रोशी खोलाको रौद्र रूप

जलवायु परिवर्तनको बाक्लो चर्चासँगै अतिवृष्टिका घटनाहरू दोहिरिन थालेसँगै रोशी खोलाले देखाउन थालेको रौद्र रूपले हामी सबैलाई बारम्बार झस्काउन थालिसकेको छ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- रोशी खोलाको प्राकृतिक र सांस्कृतिक महत्त्वलाई संरक्षण गर्न आवश्यक छ।
- यस क्षेत्रमा भएको अनियन्त्रित दोहन र विकासले नदीको स्वास्थ्य र आसपासको बस्तीहरूलाई खतरामा पारिरहेको छ।
- दीगो विकास र प्राकृतिक स्रोतहरूको संरक्षणका लागि समुचित योजना र कार्यान्वयन आवश्यक छ।
“तामाकोशी, त्यो सुनकोशी
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र”
२०४४ सालतिर कक्षा ८ मा पढ्दै गर्दा युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित प्रख्यात ‘ओखलढुङ्गा’ कवितामा पहिलोचोटि रोशी खोलाको नाम सुनिएको थियो। त्यतिखेरको बालसुलभ मनमा युगकवि श्रेष्ठले रोशीलाई किन गिरि फोरी बहने नदीको रूपमा चित्रण गरे होलान् भन्ने लागिरहन्थ्यो।
ओखलढुङ्गामा जन्मेका युगकवि पहिलोचोटि ओखलढुङ्गाबाट काठमाडौं आउँदै गर्दा उनी शायद रामेछाप जिल्ला भएर बग्ने तामाकोशी, सुनकोशी नदी तर्दै सुनकोशी तथा रोशी खोलाको दोभान दुम्जाको कुशेश्वर महादेवबाट रोशीको किनारैकिनार दाप्चा वा पनौती आइपुगेर धुलिखेल/बनेपाहुँदै राजधानी प्रवेश गरे होलान्। रोशी खोलाको किनारैकिनार अघि बढ्दै गर्दा उनको मनमस्तिष्कमा कोरिएको दायाँ–बायाँका अग्ला पहाड र तिनको खोंचबाट बग्ने रोशी खोलाको चित्रको आधारमा कविताका माथि उल्लिखित हरफहरू फुरे होलान् भन्ने मेरो अनुमान छ।
रोशी खोला आसपासको क्षेत्र समयको लामो कालखण्ड सडक मार्गको पहुँचबाट दूर थियो। यो क्षेत्र दुर्गम अनि विकट क्षेत्रकै रूपमा रहिरह्यो। २०५० को दशकमा यही रोशी खोला किनार भएर बीपी राजमार्गको निर्माण शुरू भयो। धुलिखेलबाट भकुण्डेबेसी हुँदै नेपालथोकतिर लम्कने बीपी राजमार्गले भकुण्डेबेसीबाट अलिक तल झरेपछि रोशी खोलालाई पछ्याउन थाल्यो। यो पछ्याउने क्रम नेपालथोकसम्म पुग्दासम्म अनवरत रह्यो।

स्कूल पढ्दा मेरो मनमस्तिष्कभित्र कोरिएको रोशी खोलाको तस्वीरले वास्तविक रोशी खोलाको तस्वीरसँग एकाकार हुने मौका भने २०६६ सालतिर पायो। कामको सिलसिलामा यही बीपी राजमार्ग हुँदै सिन्धुलीतिर यात्रा गर्दैथिएँ। त्यतिखेरसम्ममा यस राजमार्गको धुलिखेल-नेपालथोक खण्डको निर्माण करीब सम्पन्न भइसकेको अवस्था थियो।
धुलिखेल-खुर्कोट सडकखण्ड भने निर्माणाधीन अवस्थामा थियो। राजमार्ग बनेसँगै रोशी खोला राजधानीसँग नजिकियो। पहिलो चोटि रोशी खोला किनारैकिनार दौडिएको बीपी राजमार्गको यात्रा गर्दा मनमा भने माथिको कविताका हरफहरू कुदिरहेका हुन्थे। आँखाहरू चाहिं नवनिर्मित राजमार्गका नवीनतम संरचना, रोशी खोला, यस आसपासका हरियालीपूर्ण सुन्दर फाँट, सडकछेउमा भेटिने साना–ठूला मनोरम बस्ती/बजार र दायाँ–बायाँका अग्ला पहाडहरूतिर हराइरहेका हुन्थे।
रोशी खोला उपत्यका बीपी राजमार्ग मार्फत राजधानीसँग जोडिएपछि द्रुततर गतिमा आफ्नो आकार बढाइरहेको राजधानीले रोशी खोला किनार र यस आसपासमा उपलब्ध हुनसक्ने निर्माण सामग्रीमा आँखा लगाउन थाल्यो। किनकि राजधानीमा अभूतपूर्व बस्ती विस्तार र भवन निर्माण कार्य हुँदैथियो।
निर्माण सामग्रीमाथिको बढ्दो चापसँगै पृथ्वी राजमार्ग मार्फत राजधानीसँग जोडिएका महेश खोला र त्रिशूली नदीमा भएका बालुवा, ढुङ्गा र ग्राभेलहरू भने यसअघि नै रित्तिने क्रम बढ्न थालेको थियो। २०६० को दशकमा अरनिको राजमार्गको पाँचखालसँग मेलम्ची सडक जोडिएपछि बालुवा, ग्राभेल, ढुङ्गाहरू ओसार्ने स्रोतविन्दुका रूपमा इन्द्रावती नदीका बगर पनि थपिए।
२०६४ सालपछि धेरैचोटि बीपी राजमार्ग भएर यात्रा गरियो। यस क्रममा रोशी खोला र यस आसपासका क्षेत्रमा आएका परिवर्तनहरूसँग साक्षात्कार हुने मौका पाइयो। बीपी राजमार्गको निर्माण सम्पन्न भएसँगै यस क्षेत्रमा सवारी साधनको आवागमन बढ्दै गयो। एक-दुई पसल मात्र भएका सडक छेउछाउका बस्तीहरू बजारमा परिणत हुँदै गए। रोशी खोला र राजमार्ग आसपासका फाँटहरूमा घरहरू थपिन थाले।
उता रोशी खोलाले भने आफ्नो मौलिकता गुमाउँदै गयो। अझै सम्झन्छु– पहिलो चोटि रोशी खोलाको किनारैकिनार यात्रा गर्दा खोलाको पानी कति कञ्चन, निर्मल र सफा थियो। रोशी खोलाको असला माछाले कुनै समय निकै प्रसिद्धि पाएको कुरा कतै पढेको थिएँ। राणा महाराजाहरूले दरबारमा रोशी खोलाको असला माछा झिकाउँथे रे!
मेरो पछिल्लो यात्राहरूमा भने रोशी खोलाको पानी धमिलिंदै गएको देखें। खोला बगरमा भएका बालुवा, ग्राभेल र ढुङ्गाहरू निख्रिंदै जान थालेको देखें। खोला बगरमा उभिएका असंख्य टिपरहरूमा नदीबगरबाट बालुवा, ढुङ्गाहरू भरिरहेका दृश्यहरू सहज लाग्न थाले। बीपी राजमार्गमा बालुवा, ढुङ्गाको अत्यधिक भार बोकेका ती असंख्य टिपरहरू कुद्न थाले।
नवनिर्मित सडक छिटै जीर्ण हुन थाल्यो। रोशी खोला किनार आसपासमा क्रसर उद्योगहरू स्थापना हुन थाले। जब रोशी बगरका ढुङ्गाहरू सकिन थाले, तिनले खोला आसपासका पहाडहरू खोस्रन, खोतल्न र कोपर्न थाले। शहरलाई लागेको निर्माणको भोक मार्न बलिदानी दिनुपर्ने बाध्यता यी खोला र पहाडहरूलाई आइलागेको थियो।

कुनै कारणले बनेपा-धुलिखेल सडक बन्द भएको बखत एकचोटि पूर्वतिर जानुपर्ने बाध्यता आइलाग्यो। वैकल्पिक सडकका रूपमा लुभु-लाँकुरीभञ्ज्याङ-पनौतीको सडक प्रयोग गरियो। यो सडकमार्ग खोल्ने काम भर्खरै हुँदै थियो। माघ-फागुनतिरको समय। जब सडक लाँकुरीभञ्ज्याङबाट र्यालेभिर हुँदै पनौतीतिर ओरालो झर्न थाल्यो, दायाँ–बायाँ देखें- हरिया पहाडका बीच-बीचमा लुकेका बस्ती र तरेली परेका खेतबारीहरू। ती बस्तीमा छरिएका रातो, सेतो, पहेंलो माटोले लिपिएका र जस्तापाता वा स्लेटढुङ्गाले छाइएका घरहरू, अनि ती घरहरू र सूर्यको चम्किलो प्रकाशमा टल्किंदै गरेका दृश्य। बस्ती वरिपरिका पहेंला तोरीबारी र लहलहाउँदा गहुँबारीहरू।
अलिक माथिको पहाडमा बताससँगै विस्तारै हल्लिरहेका सल्ला र धुपीका बोटहरू। अलिक तल्तिर खोला किनार आसपास आलु र गहुँखेती गरिएका फाँटहरू। अझ परको उत्तरको हिमाल र हिमाली हावाको गन्ध बोकेर गालामा ठोकिन आइपुगेको चिसो बतास। सोचें- निबन्धकार शंकर लामिछानेले यस्तै परिवेशमा ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ लेख लेखेका थिए होलान्।
पछि पनि धेरैचोटि यस सडकमार्ग हुँदै यात्रा गरें। पनौतीको पुरानो बस्ती फेरिंदै र फैंलिदै गइरहेको थियो। सडक आसपास घरहरू थपिंदै गइरहेका थिए। अहिले त र्यालेभिर, मानेदोभान, कुशादेवी, पनौती र खोपासी, शंखुपाटी चौर र अलिक परको बल्थलीसम्मै बस्ती बसाउन सकिने स्थानहरू घरहरूले ढाकिंदै जान थालेका छन्। त्यसो त रोशी खोला किनारको आसपासमै रहेका खनालथोक, कटुञ्जेबेसी, फलामेसाँघु, नार्केबजार, मंगलटार, माम्ती र नेपालथोकका साना-ठूला फाँटहरूमा समेत घरहरू थपिने क्रम बढ्दो छ।
२०५० सालपछि गाउँ–गाउँसम्म पुग्ने सडकहरू खनिन थाले। यो अभियानबाट रोशी उपत्यकाका ग्रामीण बस्तीहरू पनि अछुतो रहन सकेनन्। तत्कालीन गाविस, जिविसका सीमित बजेटबाट ग्रामीण सडकहरू बनाइए।
जसोतसो सडकमार्ग त खोलिए, तर बजेटको सीमितताले गर्दा हो कि वा प्राविधिक ज्ञानको कमीले हो कि वा लापरवाहीले हो, सडक छेउछाउमा उपयुक्त नालीहरू बनाउने, काटिएका सडक भित्तोहरूमा जैविक इञ्जिनियरिङ लगायत भूसंरक्षण कार्यहरू गर्ने विषयले पर्याप्त प्राथमिकता पाउन सकेनन्। सडक खन्दा निस्किएको माटो पनि सही ढङ्गले व्यवस्थापन गरिएन। अप्राविधिक सडक निर्माणले गर्दा हुने भूस्खलन र गेग्रान बहावको अन्तिम भार बोक्ने जिम्मेवारी भने यही रोशी खोलाको थियो।
सडकहरू पहाडभरि छरिएका बस्ती र घरहरूसम्म पुग्न थाले, भलै ती कच्ची नै किन नहुन्, हिउँदमा मात्र चल्न सक्ने नै किन नहुन्। ती सडक पुगेसँगै ग्रामीण बस्तीहरूमा अडिएर ग्रामीण अर्थतन्त्र उकास्न योगदान गर्नुपर्ने मानिसहरू भने शहरबजार र राजधानीसम्मको बढ्दो सहज पहुँचसँगै कोही वैदेशिक रोजगारीतिर लाग्न थाले। कोही राजधानी र शहरबजारतिरै हराउँदो र राजधानीसँगको सहज पहुँच ।
सुविधाको खोजीमा लागिरहने मानिसका लागि पुर्खाले दिनरात हिंड्ने पहाडको उकालोओरालो असहज लाग्न थाल्यो। राजधानी र शहरबजारसम्म सर्न नसक्नेहरू पहाडी बस्तीबाट तल खोला किनारका फाँटहरूमा बसाइँ सर्न लोभिए, जहाँ सहज यातायात सुविधा उपलब्ध हुन सक्थ्यो। बेसीमा खेतीपाती गर्न सहज हुन्थ्यो। छोराछोरीलाई बजारतिर खुलेका निजी स्कूल पुर्याउन र औषधीमूलो गर्नुपरेमा स्वास्थ्य केन्द्रहरूसम्म पुग्न पनि बढी सहज हुन्थ्यो।
खोला छेउका विस्तारै साँघुरा फाँटहरू घरहरूले भरिन थाले, चाहे त्यो बेथानचोकको ढुङ्खर्क र गणेशथान (चलाल) किन नहोस्, चाहे त्यो पनौतीको कलाँती, भूमेडाँडा किन नहोस्। खोला किनारसम्म यसरी घर थप्दै जाने प्रवृत्ति यी बस्तीहरूमा मात्र सीमित रहेनन्, पनौती र खोपासीको ठूला बजार र बस्ती क्षेत्रमा समेत देखिन थाले। बस्ती विस्तारको अतिक्रमणमा नदी उकास क्षेत्रहरू समेत पर्न थाले। त्यसो त पनौती, खोपासी, धुलिखेल र बनेपाका समथर फाँट र भिरालो जग्गाहरूमा जग्गा एकीकरण आयोजनाहरू समेत सञ्चालित हुन थालेका छन्।
पहाडमा छरिएर रहेका बस्तीहरूमा मानिस पातलिन थाले। तीमध्ये कोही तल नदी किनारका बेसीतिर झरे, कोही शहरबजारतिर छिरे। पहाडका ग्रामीण बस्तीहरू विरानो बन्दै गए। ग्रामीण क्षेत्रमा भेटिने पानीको मूल, खोला, वन आदि प्राकृतिक स्रोत संरक्षणका परम्परागत अभ्यासहरू मासिंदै र हराउँदै जान थाले।
विशेषगरी २०५० को दशकपछि स्थापना भएका थुप्रै सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियतालाई समेत जनसंख्याको यो बढ्दो बसाइँसराइ र जीवनयापनको बदलिंदो प्रवृत्तिले प्रभावित पार्न थाल्यो। कतिपय सामुदायिक वन उपभोक्ता समूहहरूलाई झाडी फँडानी लगायत वन व्यवस्थापनसँग सम्बन्धित गतिविधिहरूलाई नियमित रूपमा सञ्चालन गर्न वन उपभोक्ताहरूलाई पर्याप्त परिचालन गर्न कठिन हुन थाल्यो।
पुराना, सुकेका र धोद्रा रूखहरू वनबाट समयमै हटाउन सकिएनन्। यसको परिणामस्वरुप देशका अन्य भूभागमा जस्तै रोशी उपत्यकामा रहेका वनक्षेत्रमा पनि डढेलोका घटनाहरू सामान्य बन्न थाले। वन डढेलोले भूस्खलन बढाउन मद्दत गर्यो। भूस्खलनले रोशीको बाढीमा लेदो र गेग्रान बढायो। नदी कटान भयो, बहाव धार परिवर्तन भयो। त्यसको वितण्डामा नदी छेउका बस्ती, खेतबारीहरू परे।
फुल्चोकी डाँडाको टुप्पोदेखि नेपालथोक नजिकको कुशेश्वर महादेवको मन्दिर नजिकैसम्म बग्ने रोशी खोला सुनकोशी नदीमा गएर मिसिन्छ। सुनकोशी नदी सप्तकोशीमा गएर मिसिन्छ। मूलतः काभ्रे जिल्ला भएर बग्ने ५५.६५ कि.मी लामो रोशी खोलाले सिन्धुली जिल्लालाई पनि अलिकति छुन्छ।
रोशी नदीको जलाधार क्षेत्र ५६३ वर्ग कि.मी. रहेको छ। सन् २०१६ मा तयार पारिएको एक प्रतिवेदन अनुसार वनक्षेत्र ४७.६६ प्रतिशत, कृषिक्षेत्र ४४.६८ प्रतिशत र बाँकी भूभागमा बस्ती क्षेत्र रहेको छ। पनौती, बनेपा र धुलिखेल नमोबुद्ध नगरपालिकाका घना बस्ती क्षेत्रहरू रोशी खोलाकै जलाधार क्षेत्रमा पर्दछन्।
एकातिर रोशी र यसका सहायक खोलाहरूले यी शहरहरूको पानीको प्यास मेटाउने काम गरेको छ। अर्कातिर यिनै शहरबजार र बस्तीबाट उत्सर्जित फोहोरहरूले रोशी र यसका सहायक खोलाहरूलाई प्रदूषित पार्ने काम पनि गरिराखेको छ।
२०२२ सालमा रूसी सहायतामा रोशी खोलाको पानीलाई उपयोग गर्ने गरी निर्माण गरिएको २.४ मेगावाट क्षमताको पनौती जलविद्युत् आयोजना नेपालकै सबभन्दा पुरानो जलविद्युत् आयोजनामध्ये पर्छ। रोशी खोला र यसका सहायक खोलाहरूबाट लगिएका कुलाहरूबाट काभ्रेको सयौं हेक्टर कृषिभूमिले सिञ्चित हुन पाएको छ। ठाउँठाउँमा पानीघट्टहरू सञ्चालित छन्।
खोला छेउछाउमा थुप्रै घाटहरू छन्। पनौती शहर, रोशी खोलाकै किनारमा बसेको एक ऐतिहासिक बस्ती हो, जुन अहिले विश्व सम्पदा सूचीमा समाविष्ट हुनका लागि प्रयासरत छ।
पनौती मास्तिर रहेका चलाल गणेश, कलाँतीतिर होस् वा बीपी राजमार्गमा होस् वा रोशी खोलाका बगरतिर होस् वा यसका सहायक खोलाहरूमा होस्, त्यहाँ प्रत्येक दिन सयौं टिपरहरू दौडिरहन्छन्। तिनले खोला बगर र तिनका मुहान क्षेत्रबाट निकालिएका ढुंगा, गिटीहरूको ओसारपसार गर्छन्, अपार व्यापार गर्छन्। वातावरण संरक्षणको मूल्यमा चाँदीकटाइ भइरहेको छ।
रोशी खोलाको उत्पत्तिका बारेमा एक रोचक पौराणिक कथा समेत रहेछ। पनौतीमा ऊबेला पानीको अभाव रहेछ, खेतीयोग्य जमीन भएर के गर्नु ? ऊबेलाका पनौतीका राजा फुल्चोकी मन्दिरमा पूजा गर्न गएछन्, संयोग कस्तो भने पाटनका राजा पनि पूजाकै लागि आएका रहेछन्।
देवीले शर्त राखिछन्– जसले मलाई सुन–चाँदीको फूल चढाउँछ, म उसैलाई पानी दिन्छु। पनौतीका राजाले बाटोमा पहेंलपुर फुलेको रायो देखे, सेताम्ये फुलेको मूला देखे। मेरा लागि सुन–चाँदी यिनै हुन् भन्दै उनले देवीका पाउमा श्रद्धा–भक्तिपूर्वक ती फूल टिपेर चढाएछन्। देवी प्रसन्न भई पनौतीका फाँटहरूका लागि पानीको सुनिश्चितता गरिदिइछन्, जुन पानीको स्रोत रोशी खोला भएर चिनियो।
उता पाटनका राजाको श्रद्धा र भक्तिभावबाट प्रसन्न भएर पश्चिमी पाखोमा चाहिं गोदावरी नदी उत्पन्न गराइदिछन्। पनौतीमा खेतीयोग्य जमिन धेरै भएकाले त्यता दुई भाग पानी छाडिने भएछ, पाटनमा खेतीयोग्य जमिन कम भएकाले एक भाग पानी छाडिने व्यवस्था भएछ।
जे होस्, इतिहास खोतल्ने हो भने पनौती, बनेपा, धुलिखेल खोपासी जस्ता बस्तीहरू १२औं शताब्दीको अन्त्यतिर लिच्छविकालमै बसेका र मल्लकालमा थप समृद्ध बनेका रहेछन्। पनौती, बनेपा र धुलिखेल शहरहरूले सांस्कृतिक रूपमा मात्र होइन, व्यापारिक रूपमा समेत प्रसिद्धि कमाए।
विशेषगरी पनौतीका इन्द्रेश्वर महादेव, ब्रह्मायणी, कृष्णमन्दिर तथा उन्मत्त भैरव, अष्टमात्रिका लगायत धेरै देवीदेवताका मठ–मन्दिरहरूले काठमाडौं उपत्यकाकै सांस्कृतिक सम्पदाहरूको समकक्षी वा प्रतिस्पर्धी रहेको प्रमाण दिन्छन्।
पनौतीको यी ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाहरूको विकास हुने काम यसै रोशी खोलाको किनारमा भएको थियो। बनेपातिरबाट बग्दै आएकी पुण्यमाता र अर्की दिव्य तर अदृश्य पुष्पवती खोला मिसिएको पनौतीको ठाउँलाई त्रिवेणीघाटले चिनिन्छ।
पश्चिमोत्तर दिशाबाट बग्दै आउँछिन् पुण्यमाता खोला, त्यति आक्रोशित देखिन्नन्, उनी बनेपा र धुलिखेलको बाक्लै बस्तीको बीचबाट उत्सर्जित फोहोरपानीको समेत बोझ बोकी बग्नुपर्दा पनि। अनेक पौराणिक/पूर्वपौराणिक कथाहरू गर्भमा बोकेर बसिरहेको छ, पनौती। उल्लिखित खोलाहरूले सिर्जेको, सिञ्चेको पवित्र त्रिवेणीधाममा। जीवनदायिनी यी खोलाहरू लोकजीवनका सभ्यता, संस्कृति, कृषि, परम्परा लगायत विविध पक्षलाई सम्पोषित, अनुप्राणित गर्दै सदियौंदेखि बगिराखेका छन्।
कैयौं शताब्दी अघि हाम्रा पुर्खाले सुरक्षित स्थान ठानेर बसाएको पनौती बस्ती यतिखेर रोशी खोलामा आउन थालेको बाढीले संकटमा पार्न थालेको छ। करीब आठ सय वर्षअघि बनाइएका पनौतीका ऐतिहासिक मन्दिर, सम्पदा र घाटहरू समेत यतिखेर रोशी र पुण्यमाता खोलाको बाढीको चपेटामा पर्न थालेका छन्।
२०८१ साल, असोज १२ मा आएको बाढीले यी ऐतिहासिक सम्पदाहरू समेत डुबानमा परे। फुल्चोकी डाँडाको टुप्पोबाट झरेर पूर्वतिर बग्ने रोशी खोलाको प्रवाहमा यसअघि रोष र आक्रोशको यतिविघ्न रौद्र रूप देखिएको थिएन।
अहिले परिस्थिति फेरिएको छ। पनौती मास्तिर रहेका चलाल गणेश, कलाँतीतिर होस् वा बीपी राजमार्गमा होस् वा रोशी खोलाका बगरतिर होस् वा यसका सहायक खोलाहरूमा होस्, त्यहाँ प्रत्येक दिन सयौं टिपरहरू दौडिरहन्छन्। तिनले खोला बगर र तिनका मुहान क्षेत्रबाट निकालिएका ढुंगा, गिटीहरूको ओसारपसार गर्छन्, अपार व्यापार गर्छन्।
वातावरण संरक्षणको मूल्यमा चाँदीकटाइ भइरहेको छ। राजधानी लगायत शहरबजारलाई यतिखेर आवास र अन्य पूर्वाधार संरचना निर्माणको अनन्त भोक जागेको छ। त्यो भोक मेटाउने काममा निर्माण सामग्री बोकिएका असंख्य ट्रक, टिपरहरू रोशी खोलातिर कुदिरहन्छन्। रोशी खोलाका किनारमा कुनै समय थुप्रै क्रसरहरू सञ्चालित थिए। जब बगरमा ढुङ्गाहरूको कमी भयो, ती क्रसरहरूको खजाना पूरा गर्न खोला छेउछाउका पहाडहरू खोस्रने काम अघि बढ्न थाल्यो।
हुनत ढुङ्गा खानी सञ्चालन गर्न, क्रसर सञ्चालन गर्न वातावरणीय अध्ययन गरिनुपर्ने कानूनी व्यवस्था छ। एकाध ढुङ्गा खानी र क्रसरहरूले यी कानूनी प्रावधानहरूको पालना गरेका होलान्। वातावरणीय अध्ययन प्रतिवेदनहरू कसरी बने, ती प्रतिवेदनका सिफारिशहरू कत्तिको कार्यान्वयनमा आए वा तिनको कसरी अनुगमन गरियो भन्ने प्रश्न चाहिं अनुत्तरित नै छ।
संयोगले गत असोज १२ मा रोशी खोलामा आएको बाढी वितण्डा पश्चात् ती क्षेत्रको स्थलगत भ्रमण गर्ने अवसर जुर्यो। भ्रमण र अवलोकनका क्रममा ती ढुङ्गा खानी र क्रसर उद्योगहरू वातावरणमैत्री ढङ्गले सञ्चालित थिए भन्न सकिने अवस्था देखिएन। तिनमा उपयोग हुन नसकेका ढुङ्गा, माटोहरू खोला किनार वा अन्य स्थानमा असुरक्षित ढङ्गले फ्याँकिएको देखियो।
ढुङ्गा खानी उत्खनन् गर्दा तहगत ढङ्गले गर्नुपर्ने, भूक्षय र पहिरो नियन्त्रणका पर्याप्त उपायहरू अपनाउनुपर्ने, उपयोगमा नआएका माटो र खेर गएका पदार्थहरूको उपयुक्त व्यवस्थापन गर्नुपर्ने, नजिकका बस्ती, नदी किनार संरक्षणका उपायहरूको कार्यान्वयन गर्नुपर्ने, नदीमा हुनसक्ने प्रदूषण नियन्त्रण, खानी वा क्रसर क्षेत्र वरिपरि पानी निकासको प्रबन्ध, बन्द भइसकेका खानी क्षेत्रको पुनर्स्थापन आदिका बारेमा न्यूनतम र आधारभूत उपायहरू पनि अपनाइएको देखिएन।
शायद यिनै दोहनकारी अभ्यास, प्रदूषण र अत्याचारले हुनसक्छ, रोशी खोला र यसका सहायक खोलाहरू निर्मल र कञ्चन रूपमा बगेको देख्नु दुर्लभप्रायः भइसकेको छ। जलचरहरूको उपस्थिति पनि नगण्य भइसकेको छ।
गत असोजको बाढीले थुप्रै सिंचाइका कुलाहरू खण्डहर भए। पनौती जलविद्युत् आयोजनाले पनि अकल्पनीय क्षति भोग्नुपर्यो। नदी किनार आसपासका सयौं घरहरू ध्वस्त भए। छेउछाउका खेतबारीहरू कटानमा परे। होचा जमीनहरू गेग्रानले पुरिए। रोशी खोलाको माथिल्लो तटीय क्षेत्रबाट बगेर गएको लेदो र गेग्रानले यसको तल्लो तटीय क्षेत्र र सुनकोशी नदी किनारका क्षेत्रमा समेत व्यापक क्षति पुर्याएको देखियो।
रोशी खोला तथा यसको मुख्य सहायक खार खोला समेतको पानी बनेपा, धुलिखेल र पनौती नगरपालिकामा आपूर्ति गरिने एक खानेपानी आयोजना कार्यान्वयनको चरणमा थियो। सम्पन्न हुने चरणमा रहेको यस आयोजनाका कतिपय संरचनाहरू समेत गत असोजको बाढीले ध्वस्त भए। अन्य ग्रामीण बस्तीलाई खानेपानी आपूर्ति गर्ने अन्य स-साना खानेपानी आयोजनाहरू समेत क्षत–विक्षत भए। यो विपत्तिको क्षण रोशी उपत्यकावासीहरूका लागि अकल्पनीय थियो।
रोशी खोला आसपासका भूमिडाँडा, नौबिसेफाँट लगायतका सिंचाइ प्रणालीहरूमा व्यापक क्षति पुग्यो। कुशादेवी र खनालथोक क्षेत्रमा रहेका पानीघट्टहरू बगे। कैयौं झोलुंगे पुलहरू बगे त केही सडकपुलहरू समेत पुनर्निर्माण गरिनुपर्ने देखियो। रोशी खोला किनार भएर जाने बीपी राजमार्गको उल्लेख्य सडकखण्ड समेत व्यापक खोला कटानमा परेर पुनर्निर्माण गरिनुपर्ने अवस्थामा पुग्यो।
विगत वर्षको बाढी र विनाशले खोला, नदी, वन वा अन्य प्राकृतिक स्रोतको अतिक्रमण गलत रहेछ भन्ने महँगो पाठ पढाएको छ। पूर्वाधार विकासमा प्रकृतिमा आधारित उपायहरूको अवलम्बन गर्नुपर्दोरहेछ भन्ने सबक सिकाएको छ। खोला, वन वा पहाडको अव्यवस्थित, अनियन्त्रित र असुरक्षित दोहनले हामीलाई अझ बढी असुरक्षित बनाउँदो रहेछ, जीवन अझ बढी जोखिमपूर्ण हुने रहेछ भन्ने शिक्षा दिएको छ।
हामीलाई त रोशी खोलाले सधैं दिइराख्यो। तिख्खर स्वादको माछा चखायो। बालुवा, ग्राभेल लगायतका निर्माण सामग्रीहरू दियो। खानेपानी दियो। सिंचाइ गर्न पानी दियो। बिजुली बाल्न पानी दियो। हामीले भने खोलाको दोहन मात्र गर्यौं।
खोलाको पानी र उपलब्ध अन्य प्राकृतिक स्रोतको कसरी दिगो संरक्षण र उपयोग गर्ने भन्ने बारेमा पटक्कै ध्यान दिएनौं। बनेपा, धुलिखेल र पनौतीका ढलहरू विना प्रशोधन रोशी र पुण्यमाता खोलामा मिसायौं, प्रदूषित बनायौं।
नजिकका पहाडहरू जथाभावी काटेर खानी सञ्चालन गर्यौं, क्रसर चलायौं। अनि काम नलाग्ने चिजहरू खोलामा जथाभावी ढङ्गले फ्याँकिदियौं। निर्माण सामग्री बटुल्न खोलाको बहावलाई जथाभावी ढङ्गले मोडिदियौं। प्रकृतिबाट लिने क्रममा, विकासका संरचना बनाउने क्रममा हामीले न त नदीलाई बुझ्न खोज्यौं, न त भूगर्भलाई बुझ्न खोज्यौं।
प्राकृतिक कारणले हुने भूस्खलन र पहिरोले रोशी खोलामा थपिन सक्ने लेदो र गेग्रानको परिमाण त आफ्नो ठाउँ ठाउँमा छँदैछ। खेतीपाती र बस्ती विस्तारले भएको भूउपयोग परिवर्तन, ढुङ्गा खानी तथा क्रसर उद्योग सञ्चालन र अप्राविधिक सडक निर्माणले रोशी खोलाको लेदो र गेग्रान बहावमा उल्लेख्य वृद्धि गराएको र नदीको पारिस्थितिकीय स्वास्थ्यलाई बिगारेको तथ्य विभिन्न अध्ययन, अनुसन्धानले देखाएका छन्।
हामीले खोला छेउछाउ सडक बनायौं। त्यही सडक छेउछाउमा घरहरू बनायौं, बस्ती बसायौं। प्राकृतिक नाला र खोलाहरूलाई मिच्दै, मास्दै, साँघुर्याउँदै लग्यौं। खोलालाई थिचोमिचो गर्नुमा आफ्नो बहादुरी सम्झियौं। शहरबजारतिर जनसंख्या वृद्धि सँगसँगै भिरालो जमीन भएका स्थानहरूलाई समेत जथाभावी ढङ्गले काटेर जग्गा एकीकरण आयोजना सञ्चालन गर्यौं। पहाडका गाउँ, टोलसम्म पुग्ने सडकहरू त बनायौं, ती सडकहरूलाई कसरी दिगो र वातावरणमैत्री बनाउने भन्ने बारेमा कत्ति पनि सोचेनौं।
हाम्रा गाउँघरलाई जोड्ने ती सडकहरू न त प्राविधिक ढङ्गले डिजाइन गरिएका थिए, न त ती आयोजना कार्यान्वयनमा पानी निकासको उचित प्रबन्ध, जैविक इञ्जिनियरिङ र भूस्खलन नियन्त्रण लगायत अन्य वातावरणमैत्री उपायहरू नै अपनाइए।
आखिर तीमध्ये कतिपय सडकहरू पहिरो र भूस्खलन निम्त्याउने कारकतत्व बने। ती पहिरो र भूस्खलनबाट सोहोरिंदै गएको लेदो र गेग्रानको भार रोशी र यसका सहायक खोलाले कति बोक्न सक्यो, यसको तस्वीर हाम्रो सामुन्ने छँदैछ।
जलवायु परिवर्तनको बाक्लो चर्चासँगै अतिवृष्टिका घटनाहरू दोहिरिन थालेसँगै रोशी खोलाले देखाउन थालेको रौद्र रूपले हामी सबैलाई बारम्बार झस्काउन थालिसकेको छ। असामान्य विपद्का घटनामा बढोत्तरी हुनथालेका छन्, तर जलवायु उत्थानशील अभ्यास र पद्धतिको अनुकरण गर्न भने सकेका छैनौं।
यसअघि डिजाइन गरिएका कतिपय सडक, पुलहरू अब काम नलाग्ने भएका छन्। तिनीहरूलाई पुनः डिजाइन गरेर बनाइनुपर्ने अवस्था सिर्जना भएको छ। बनाइसकिएका कतिपय सडक, पुल र अन्य पूर्वाधारहरूको पुनर्निर्माण, पुनर्स्थापना वा स्थानान्तरणमा उल्लेख्य लगानी थप्नुपर्ने परिस्थिति खडा भएको छ।
विगत वर्षको बाढी र विनाशले खोला, नदी, वन वा अन्य प्राकृतिक स्रोतको अतिक्रमण गलत रहेछ भन्ने महँगो पाठ पढाएको छ। पूर्वाधार विकासमा प्रकृतिमा आधारित उपायहरूको अवलम्बन गर्नुपर्दोरहेछ भन्ने सबक सिकाएको छ। खोला, वन वा पहाडको अव्यवस्थित, अनियन्त्रित र असुरक्षित दोहनले हामीलाई अझ बढी असुरक्षित बनाउँदो रहेछ, जीवन अझ बढी जोखिमपूर्ण हुने रहेछ भन्ने शिक्षा दिएको छ।
रोशी र यसका सहायक खोलाहरू स्वस्थ रहे मात्र रोशी उपत्यकाको पर्यावरण पनि स्वस्थ हुने रहेछ, त्यहाँका बासिन्दाहरू पनि स्वस्थ हुने रहेछन्। रोशीको जलाधार क्षेत्र स्वस्थ र संरक्षित रहे न आखिर रोशी खोलाले पनि पिउने र सिंचाइ गर्ने पानी पनि अविच्छिन्न रूपमा उपलब्ध गराउन सक्छ।
यसका लागि रोशी खोला एकीकृत जलाधार व्यवस्थापन जस्ता कार्यक्रमहरूको जरुरत पर्दछ। यसका लागि तीनै तहका सरकारको सामूहिक प्रतिबद्धता, नीतिगत र संस्थागत प्रबन्धमा तथा योजनाबद्ध प्रयासहरूको थालनी अपरिहार्य छ।
हामीसँग देशभर रोशी खोला जस्ता ठूला साना ५,००० जति खोला/नदी छन्। गिरि फोरी बग्ने रोशी खोलाले देखाएको गत वर्ष देखाएको रौद्र रूप, यसले निम्त्याएको विनाश र वितण्डाले हामी सबैलाई गम्भीर ढङ्गले सोच्न र सच्चिन बाध्य तुल्याएको छ।
के हामी यसका लागि साँच्चिकै सोच्न र सच्चिन तयार छौं त, ताकि भावी पुस्ताका कुनै कविलाई पनि त्यो गिरि फोरी बहने रोशीले उनको हृदयको चित्रलाई हर्दम पवित्र पारिरहन सकोस्।
(लेखक वातावरणीय क्षेत्रका अध्येता हुन्।)
प्रतिक्रिया दिनुहोस्