कोरियामा नेपाली विद्यार्थीहरू किन समस्यामा पर्छन् ?

समाचार सारांश

  • कोरियामा नेपाली विद्यार्थीहरूले भोग्दै आएको समस्याबारे शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो । परराष्ट्रको पत्रको जवाफमा दूतावासले डी–२ र भी–४ भिसामार्फत अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्याबाट ग्रसित रहेको प्रस्ट पारेको थियो ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरिया अध्ययनका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ ।

दक्षिण कोरियामा डी–२ र डी–४ भिसामा स्नातक तह अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि प्रदान गरिँदै आएको एनओसी हाललाई स्थगित गरिएको हो । स्नातकोत्तर तहका लागि भने नियमानुसार एनओसी प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

frontline

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिने र अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा डिप्रेशन लगायत मानसिक समस्या हुने, कोरिया सरकारले कालो सूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको समस्या देखिएकाले एनओसी जारी गर्न स्थगित गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत कोरियास्थित नेपाली राजदूतावासले समस्याबारे जानकारी गराएको थियो । धेरै नेपाली समस्यामा परेको गुनासो आएपछि तत्कालका लागि एनओसी जारी गर्ने कार्य स्थगित गरिएको शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले बताए ।

मन्त्रालयले एनओसीलाई व्यवस्थित एवं नियमन गर्ने उपायका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरेको छ । उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गरिने उनको भनाइ छ ।

  • के हो नेपाली विद्यार्थीले भोग्दै आएको समस्या ?

कोरियामा नेपाली विद्यार्थीहरूले भोग्दै आएको समस्याबारे शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो । परराष्ट्रको पत्रको जवाफमा दूतावासले डी–२ र भी–४ भिसामार्फत अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्याबाट ग्रसित रहेको प्रस्ट पारेको थियो ।

परराष्ट्रलाई लेखेको पत्रमा दूतावासले कोरियामा नेपाली विद्यार्थीहरूको अवस्था दिनानुदिन समस्याग्रस्त भइरहेको जनाएको छ । कोरियामा अण्डरग्रेजुएट अध्ययनका लागि विद्यार्थीहरू डी–२ र डी–४ भिसामा जाने गरेका छन् ।

डी–२ भिसामा विद्यार्थीहरू कोरिया पुगेपछि सिधै आफूले पढ्न चाहेको विश्वविद्यालयमा भर्ना हुने गरेका छन् । कन्सल्टेन्सीहरूले नेपालबाट जाँदा नै अवैधानिक रूपमा काम पाइने आश्वासन दिने गरेको दूतावासले जनाएको छ ।

तर, सोचेअनुसार काम नहुँदा मानसिक तनाब र समस्यामा पर्ने गरेको दूतावासको भनाइ छ । डी–४ भिसामा आउने विद्यार्थीहरू कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्छन् । त्यसपछि डी–४ बाट डी–२ भिसामा जानका लागि अर्को विश्वविद्यालयमा आवेदन दिने गरेका छन् । अर्को विश्वविद्यालयमा आवेदन दिँदा ती विश्वविद्यालय कोरियन सरकारको कालोसूचीमा परेको हुने, क्रेडिट आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने गरेको पाइएको छ ।

डी–४ भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन  विश्वविद्यालयमा भर्ना हुने भन्ने नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरिकन, आउने बित्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झुटो आश्वासन दिएर पठाउने गरेको दूतावासले जनाएको छ ।

कन्सल्टेन्सीहरूले विद्यार्थीहरूको ब्रेन वास गरेर अवैधानिक तरिकाले भए पनि कोरियामा काम गर्न पाइन्छ भनेर कोरियाली सपनाको व्यापार गर्दै आएको समेत दूतावासले जनाएको छ ।

डी–४ भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि ३–४ पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्टमार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिएर लुट धन्दा नै चलाउने गरेको भनी समस्यामा परेका विद्यार्थीहरूबाट दैनिक गुनासो आउने गरेको दूतावासले जनाएको छ ।

कन्सल्टेन्सीहरूले भनेकोजस्तो अवस्था नबन्दा र आर्थिक अभावले गर्दा भर्खर १८–१९ वर्ष लागेका विद्यार्थीहरू लिभिङ टुगेदरमा बस्ने गरेका छन् । केही समयपछि शारीरिक रूपमा शोषणमा परेको भनी दूतावासमा गुनासो गर्ने, जोसँग लिभिङ टुगेदरमा बसेको हो, त्यो व्यक्तिले ब्ल्याक मेलिङ गरेर पैसा माग्ने, नदिएमा प्रहरी केस गर्ने धम्की दिनेजस्ता कार्य समेत हुने गरेको दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ ।

यस्ता कारणले सम्बन्धित विद्यार्थीलाई मात्र नभएर एन–७ र एन–९ लगायत विभिन्न भिसामा कोरियामा रहेका नेपालीहरूमा समेत शारीरिक तथा मानसिक असर परेको छ । कोरियामा छात्रवृत्तिमा मास्टर तथा पीएचडी अध्ययन गर्नका लागि सहज तथा समस्यामुक्त रहेको दूतावासले जनाएको छ ।

कोरियामा अण्डर ग्रेजुएटमा विद्यार्थी पठाउँदा राष्ट्रिय विश्वविद्यालय तथा विश्व वरीयतामा रहेका विश्वविद्यालयमा पठाउन सकेको खण्डमा राम्रो हुने दूतावासको भनाइ छ । डी–४ भिसामा पठाउँदा कन्सल्टेन्सीहरूले बढी पैसा असुल्ने र विद्यार्थीहरू कोरिया प्रवेश गरेपश्चात धेरै समस्यमा पर्ने हुँदा विद्यार्थीहरू पठाउने कामलाई या त नियमन गर्नुपर्ने या त निस्तेज गर्नुपर्ने दूतावासले सुझाव दिएको थियो ।

दूतावासले नेपाली विद्यार्थीहरूलाई अण्डर ग्रेजुएटका लागि डी–२ र डी–४ भिसामा कोरिया कोरिया नपठाउन उपयुक्त हुने व्यहोराको सुझाव दिएको थियो । दूतावासको पत्रको आधारमा परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्रमा नेपाली विद्यार्थीले भोग्नुपरेको समस्याबारे दूतावासले गराएको जानकारीसहितको विवरण पेस गरेको थियो । त्यसपछि शिक्षा मन्त्रालयले डी–२ र डी–४ भिसामा जाने विद्यार्थीका लागि एनओसी रोकेको हो ।

1db16434-2787-4b7c-b13b-ff1e18af693a
2abcb5e6-28b3-4c48-863f-59d32d029cbe
04fd9965-1f76-4233-a545-5c567b393857
6c94a04c-f173-48bb-93cb-be9d1f3ae4cd

#एनओसी #कोरिया

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here