पात्र र प्रवृत्ति, कसरी हुन्छ संस्थागत संमृद्धि ?

कुलमान घिसिङलाई निकालेर हितेन्द्रदेव शाक्यलाई फर्काएको महिना दिन बित्दानबित्दै विद्युत् प्राधिकरण घाटामा गएको खबर बाहिरिएको छ ।
गत शुक्रबार श्वेतपत्र जारी गर्दै शाक्यले प्राधिकरण ५ अरब २६ करोड घाटामा रहेको दावी गरेका छन् । उनको यस्तो दावीपछि एकाएक सवाल उठेको छ, कुलमान वा हितेन्द्रदेवमध्ये एक जना पक्कै फटाहा हुन् वा प्राधिकरणको लेखापरीक्षणमै ठूलो गड्बडी छ ।




किनभने घिसिङ प्राधिकरणको नेतृत्वमा हुँदा लोडसेडिङ कम थियो भने अर्बौं नाफामा रहेको देखाइएको थियो । तर, अहिले एकाएक शाक्यले प्राधिकरण घाटामा रहेको भन्दै १० अर्व ऋण उठाउने अनुमति मागेका छन् र घाटापूर्तिका लागि विद्युत् महसुल वृद्धि गर्ने विकल्पसहितको बयान दिएका छन् ? महिना दिनमै कसरी सम्भव हुन्छ ?
सर्वसाधारण जनतामाथि लगाइने विद्युत् महसुल बढाउने प्रस्तावले कथित ठूला करदाता र उद्योगीबाट अर्बाैं रकम बक्यौता उठाउने कुनै कार्ययोजना नसमेटेको देख्दा भने अचम्म लाग्छ । यसाबट पनि नेपालमा पात्र, प्रवृत्ति नियाल्दै पर्ने अवस्था आइलागेको छ । नेतृत्वमा हुनेले राम्रालाई भन्दा हाम्रालाई प्रश्रय दिन थालेपछि देशको आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षमाथि गम्भीर प्रहार हुने नै भयो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले)भित्र एक छत्र हावी छन् र आसेपासेले त्यसैअनुरूपको पात्रमा ढालेका छन् । ओलीलाई अघि सारेर दुनो सोझ्याउनेहरूले केही राम्रो काम गराएपनि धेरै जसो काम मार्फत् भने बदनाम नै गराएका छन् । ओलीलाई प्रतीकका रुपमा लिने हो भने त्यसपछिका पात्र र प्रवृत्ति खुट्याउन सजिलो हुन्छ । आज तिनै ओलीले नेतृत्व गरेको दलको भातृ संगठन अनेरास्ववियु, जसलाई भविष्यका निम्ति एमालेको आधार मानिन्छ, निकै कमजोर बन्न पुगेको छ ।
अखिलले एक जमानामा मुलुकभरका सबैजसो क्याम्पसमा पकड राख्दै आएको थियो । ऊ देशकै एक नम्बर विद्यार्थी संगठनको रुपमा स्थापित थियो । पछिल्लोपटक पाटन क्याम्पसमा स्ववियु चुनाव झनै उसका निम्ति प्रत्युत्पादक बन्न पुगेको छ । उपत्यकाकै महत्वपूर्ण मानिने क्याम्पसको चुनावमा ९ सय मत नेपाली कांग्रेस समर्थित नेविसंघले ल्याएर विजयी हुँदा एमाले अखिलले भने करिब दुई दोब्बरभन्दा कम अर्थात् ३ सय ६७ मत मात्रै ल्याएको छ ।
यो मात्रै होइन, एमाले अखिलले धेरैतिर पकड गुमाएको देखिन्छ । बरु माओवादी केन्द्रको अखिल क्रान्तिकारीले प्रभाव बढाएको देखियो । व्यक्तिलाई देवत्वकरण गर्न खोज्ने, संस्थाले भन्दा व्यक्तिलाई महत्व दिने चलन बढेपछि त्यस्ता पात्रले छोड्नेबित्तिकै संस्था डुब्ने उदाहरण छ । व्यक्तिलाई हिरो बनाउँदा यस्तो हुने गर्छ ।
संस्थालाई सर्वोपरी बनाएको भए पात्र फेरिए पनि संस्था डुब्ने थिएन, सामूहिकताको सर्वोच्चता वा त्यसप्रतिको विश्वसनीयता कायमै रहन्थ्यो । रवि, हर्क, बालेनको क्रमिक ओरालो यात्राले लाक्षणिक अर्थ दिएको छैन र !
प्रतिक्रिया दिनुहोस्