेका थिए । त्यहाँ दुई वटा हिमताल भेटिएको पेन्पाले बताए ।
एउटा गोलो आकारको, अर्को त्रिभूज आकारको हिमताल फुटेर बाढी आएको दाबी स्थानीयको छ । तालबाट पानी बगेको देखिन्न । यद्यपि तालको सतहबाट फुटेर बाढी आएको अनुमान आफूहरूको रहेको पेन्पा बताउँछन् ।
‘हाम्रो केटाहरूले त्यही भने । भिडिओ र फोटो खिचेर ल्याएका छन्,’ उनले भने, ‘ती ताल फुटेर बाढी÷पहिरो आएको रहेछ ।’ उनका अनुुसार तालको सतह फुटेरै पानी आएका कारण अहिले तालमा पानी छैन । यद्यपि वैज्ञानिक रूपमा यसको पुष्टि भने हुन सकेको छैन ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन । यद्यपि गाउँ पहिरोको उच्च जोखिममा छ । यो विषय मुख्य रहेको उनी बताउँछन् ।
‘बिहीबार आएको लेदोसहितको बाढी÷पहिरोले खोला नजिकका घरहरू चर्काएको भन्ने कुरा छ,’ उनले रातोपाटीसँग भने, ‘फेरि त्यस्तै आउने हो कि ! आयो भने घर भत्कने, मानवीय क्षति हुने जोखिम होला ।’
उक्त ठाउँमा फेरि बाढीको सम्भावना छ वा छैन भन्ने विषयमा भौगर्भिक अध्ययन, अनुसन्धान हुन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाइ छ ।
‘विज्ञसहितको टोली अध्ययनमा जानुपर्छ, त्योभन्दा माथिको क्षेत्र कस्तो छ भन्ने विषयमा सरकारका तर्फबाट अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘उहाँहरूले त्यहाँ हिमताल फुटेर बाढी आएको भन्नुभएको छ, तर विज्ञहरूबाट पुष्टि हुन बाँकी छ ।’
विज्ञहरूले अध्ययन, अनुसन्धान गरेपछि मात्रै स्वतन्त्र रूपमा उक्त ठाउँको विषयमा पुष्टि गर्न सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेय बताउँछन् । जे भयो–भयो, अब क्षति हुँदैन भन्ने खालको विश्वास स्थानीयलाई दिलाउने गरी राज्यले पहल गरिदिनुपर्ने उनको बुझाइ छ । ‘हामीले यो विषयमा ध्यान दिएका छौँ, समन्वय भइरहेको छ,’ उनले भने ।
यसै पनि गाउँलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ । घटना घटेको ५ दिन बितिसक्दा अहिलेसम्म सरकारले उक्त ठाउँको अध्ययनका लागि विज्ञ टोली पठाएको छैन ।
०८१ भदौमा सोलुखुम्बुको थामेमा यस्तै घटना हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी अनिल पोखरेलसहितको टोलीले हेलिकोप्टरबाटै उक्त ठाउँको अध्ययन, अवलोकन गरेको थियो ।
_EhjvX40PPr.jpg)
हुम्लामा त्यस्तै प्रकृतिको घटना भएको मंगलबार ६ दिन पुग्यो । यद्यपि अहिलेसम्म त्यहाँ कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन । जसका कारण नागरिक आफ्नो घर फर्कने कि नफर्कने भन्ने दोधारमा छन् ।
‘खासका नेपाल सरकार आएर हेलिकोप्टरबाट अनुसन्धान गरेको भए हुने थियो, नआउने देखेरै हामीले गाउँले पठाएको हो,’ नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङले भने ।
- ‘हामीले त हेलिकोप्टर आयो भन्ठानेको’
गुजमुज्ज तिलगाउँ पर्यटकहरूको एउटा गन्तव्य हो । लिमी उपत्यका अन्तर्गत पर्ने यो गाउँको विषयमा थुप्रै डकुमेन्ट्री बनेका छन् । खेती लगाउने सुन्दर फाँट छ । एक महिनापछि खेत रोप्ने तयारी थियो रे ।
गाउँको दुुईतिर खोला छन् । एउटा गाउँतिरबाट तलतिर ठुलो खोला छ । कर्णाली नदीसँग जोडिएको खोला हो यो । अर्को खोला गाउँभन्दा बायाँतर्फ छ, जुन खोलाका खासै पानी हुँदैन । बर्खामा बाहेक अरु समयमा पानी नहुने त्यही खोलामा अहिले बाढी आएको हो ।
पेन्पा डोन्डुपले जेठ १ गते रातिको क्षण सम्झे, ‘साढे १० बजेतिर हो, धेरै मान्छे सुतिसकेका थिए । हामी बसिराख्या थियौँ, गडगड आवाज आयो । धेरैले त हेलिकोप्टर आयो कि भन्ठानेका थिए ।’
पेन्पाले यति राति हेलिकोप्टर कहाँ आउँछ भनेर सम्झाउन खोजे । बाहिर आएर हेर्दा खोला उर्लेर आएको उनले बताए । ‘लगत्तै म गाउँभन्दा माथि गएर पहिरो आयो, भाग–भाग भनेर कराएँ, उनले रातोपाटीसँग भने, ‘अनि सबै खोलाभन्दा पारी भागे ।’ उक्त रात डरले जाग्राम बसेको उनले बताए ।
उनका अनुसार गाउँभन्दामाथि हिमताल रहेको अहिलेसम्म गाउँका कसैलाई जानकारी थिएन । गाउँभन्दा माथि केही चौरी गोठ छन् । स्थानीयवासी त्यहाँसम्म मात्रै पुगेका थिए ।
‘त्यहाँभन्दा माथि हामी कहिल्यै गएको पनि थिएन, माथि त ताल रहेछन्,’ उनले भने ।
तिलगाउँमा ५० घरधुरी छन् । कुनै वेला उक्त बस्तीमा ३०० बढी जनसंख्या बस्थ्यो, तर विकटता र दुर्गमताले धेरैले गाउँ छाडे । कोही काठमाडौँतिर गए । कोही कता । अहिले १८ वटा घरमा मात्रै मान्छे बस्छन् ।
त्यसमा २१ महिला, ९ पुरुष, २ बालबालिकासहित ३२ जना बस्ने गरेको तथ्याङ्क हिल्साबाट त्यहाँ पुगेका १० जनाको प्रहरी टोलीले सङ्कलन गरेको छ । प्रहरी हिल्साबाट ९ घण्टाको पैदल यात्रापछि त्यहाँ पुगेको थियो ।
यद्यपि प्रहरीले विवरण सङ्कलन गर्ने बाहेक बाढी आएको खोलाको मुहानसम्म पनि पुगेन । प्रहरी त्यहाँबाट फर्किसकेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सशस्त्र प्रहरी टोली आवश्यक विपद् उद्धार सामग्री र बन्दोबस्तका सामान लगेर सोमबार तिलगाउँ पुगेको छ । तिलगाउँमा यस्तो घटना भएको आइतबारमात्रै बाहिर आएको थियो ।
गाउँमा वृद्धवृद्धाको संख्या बढी छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार जो काम गर्न सक्ने थिए, उनीहरू रोजागारीका लागि बाहिर गएका छन् । कोही चीनको ताक्लाकोट गएका छन् भने केही मान्छे बसाइ सरिसकेका छन् ।
कतिपय व्यक्ति गाउँ जोखिम भएको खबर पश्चात् अहिले ताक्लाकोटबाट फर्किँदै गरेको जानकारी आएको उनले बताए । गाउँभन्दा केही बायाँ कञ्जुम गुम्बा छ । गुब्बासमेत जान सकेका छैनन् स्थानीय ।
- जलविद्युत्देखि खानेपानी ध्वस्त
बाढी÷पहिरोका कारण खानेपानी, सिँचाइ कुलो र जलविद्युत् परियोजनाहरूमा क्षति पु¥याएको छ ।
१ करोड ५० लाख लागतमा बनेको जलविद्युत् आयोजना (पावर हाउस) पूर्ण रूपमा भत्किएको वडाध्यक्ष पाल्जोर बताउँछन् । यस्तै ५ वटा काठे पुल बगाएको छ भने पानी घट्ट पनि बगेको छ ।
‘अहिले समस्या भनेको खानेपानीको छ । खोलाको पानी धमिलो छ,’ उनले भने, ‘खानेकुरा घरबाटै लगेर खाएका छन् ।’
बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएपछि तिलगाउँवासीको आवत–जावत र दैनिक जीवन कष्टकर बनेको उनले बताए ।
स्थानीय पेन्पाका अनुसार सोमबार दिउँसो युवाहरू गएर घरको काम गरे भने रातको समयमा चौरमै फर्केर बसे । ‘फेरि कतै त्यस्तै पहिरो आएर बस्तीमा क्षति हुने हो कि भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन,’ उनले भने, ‘बुढाबुढी दौडन सक्दैनन्, त्यसैले राति खोलावारी चौरमा टेन्टमा बसेको छ ।’
_CIOPGkUsyt.jpg)
हुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हिमपहिरोबाट उच्च जोखिममा परेका बासिन्दाको व्यवस्थापनमा यतिका दिनसम्म पनि प्रदेश सरकारबाट कुनै पनि चासो र चिन्ता नभएको बताए ।
‘सरकारको नागरिकप्रतिको चरम लापरबाहीले मलाई थप गम्भीर बनाएको छ,’ सत्ता साझेदार दल कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले भने, ‘तिलगाउँवासीको तत्काल उद्धार र सुरक्षित बसोबास व्यवस्था मिलाउन तथा थप मानवीय र भौतिक क्षति हुन नदिन संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’
हिमपहिरोबाट प्रभावित तिल बस्तीको व्यवस्थापन, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र नागरिकको सुरक्षाका सरकार अग्रसर हुनुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्