टर्कीले किन भारतविरुद्ध पाकिस्तानलाई साथ दिन्छ ?
News Summary
Generated by OK AI. Editorially reviewed.
- टर्की र पाकिस्तानबीचको सम्बन्ध धार्मिक र वैचारिक निकटता र सैन्य सहयोगमा आधारित छ, जुन इस्लामिक विश्वमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको टर्कीको रणनीतिसँग मेल खान्छ।
- भारत र टर्कीको सम्बन्धमा तनाव रहेको भएता पनि, टर्कीले पाकिस्तानको समर्थन गर्दै यसलाई आफ्नो परम्परागत मित्रता र सुरक्षा सम्बन्धको हिस्सा बनाएको छ, जसले क्षेत्रीय राजनीति प्रभावित गर्दछ।
- साउदी अरब र भारतसँगको सम्बन्धहरूलाई तुलना गर्दा, पाकिस्तान र टर्कीको सम्बन्ध अझ बढी धार्मिक र वैचारिक आधारमा आधारित रहेको देखिन्छ, जसले मध्यपूर्व र खाडी क्षेत्रमा शक्ति सन्तुलनलाई प्रभाव पार्छ।
काठमाडौं । भारत र पाकिस्तान आक्रमण तथा प्रत्याक्रममा उत्रिएका बेला अधिकांश मुलुक उक्त युद्धमा तटस्थ देखिए । तर त्यसबेला टर्की खुलेर पाकिस्तानको पक्षमा उभिएको थियो भने इजरायल भारतको साथमा देखिएको थियो ।




यद्यपि युद्धविरामको घोषणापछि टर्कीले यस निर्णयको स्वागत गरेको छ अनि दुबै देशले प्रत्यक्ष र स्वस्थ संवादका लागि यस अवसरको उपयोग गर्नुपर्ने बताएको छ ।
पाकिस्तानले टर्कीका ड्रोनहरू आक्रमणका लागि प्रयोग गरिरहेको भारतको दाबी थियो भने अर्कोतर्फ भारतले इजरायली ड्रोनमार्फत आक्रमण गरिरहेको पाकिस्तानले बताएको थियो ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले गत बिहीबार पाकिस्तानका जनता आफ्ना ‘दाजुभाइ सरह’ रहेको भन्दै पाकिस्तानीहरुको लागि ईश्वरसँग प्रार्थना गर्ने बताएका थिए ।
भारत–पाकिस्तानबीच तनाव जारी रहेका बेला टर्किश एयरफोर्सको सी–१३० जेट गत हप्ता पाकिस्तानमा अवतरण गरेको थियो । यद्यपि टर्कीले चाहिँ केवल इन्धन भर्नका लागि मात्रै आफ्नो विमान पाकिस्तान गएको दाबी गरेको थियो । यसबाहेक, टर्कीको युद्धपोत पनि गत हप्ता कराँची बन्दरगाहमा आएको थियो । टर्कीले यसलाई आपसी सद्भावको संकेतका रूपमा प्रस्तुत गरेको थियो ।
गत बिहीबार पाकिस्तानले भारतका विभिन्न सहरहरूमा आक्रमण गर्न ३०० देखि ४०० टर्किश ड्रोनहरूको प्रयोग गरेको आरोप भारतले लगाएको थियो ।
यसबीच भारत र टर्कीबीचको सम्बन्धमा रहेको असहजतालाई यसबाट पनि बुझ्न सकिन्छ कि प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता अहिलेसम्म टर्कीको भ्रमणमा गएका छैनन् ।
वैचारिक निकटता
साउदी अरबका लागि भारतीय पूर्वराजदूत तलमीज अहमदका अनुसार पाकिस्तानसँग इस्लामको आधारमा टर्कीको वैचारिक निकटता छ । यसबाहेक, शीतयुद्धको समयमा टर्की र पाकिस्तान दुवै अमेरिका का साझेदार थिए । यी दुई देशबीच सुरक्षा सहयोग निकै गहिरो रहँदै आएको छ । धेरै पाकिस्तानी जनरलहरूको टर्कीसँग व्यक्तिगत सम्बन्धसमेत रहँदै आएको छ । अहिले रक्षा सहयोग दुबै देशबीच निकै बढेको उनको दाबी छ ।
उनी भन्छन्, ‘मलाई लाग्छ कि अर्दोआन पाकिस्तानसँगको पुरानो सम्बन्धलाई अझ बलियो बनाउँदैछन् । अर्दोआनले आफूलाई एक इस्लामवादी नेता रूपमा प्रस्तुत गरेका छन् र इस्लामसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिन्छन् । उनी प्रायः कश्मीरको मुद्दा उठाउँछन् र यसलाई एक इस्लामिक मुद्दाका रूपमा प्रस्तुत गर्छन् । टर्कीले स्पष्ट रूपमा देखाइसकेको छ कि ऊ पाकिस्तानसँग उभिएको छ ।’
तलमीजका अनुसार मध्यपूर्वमा दुई प्रमुख शक्तिहरू छन्, जसमा टर्की पूर्णरूपमा पाकिस्तानको पक्षमा छ भने इजरायल भारतको पक्षमा । टर्की र पाकिस्तानबीचको सम्बन्धमा इस्लामको प्रभाव अर्दोआनको आगमनपछि अझ प्रबल भएको हो ।

के दुई देशबीचको सम्बन्ध केवल धर्म र विचारको निकटतामा आधारित भएर चल्न सक्छ ? युएई र इजिप्टमा भारतका पूर्वराजदूत नवदीप सूरीका अनुसार टर्की र पाकिस्तानबीच केवल वैचारिक निकटता मात्र होइन, टर्कीलाई पाकिस्तानको सम्पूर्ण रक्षा बजार (डिफेन्स मार्केट) पनि प्राप्त भइरहेको छ ।
साथै टर्कीले इस्लामिक विश्वमा यो सन्देश दिन खोज्दैछ कि ऊ एक इस्लामिक राष्ट्र पाकिस्तानको पक्षमा उभिएको थियो । टर्की लामो समयदेखि इस्लामिक विश्वकोे नेतृत्व गर्न चाहिरहेको छ, तर उसलाई यो कुरामा साउदी अरेबियाबाट चुनौती आइरहेको छ ।
इस्लामिक विश्वको नेतृत्व
साउदी अरबसँग मक्का र मदिना जस्ता पवित्र इस्लाम धर्मस्थलहरु छन् भने टर्कीसँग उस्मानिया साम्राज्यको विशाल विरासत छ । इस्लामिक मुलुकहरूको संगठन इक्ष्ऋ (इचनबलष्शबतष्यल या क्ष्कबिmष्अ ऋययउभचबतष्यल) मा साउदी अरबको प्रभुत्व छ । त्यसैले अर्दोआनले यस्तै अर्को मुस्लिम मुलुकहरुको संगठन निर्माण गर्ने प्रयास गरेका थिए, जसमा उनको नियन्त्रण होस् ।
यसका लागि अर्दोआनले डिसेम्बर २०१९ मा मलेसिया, इरान र पाकिस्तानसँग मिलेर पहल गरेका थिए, तर साउदी अरबले पाकिस्तानलाई रोकिदिएको थियो । त्यसैले पाकिस्तान टर्कीसँग त्यत्ति मात्र निकट बन्दछ, जतिसम्म साउदी अरबलाई स्वीकार्य हुन्छ ।
इस्लामिक तथा मुस्लिम बहुल राष्ट्रहरूमा पाकिस्तान एकमात्र परमाणु शक्ति सम्पन्न देश हो । त्यसैले इस्लामिक विश्वमा उसको विशेष महत्व छ ।
टर्की र पाकिस्तानबीच सैन्य सहयोग पहिलेदेखि नै भएतापनि यसमा अहिले इस्लामको पाटो पनि जोडिएको तलमीज अहमद बताउँछन् ।
अहमद भन्छन्, ‘इस्लामलाई एक अवसरवादी नाराको रूपमा प्रयोग गरिन्छ । जब फाइदाको कुरा आउँछ, तब इस्लामको उल्लेख गरिन्छ । तर जब भू–राजनीतिक स्वार्थको कुरा आउँछ, तब इस्लाम पृष्ठभूमिमा धकेलिन्छ । मलाई लाग्छ टर्कीको इस्लाममा केवल भाषिक चासो मात्र छ । टर्की पश्चिम एशियामा आफ्नो प्रभुत्व उस्मानिया साम्राज्यजस्तो बनाउन चाहन्छ । यही उसको प्राथमिक चाहना हो, र यस चाहनामा उसले पाकिस्तानलाई एक प्रमुख सहयोगीका रूपमा हेरेको छ ।’
त्यसोभए टर्कीले पाकिस्तानलाई साथ दिनु भारतका लागि झट्का हो त ? तलमीजका अनुसार टर्कीको भारतसँग कहिल्यै पनि सहानुभूति रहेन । टर्कीले सधैं कश्मीर मुद्दामा भारतलाई जिस्काइरहन्छ । तर मध्यपूर्व र खाडी क्षेत्रमा भारतका स्वार्थहरू इजरायल, साउदी अरब, कतार, युएई र इरानसँग जोडिएका छन् । यी मुलुकहरूसँग भारतका सम्बन्धहरू पर्याप्त रूपमा न्यानो र मित्रवत छन् ।
पाकिस्तानका लागि साउदी महत्वपूर्ण कि टर्की ?
वास्तवमा साउदी अरब पाकिस्तान र भारत दुबैको लागि महत्वपूर्ण देश हो । साउदी अरबले पाकिस्तानलाई विगतमा थुप्रै पटक आर्थिक संकटबाट मुक्त गराएको छ । साउदी अरबले पाकिस्तानलाई जुन हदसम्म मद्दत गरेको छ, त्यस्तै मद्दत टर्कीले कहिल्यै गरेको छैन । त्यसैले साउदी अरबलाई थाहा छ ऊ पाकिस्तानको लागि कति महत्वपूर्ण छ ।

भारतसँग पनि साउदी अरबका अत्यन्तै व्यापक सम्बन्धहरू छन् र यसमा सबै कुरा समावेश छ । तर साउदी र भारत बीचको सम्बन्धमा एउटा विषय सधैं छुटेको तलमीज अहमद बताउँछन् । त्यो विषय भनेको भारतले साउदी अरबको सुरक्षाका लागि कुनै ग्यारेन्टी नदिनु नै हो ।
नवदीप सूरी चाहिँ टर्की र पाकिस्तानको मिलनलाई खासै महत्व दिने पक्षमा छैनन् । विश्वमा करीब २०० देशहरू रहेको र तीमध्ये टर्कीको पाकिस्तानसँगको मित्रतालाई ठूलो झट्का भनेर हेर्न नसकिने उनको तर्क छ ।
इस्लामिक मुलुकहरूको संगठन ओआईसीले भारत र पाकिस्तान दुबैलाई तनाव घटाउन आह्वान गरेको थियो, तर कश्मीरको मुद्दामा पाकिस्तानको समर्थन गरेको थियो। साथै भारतले पाकिस्तानमाथि लगाएको आरोपको पनि खण्डन गरेको थियो ।
इस्लामको सम्बन्ध
अन्तर्राष्ट्रिय स्तरमा टर्की र पाकिस्तानको एकता दशकौंदेखि नै प्रष्ट देखिन्छ । दुबै देशले एक अर्कालाई आफ्ना आन्तरिक मामिलामा समर्थन गर्दै आएका छन् । दुबै देशहरूको निकटता अजरबैजानसँग पनि छ ।
टर्की, पाकिस्तान र अजरबैजानको मित्रताले आर्मीनियालाई चाहिँ निकै पिरोल्दछ । किनकि पाकिस्तान संसारको एकमात्र देश हो जसले आर्मीनियालाई सार्वभौम राष्ट्रको रूपमा मान्यता दिएको छैन ।
अजरबैजानले विवादित क्षेत्र नागोर्नो–काराबाखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ र पाकिस्तान पनि यसमा समर्थन गर्दछ । टर्कीको पनि यस मामिलामा समान मान्यता रहेको छ । त्यसकै बदलामा टर्कीले कास्मिर मामिलामा पाकिस्तानलाई समर्थन दिएको छ ।

सन् २०२० को फेब्रुअरीमा टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआन पाकिस्तानको भ्रमणमा गएको समयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गर्वसाथ भनेका थिए– टर्कीले भारतमा ६०० वर्षसम्म शासन गरेको थियो ।
टर्कीसँग आफूहरुको सदियौँदेखिको सम्बन्ध रहेको उनको भनाइ थियो । तर इमरानको उक्त अभिव्यक्तिको पाकिस्तानभित्रै आलोचना भएको थियो ।
सन् १९८० को दशकका पाकिस्तानी सैन्य शासक जिया उल–हकले त्यसबेला भनेका थिए– पाकिस्तान एक वैचारिक राज्य हो । यदि तपाईं पाकिस्तानबाट इस्लामलाई हटाएर धर्म निरपेक्ष राज्य बनाउनुहुन्छ भने यो बिखण्डित हुनेछ ।
वास्तवमा टर्की र पाकिस्तानबीचको सम्बन्ध र निकटतालाई यही वैचारिक दृष्टिकोणबाट हेर्न सकिन्छ ।
– बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्